‘पश्चिमाले लेखेको मात्रै पढ्यौं, पूर्वीय दर्शनमा पनि हिमालबारे विशद चर्चा गरिएको छ’
‘जुनसुकै पूर्वीय दर्शनका रचनामा कहीं न कहीं पर्वतको विषय नजोडिएको छैन। ऋग्वेद, अर्थववेद र सबै पुराणमा कहीं न कहीं हिमालको कुरा आएकै छन्।’
नापी विभागका उपसचिव खिमलाल गौतमले दुई पटक सगरमाथाको सफल आरोहण गरे। पहिलो पटक २०६८ सालमा निजामती कर्मचारीको टोलीमा सगरमाथाको चुचुरोमा पुगे भने दोस्रो पटक २०७६ सालमा सगरमाथाको मापन गर्ने क्रममा आरोहण गरे।
सगरमाथाको मापन गरेपछि किताब लेखेका छन्, पन्ध्रौं चुली। हिमाल र हिमाल यात्रासँगै पन्ध्रौं चुलीमा केन्द्रित भएर हिमालखबरको साप्ताहिक प्रस्तुति किताबका कुरामा लेखक गौतमसँग महेश्वर आचार्यले गरेको कुराकानी:
हिमालको विषय समेटेर पन्ध्रौं चुली किताब लेख्नुभएको छ। किताब लेख्ने योजना कसरी बन्यो?
मेरो न हिमाल चढ्ने योजना थियो न त किताब लेख्ने नै। संयोगले यी कुरा भए। पहिलो आरोहणपछि केही साथीले पुस्तक लेख्न सुझाए। दोस्रो आरोहणपछि चाहिं नेपाल माउन्टेनीयरिङ एकेडेमीका कार्यकारी निर्देशक उत्तमबाबु भट्टराईले जोड गर्नुभयो। जसले गर्दा किताबको तयारीमा लागें।
कसरी लेख्ने त भन्ने हेर्दै जाँदा अलिकति इतिहास, अलिकति नियात्रा, अलिकति साहित्यको शैलीमा किताब तयार पारें। सगरमाथाको उत्पत्ति, आरोहण सबै कुरालाई समेट्ने प्रयास गरें।
किताबमा नेपाली टोलीले सगरमाथाको उचाइ नापेर सगरमाथाको राज्याभिषेक र राज्यारोहण गरेको छ भन्नुभएको छ। यसबारे अर्थ्याइदिनुहुन्छ कि?
मैले अघि पनि भनें- हाम्रो आरोहणका केही विशेषता थिए। यो राष्ट्रिय दृष्टिले नै गौरवपूर्ण कार्य थियो। साथै, सर्भेको पेशामा आबद्ध नेपाली पेशाकर्मी नै चुलीमा पुगेर सगरमाथाको मापन गर्ने कार्य अर्को महत्त्वपूर्ण कुरा थियो। यो पहलमा सबैतर्फ नेपाली नै सहभागी भएको हुँदा यसलाई मैले सगरमाथाको राज्यारोहण भनेर विम्बमा भनेको हुँ।
दुई-दुई पटक सगरमाथा आरोहण गर्नुभयो। कसरी सम्भव भयो?
माछापुच्छ्रे गाउँपालिकास्थित धिताल गाउँको घरको आँगन र बार्दलीबाट अन्नपूर्ण हिमशृङ्खला त्यसमा पनि माछापुच्छ्रे हिमाल जहिल्यै टुप्लुक्क अगाडि देख्थें। हिमाल सधैं देखे पनि हिमालबारे धेरै कुरा थाहा पाएको थिइनँ।
समयक्रममा निजामती सेवामा प्रवेश गरें। ‘भिजिट नेपाल-२०११’ मनाउन नेपाल सरकारको कार्यक्रम अन्तर्गत निजामती सेवाका कर्मचारीलाई पनि हिमाल चढाउने योजना रहेछ। त्यसबारे सूचना गोरखापत्रमा आएको देखेपछि मैले पनि आरोहणका लागि आवेदन हालें। सौभाग्यले म छानिएँ।
नेपालमा मात्रै होइन, संसारमै इतिहासमा पहिलो पटक निजामती कर्मचारी सर्वोच्च शिखर सगरमाथा चढ्ने कार्यक्रम तय भयो। नेपाल सरकारका १५ जना कर्मचारी छनोट भएकोमा नौ जनाले सफलतापूर्वक आरोहण सम्पन्न गरे।
दोस्रो, आरोहण सगरमाथाको उचाइ मापनको योजनाले जुरायो। एक त मैले सगरमाथा चढिसकेको थिएँ, दोस्रो पेशाले पनि सर्भेयर भएँ। नापी विभागले नै सगरमाथाको मापन गर्ने तय भएपछि मलाई पनि टोलीमा राख्यो।
पहिलो आरोहणको अनुभव कस्तो रह्यो त?
पहिलो आरोहण एकदम रोमाञ्चक थियो। टोली ठूलो थियो। तत्कालीन नेपाल सरकारका सचिव लीलामणि पौडेलको नेतृत्वमा ‘नेपाल निजामती कर्मचारी प्रथम सगरमाथा आरोहण अभियान’ मा समावेश भएका थियौं। लामो तयारीपछि र केही साना हिमालको आरोहणपछि आधारशिविर पुग्दाको अनुभव रोमाञ्चक थियो। पहिलो पटक कहीं पुग्दा हामी त्यसै उत्सुक हुन्छौं, त्यसमा पनि आधारशिविरमा गएर गरिने गतिविधि निकै रोमाञ्चक बनाउने खालको थियो।
आधारशिविरमा निजामती कर्मचारीको टोली सगरमाथा क्षेत्रको सफाइ अभियानमा पनि सहभागी भयो। हामी निजामती कर्मचारी कसैलाई पनि आरोहणको अनुभव नभएको हुँदा गाइडका कुरा सुन्ने, रोमाञ्चित हुने अवसर पायौं। वातानुकूलित हुन धेरै समय आधारशिविर बस्नुपर्यो। त्यहाँ विभिन्न किसिमका अभ्यास, क्लाइम्बिङ गियर, इक्विपमेन्टबारे जान्ने अवसर पनि मिल्यो। क्लाइम्बिङ कसरी गर्ने भन्नेदेखि लिएर खुम्बु आइसफलमा आरोहण यात्राको तालीम पनि लियौं। खुम्बुमा बस्दा राति हिमपहिरोको आवाजले बम पड्के जस्तो त्रास पनि हुँदो रहेछ।
त्यो वेला हाम्रो उद्देश्य चढ्ने मात्रै थियो। त्यसैले हामीलाई चढ्ने मात्रै चिन्ता थियो, अरू जिम्मेवारी थिएन। हुन त ९९.९ प्रतिशत आरोहीको उद्देश्य सगरमाथाको सफल आरोहण गर्ने मात्र हुन्छ। त्यसरी आरोहण गर्न जाँदा छुट्टै मजा हुँदो रहेछ। अहिले कतिपय अनुसन्धाता, जियोलोजिस्ट, मेडिकल साइन्सका मान्छे पनि आरोहणमा जाँदा रहेछन्।
आधारशिविर बस्दा हिमपहिरो विस्फोटले डर लागेन?
मैले अनुभव गरेको कुरा, जति उचाइमा पुगिन्छ उति हावाको वेग बढ्दै जान्छ र मनको वेग घट्दै जान्छ। यो कुरा मैले किताबमा पनि सविस्तार लेखेको छु। डाँडाको टुप्पोमा चर्को हावा लाग्छ र हावाको वेग बढ्दा डर लागे जस्तै आधारशिविरमा बस्दा पनि डर नलाग्ने होइन, लाग्छ। त्यसमाथि हिमपखिरो जाने, ठूल्ठूला बम पड्के जस्तो आवाज आइरहन्थ्यो।
आधारशिविरमा डर त लाग्छ नै। तर, कोही न कोही साथी हुन्छ। सबै डराएका हुन्छन्। सबैले डरको कुरा गर्दा डर नै हराएर जाने हुँदो रहेछ। हामी आधारशिविर बस्दा पनि फर्केर आइएन भने अथवा के होला भन्ने चिन्ता हुन्छ। म त एक्लो थिएँ। बिहेवारी भएको थिएन। त्यसकारण एक्लो भएपछि धेरै चिन्ता चाहिं नहुँदो रहेछ।
दोस्रो आरोहणको अवसर कसरी जुट्यो?
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प लगत्तै नापी विभागले एउटा ठूलो अनुसन्धान गर्यो। जीपीएस प्रविधिबाट काठमाडौं उपत्यकाको ‘पोजिशन’ पत्ता लगाउन नयाँ प्रविधि अपनाएर गरिएको अध्ययनले उपत्यका उचालिएको र लगभग डेढ मिटर दक्षिण-पश्चिम सरेको पत्ता लाग्यो। त्यही वेला संसारभर सगरमाथाको उचाइ घट्यो भनेर चर्चा हुन थालेको थियो।
नेपालले कहिल्यै सगरमाथाको उचाइ नापेको थिएन। हाम्रो सगरमाथाप्रति गौरव मात्र गर्ने कि उचाइमा पनि हामीले नाप्ने भन्ने नापी विभागलाई लाग्यो। हामीले निकालेको उचाइप्रति गौरव गर्नुपर्छ भन्ने नापी विभागले अनुभूत गर्यो र त्यसपछि मापन कार्यक्रम बन्यो।
भूगोल जानेको मान्छे भएकाले त्यहाँ गएर वातानुकूलित हुन र प्रविधिमा काम गर्न सहज भयो। हाम्रो आरोहण यात्रा सम्पन्न मात्र भएन, सगरमाथा चुलीको नयाँ उचाइ पनि मापन गर्न सफल भयौं।
नापी विभागले गरेको अध्ययनमा काठमाडौं केही उचालिएको र दक्षिण-पश्चिम सरेको देखियो भन्नुभयो। यो अध्ययनको अन्य के महत्त्व छ?
संसारभरि सगरमाथाको उचाइ घट्यो भन्ने हल्ला फैलिरहँदा काठमाडौं उपत्यका नै उचालिएको देखियो। नापी विभागले गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ बढेको देखिंदा हिजो हामीले गरेको अध्ययन ठीकै रहेछ भन्ने पुष्टि भयो। नयाँ मापनले सगरमाथा तीन फिटले बढेको देखियो।
दोस्रो आरोहणको राष्ट्रिय-अन्तर्राष्ट्रिय महत्त्व के छ?
यसको ठूलो अर्थ छ। सगरमाथा उचाइ विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायले मापन गरिसकेका थिए। नेपालले यत्रो पैसा खर्च गरेर किन उचाइ मापन गर्नुपर्यो भन्ने प्रश्न पनि उठेको थियो। त्यो प्रश्न अहिले असान्दर्भिक भइसके पनि आरोहणको महत्त्व के हो भने सगरमाथा शिखरमा जियोसाइन्टिस, जियोम्याट्रिक इन्जिनीयरले आफैं चुचुरोमा पुगेर चुली नापेको पहिलो घटना थियो।
सगरमाथा जुन देशमा छ, त्यही देशका साइन्टिस्टले नै सर्वेक्षण गर्नु अर्को महत्त्वपूर्ण कुरा हो। यत्रो पटक नापो भइसकेको चुचुरोमा किन १२औं पटक नाप्नुपर्यो भन्ने प्रश्न पनि उठेको थियो। किनभने, भूकम्पले नेपालको भूमि धेरै हलचल भएको कुरा संसारभर फैलिएको थियो। संसारभर उठेका सगरमाथाको उचाइ सम्बन्धी प्रश्नहरूको जवाफ नेपालले नै दिनुपर्ने दायित्व पनि थियो। त्यस हिसाबले पनि यस आरोहणको छुट्टै महत्त्व थियो।
विगतमा विदेशी अनुसन्धान केन्द्र तथा निकायले आफ्नो ढङ्गले नाप्ने र सार्वजनिक गर्ने परम्परा थियो, हैन?
अनुसन्धानहरू पढ्दा के देखिन्छ भने कतिपय मुलुकले नेपाल सरकारसँग सहमति लिएर सगरमाथा मापन गरेको देखिन्छ भने कतिपयले आफ्नै ढङ्गले उचाइ सार्वजनिक गरेको देखिन्छ।
सन् १९५४-५५ मा चीन सरकारले उचाइ सार्वजनिक गर्दा छिमेकी राष्ट्र भएको र चीनसँग दोहोरो सम्बन्धको लामो परम्परा भएकाले नेपालले पनि त्यो उचाइलाई आधिकारिक मानेको थियो। चीनले सन् २००५ मा गरेको सर्वेक्षणमा सगरमाथाको उचाइ ८८४४.४३ मिटर भनियो, त्यो चाहिं ‘रक हाइट’ भनिएको थियो।
यसरी हेर्दा उचाइको नतीजा सार्वजनिक गर्ने क्रममा चीन र भारतसँग एक खालको समझदारी देखिन्छ। अन्य मुलुकको हकमा त्यो देखिंदैन। बोस्टन म्यूजियम अफ साइन्स अन्तर्गतको नेशनल जियोग्राफिक सोसाइटीले सगरमाथाको उचाइ नापेको थियो। अमेरिकीहरूले गरेको त्यो सर्भेमा सगरमाथाको उचाइ ८८५० मिटर भनियो। अमेरिकी सबै प्रकाशनमा सगरमाथाको उचाइ ८८५० मिटर नै लेखिएको पाइन्छ। त्यो भनेको उनीहरूले आफूले नापेको उचाइलाई प्राथमिकता दिएका हुन्।
तर, त्यसलाई नेपाल सरकारले आधिकारिकता दिएन। उनीहरूले सन् २००० मा नयाँ उचाइ सार्वजनिक गर्ने बित्तिकै नेपाललाई पत्र लेखेर ‘नयाँ उचाइलाई आधिकारिकता दिन हामीले के प्राविधिक सहयोग गर्नुपर्छ, त्यो गर्न हामी तयार छौं’ भनेका छन्।
पछिल्लो समयमा जलवायु परिवर्तनका धेरै कुरा आउन थालेका छन्। हामी हिमालको काखमा भएका कारण जलवायु जोखिमको शुरूको प्रभाव भोग्नेहरूमा पर्छौं। अब हिमाल जोगाउन के गर्नुपर्छ होला?
यसका दुई वटा उत्तर हुन्छन्। हिमाल मानव निर्मित संरचना होइन। हामी यदि घरमा बसेनौं र त्यसै छोडिदियौं भने माकुराको जालो लाग्छ। प्रयोग गरिएन भने आफैं मासिएर जान्छ। मान्छेले प्रयोगका लागि बनाएको कुरा प्रयोग गरेन भने त्यसै मासिएर जान्छ। तर, हिमाल प्राकृतिक स्रोत भएका नाताले हिमाल प्रकृतिले बनाएका पिरामिड सरह छ।
हिमाल जोगाउने दुई वटा उपाय छन् भन्ठान्छु। एउटा त वातावरण प्रदूषित पार्नु भएन, फोहोर गर्नु भएन भन्ने चलनचल्तीको उत्तर हुन्छ। त्यसले गर्दा परम्परागत उत्तर हिमाल सफा गर्नुपर्यो, आरोहीहरूले सरसफाइमा ध्यान दिनुपर्यो, फोहोर व्यवस्थापन गर्नुपर्यो, हिमालमा फोहोर छोड्नु भएन।
अर्कातर्फ, ग्लोबल वार्मिङको जुन प्रभाव छ, औद्योगिक मुलुकका प्रदूषणले गर्दा समस्या छ, जसमा नेपालको भूमिका त छैन, तर पनि उद्योग खोल्दा, कलकारखाना खोल्दा राष्ट्रिय औद्योगिक नीतिले विभिन्न बन्देज लगाउँछ। वातावरणमा परेको चापको प्रभाव हिमालमा परेको छ।
मानवीय हस्तक्षेपका कारण हिमाली पर्यावरण बिग्रियो भन्न खोज्नुभएको हो?
हो, मानवीय क्रियाकलाप अत्यधिक भयो। हामीले नियमन पनि राम्रोसँग गर्न सकेनौं। हामीले केही पनि नगर्ने हो भने हिमाल जोगिन्छ। तर, केही न केही नगरी बस्ने भन्ने आदर्शवादी कुराले पनि भएन। हिमालमा मानवीय गतिविधि यति चर्को रूपमा भएको छ, यो गतिविधिलाई नियमन गर्न सकियो भने हिमालको संरक्षण गर्न सकिन्छ।
हिमालबारे बुझाइ फराकिलो पार्न भूगोल अध्ययन आवश्यक हुन्छ। तर, नेपालमा भूगोल अध्ययन सीमान्तमा परेको छ। भूगोल नै नबुझी बनाउने योजना कसरी दिगो होला?
नेपालको भूगोल अध्ययन र विशेष गरी पहाड अध्ययनलाई अघि बढाउने क्रममा सबैभन्दा ठूलो योगदान हर्क गुरुङको छ। नेपाली भूगोलको सन्दर्भ आउँदा म एउटा कुरा जोड्न चाहन्छु। एउटा मान्छे एक ठाउँमा माग्न बसिरहेको थियो रे। जहाँ माग्न बस्ने गरेको हो त्यहीं उसले सास बिसाएपछि मान्छेहरूले उसलाई त्यहीं गाड्न खाल्डो खने। खन्दा त त्यहाँ सुनका असर्फीहरू रहेछन्।
आफ्नै जमीनमुनि भएको असर्फी थाहा नपाउँदा ऊ माग्न बसिरहेको रहेछ। हाम्रो अवस्था पनि त्यस्तै हो कि जस्तो लाग्छ। हामीले हाम्रो भूगोल नचिनेर दुःख पाएका हौं। किनभने, हामीसँग प्रकृतिले दिएको यत्रो अथाह भण्डार छ। भएका प्राकृतिक स्रोतलाई उच्चतम उपयोग गर्न नसक्दा यो अवस्था भएको हो। वास्तवमा नेपाल चिन्नु भनेको पहाड र हिमाल चिन्नु हो। प्राज्ञिक दृष्टिले हेर्ने हो भने त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाल माउन्टेनीयरिङ एकेडेमी पनि खुलेको छ। त्यसको पनि एउटा योगदान छ।
जहाँसम्म नेपालमा भूगोलको प्राज्ञिक ज्ञानको विस्तारको कुरा छ, त्रिविमा भूगोल विभागमा विद्यार्थीको संख्या अत्यन्त न्यून छ। किनभने, भूगोल शिक्षालाई प्रवर्द्धन गर्नेतर्फ हाम्रो कुनै ध्यान नै गएन। यसले गर्दा प्राकृतिक स्रोतप्रति ध्यान पुगेको देखिंदैन। भूगोल नचिनी हाम्रो विकास आयोजना कार्यान्वयन गरियो भने असफल भइन्छ।
हाम्रो विकास योजना बनाउँदा कहाँ बाटो बनाउने, कहाँ पुल बनाउने, कहाँ डोजर चलाउने, कहाँ नचलाउने भन्ने समीक्षा नै गरिंदैन। न उपयुक्त भू-उपयोग नीति अपनाएर शहरी विकास गरिएको छ। हाम्रो भूगोल सुहाउँदो संरचना नबनाएका कारणले बनाइएका पुल दुई वर्षमा भाँच्चिन्छन्। हाम्रो भूगोलको; माटोको संरचना कस्तो छ भन्ने अध्ययन नै गरिएन कि त जसले बनाउने जिम्मा लियो उसले राम्रोसँग बनाएन र सरकारले पनि राम्रोसँग अनुगमन गर्न सकेन।
हिमालबारे अझ धेरै अध्ययन हुन बाँकी छ। हिमालको यो भूखण्ड टेथिस सागरमा थियो। जुन पानीमुनि थियो। पानीमुनि भएको भूखण्ड हिमाल बन्यो, पहाड बन्यो। त्यसले गर्दा जति पनि कुरा हामीले भनिराखेका छौं, यी बाहिरी कुरा हुन्। करोडौं वर्ष अगाडि बनेको सगरमाथा विश्वको सर्वोच्च हिमाल भन्ने पत्ता लागेको भर्खर १७० वर्ष त भएको छ। हिमालबारे जति पनि कुरा गरेका छौं, ती बाहिरी कुरा हुन्। भित्री कुरा त जान्नै बाँकी छ जस्तो लाग्छ।
फेरि किताबकै कुरा गरौं। आरोहण साहित्यमा तपाईंलाई मन पर्ने किताब कुन-कुन हुन्?
नेपाली साहित्यकारले पनि केही नियात्रा लेख्नुभएको छ। धेरै सगरमाथा चढेका व्यक्तिहरूले पनि नियात्रा लेखेका छन्। प्रतीक ढकाल, छिरिङ जाङ्मु शेर्पा, लाक्पा फुटी शेर्पाहरूका हिमालबारे किताब निबन्ध र संस्मरणको मिश्रणका रूपमा आएका छन्।
सरुभक्तको चुली आरोहण कर्मका दार्शनिक पक्षमाथि लेखिएको बेजोड उपन्यास हो। त्यसमा साहित्यिक मूल्य अधिक छ। त्यस्तै, सरोज सहयात्रीको शिखरको ढुङ्गा आख्यान पनि आएको छ। सगरमाथामै मात्र केन्द्रित भएर नेपाली लेखकले लेखेको चाहिं पाएको छैन। त्यही भएर सगरमाथा साहित्यमा केही योगदान पनि होला कि भन्ने मेरो प्रयास हो।
विदेशी लेखकको कुरा गर्ने हो भने त सयौं किताब छन्। उनीहरूले आआफ्नो दृष्टिकोणबाट लेखे। उनीहरूले आफ्नो राष्ट्रियता, विज्ञान र अनुभूति लेखे। तर, नेपालीको अनुभूतिबारे लेखिएको छैन। त्यही भएर हाम्रो अनुभूतिमा हिमालको स्थान के छ भन्ने लेखिएन। हामीले त्यो बुझ्न पनि उनीहरूको दृष्टिकोण पढ्नुपर्ने बाध्यता छ। त्यसलाई तोड्न पनि केही न केही गर्नुपर्ला कि भन्ने लागेको थियो। साथीहरूले पनि उक्साइदिनुभयो।
अर्को कुनै किताब लेखौं जस्तो लागेको छैन?
अब मैले लेखिहालेछु भने यही हिमाल सम्बन्धी नै लेख्ने हो। म नेपाल सरकारमा सेवारत भएको हुँदा धेरै समय पनि हुँदैन। फुटकर लेखरचना पनि लेखिरहेकै छु। म अहिले विशेषगरी पूर्वीय दर्शनमा हिमालको व्याख्यालाई केलाउने काम गरिरहेको छु।
अहिलेसम्मको खोजीमा पूर्वीय दर्शनले हिमाललाई कसरी व्याख्या गरेको रहेछ?
अघि हामीले हिमालबारे पश्चिमाहरूले धेरै लेखेका छन् भन्यौं। तर, पूर्वीय दर्शनमा त हिमालबारे विशद चर्चा नै गरिएको रहेछ।
पूर्वीय दर्शनका प्राचीन लेखकको हिमालबारे कस्तो बुझाइ रहेको देखिन्छ?
जुनसुकै पूर्वीय दर्शनका रचनामा कहीं न कहीं पर्वतको विषय नजोडिएको छैन। ऋग्वेद, अर्थववेद र सबै पुराणमा कहीं न कहीं हिमालका कुरा आएकै छन्। महाभारतको खाण्डव पर्वमा हिमालको धेरै कुरा गरिएको छ।
साहित्यमा कालिदासको महाकाव्य कुमारसम्भवको पहिलो खण्डमा भएका ६० वटा श्लोक हिमालमाथि नै रचिएका छन्। र, त्यो व्याख्या अत्यन्तै राम्रो छ।