चन्द्र सम्झँदै सिक्लेस
चन्द्र गुरुङले चाहे जस्तै संरक्षण अभियान चलाइरहेका सिक्लेसबासीले पर्यटन मार्फत जनजीविकाको बलियो आधार समेत बनाइसकेका छन्।
सिक्लेसैमा फूल फुल्यो गुराँस
संजोगले मायालु हामीलाई जुरा‘छ।
गाडीमा गुन्जिरहेको गीतको यो अन्तरातर्फ हामी सबैको ध्यान सोहोरियो। विजयपुर खोलाको पक्की पुल तरेर ताप्राङ, खिलाङ, चिप्ली आदि बस्ती छिचोलेर हामी सिक्लेस नै जाँदै थियौं। कात्तिक अन्तिम साता पोखराबाट जम्मा ४० किमीमा पर्छ, सिक्लेस। १० जनाको हाम्रो समूहलाई अगुवाइ गरिरहेका थिए, डा. हुम गुरुङ। वन्यजन्तु तथा सम्पदा संरक्षणको क्षेत्रमा लामो अनुभव रहेका उनी सिक्लेसकै बासिन्दा हुन्। त्यसैले बाटामा पर्ने महत्त्वपूर्ण स्थान र घटनाबारे हामीलाई सविस्तार सुनाउँथे।
सिक्लेसकै फेदीबाट मादी नदीको पानी प्रयोग गरेर सुपरमादी हाइड्रोपावर कम्पनीले काम थालेको रहेछ। परैबाट सिक्लेसको झुरुप्प बस्ती देखियो। बसपार्कमा आउने र फर्कने मान्छे तितरबितर हुँदै थिए। फर्कनेका निधारमा टीका र घाँटीमा माला देखिन्थे। गाउँ पस्दै गर्दा भेटिएका साना स्कूले विद्यार्थीहरू मुस्कान सहित नमस्कार गरेर अघि बढे। अतिथि सत्कारको यस्तो आत्मीयता गाउँभरि नै पाइयो। हामी चाहिं सिक्लेस पूर्णिमा होमस्टे पुगेर पिंढीमा झोला बिसायौं। सञ्चालक गेहेन्द्र र श्रीमती रुसमाया गुरुङले सबैलाई टीका र माला लगाइदिएर स्वागत गरे।
समुद्री सतहबाट १९८० मी. उचाइको सिक्लेसमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को स्थानीय कार्यालय छ। यो संग्रहालय पनि हो जहाँ गुरुङका सांस्कृतिक वेशभूषा, परम्परागत हतियार तथा सामग्री प्रदर्शनीमा छन्। संग्रहालयको ‘स्मृति कक्ष’ मा संरक्षणविद् डा. चन्द्र गुरुङका व्यक्तिगत र प्राज्ञिक सामग्री जतनसाथ राखिएका छन्। सिक्लेससँग अन्योन्याश्रित बनिसकेका रहेछन् चन्द्र।
उनी, मिङ्मा नोर्बु शेर्पा र ब्रुस बन्टिङको अगुवाइमा बनेको एक्यापको अवधारणा सन् १९८६ मा कार्यान्वयनमा गएको हो। यही आयोजनाको निर्देशक बनेर काम गरे चन्द्रले, पछि महेन्द्र प्रकृति संरक्षण कोषलाई नेतृत्व दिए। विश्व वन्यजन्तु कोष नेपालको प्रमुख बने। ताप्लेजुङको घुन्सामा २०६३ असोजमा भएको हेलिकोप्टर दुर्घटनामा थुप्रै संरक्षणकर्मीसँगै उनले पनि ज्यान गुमाए।
मञ्जुश्री थापालिखित चन्द्र गुरुङको जीवनी ए बोई फ्रम सिक्लेसमा चन्द्रका बहुआयामिक पक्ष समेटिएका छन्। उनी भन्ने गर्थे, “मेरा गाउँलेको पेट भरियो भने बल्ल उनीहरू आफैं संरक्षणबारे सोच्नेछन्।” प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापनमा जनताको सहभागितालाई उच्च महत्त्व दिने यही सोच नै शायद आयोजना सफल हुनुको मुख्य कारण हो। पछि चन्द्रले यही सफलता कञ्चनजंघा क्षेत्रमा पनि विस्तार गरे।
भोलिपल्ट चियानास्ता गरीवरी हाम्रो टोली उकालो लाग्यो। बाटैमा पर्ने क्यूँज्य ढुङ्गेधाराबाट अविरल पानी बगिरहेको थियो। बाटामा भेडाको बथान खेदाउँदै हिंडेका गोठालाहरू भेटिन्थे। चिसो बढ्न लागेकाले भेडीगोठ बेसी झर्न लागेको बताउँदै थिए, भेडा धपाइरहेका एक किशोर। कान्लाभरि ढकमक्क फुलेका सयपत्रीले पहाडी सौन्दर्य अझ बढाइरहेका थिए।
बिहान आकाश सफा थियो। बिस्तारै घाम लाग्न थाल्यो, अलि परको हिमाल टलक्क टल्कियो। सहयात्रीहरू फोटो खिच्न थाले। हुम भन्दै थिए, “धेरै अलमल नगरौं। पछि बादलले ढाक्दै जान्छ।” हामी केही बेरमा सिक्लेसको सिरानमा पुग्यौं। पारिपट्टि अन्नपूर्ण २, लमजुङ, मनास्लु, माछापुच्छ्रे उसै गरी टल्किएका थिए पारिपट्टि। नजिकै ग्लेसियल भ्यू पोइन्ट होटल थियो।
होटलको थाप्लोमा लेखिएको थियो- चयाको। त्यो ठाउँको नाम। यहींबाट अन्नपूर्ण क्षेत्रका चर्चित स्थल काफुचे तथा कोरी ताकेर आउँदा रहेछन् पदमार्गीहरू। सिक्लेसको पूर्वाेत्तर सिमानामा लमजुङ जिल्ला लमतन्न फैलिएको देखियो। माथिबाट आएको मादीले कास्की र लमजुङको सिमाना छुट्याएको रहेछ।
हामीले बाटैमा पर्ने चन्द्रको घर हुँदै झर्ने तय गर्यौं। जेठा दाजु चित्रबहादुर आँगनमै भेटिए। दैलोछेवैको भित्तामा उनको तस्वीर झुन्ड्याइएको थियो। भित्रपट्टि सामान असरल्ल देखिन्थे। हामी जस्तै आगन्तुक दिनहुँजसो आइरहने र चन्द्रबारे जिज्ञासा राख्ने गरेको दाजु चित्रले बताए।
गाउँमा बाटोभरि ढुङ्गा छापिएको थियो, सिंढी तथा पर्खाल पनि ढुङ्गाकै। पानीको दुःख थिएन। आलु दुई मौसम लाग्ने। हरियो साग र अन्य तरकारी देखिन्थे गराभरि। गाउँभन्दा अलि माथि रहेको गुरुङहरूको पवित्र थलो मानिने ह्यौरास्थित वनक्षेत्रमा प्रवेश निषेध रहेछ। माघ १ गते विशेष मेला लाग्ने रहेछ, त्यसको फेदीमा।
भेडापालन गुरुङ समुदायको अभिन्न पाटो हो। यहाँ भेडाकै ऊनबाट बक्खु, राडीपाखी बनाइन्छ। चरनका लागि याम अनुसार लेकबेसी ओहोरदोहोर गरिरहनुुपर्छ। यसलाई गुरुङ भाषामा ‘ओमपुङ’ मिलाउने भनिँदो रहेछ। जङ्गली सिस्नो÷अल्लो टिपेर सुकाईवरी तातो पानीमा उमालेर धागो निकाल्ने अनि घलेक तथा अन्य कपडा बुन्ने चलन अझै जिउँदै रहेछ त्यहाँ। एक महिला भन्दै थिइन्, “मान्छेले भन्छ हामीले बुनेको कपडा महँगो भो, तर गाह्रो छ नि बनाउन, धेरै मेहनत पर्छ।”
सिक्लेसमा धेरै काम सामूहिक निर्णयबाटै हुन्छन्। “सुकेको दाउरा पनि समितिबाट निर्णय गराएर मात्र काट्छन्,” मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङ भन्छन्। गाउँलेहरू कात्तिक ५ भित्र कोदो थन्क्याइसक्छन्। त्यसपछि गाईबस्तु खुला छोडिन्छ, बारीमा बारबन्देज लगाइँदैन।
खेतीपाती, अर्मपर्म तथा अन्य सामाजिक काममा पनि हातेमालो चलिरहेकै छ। “यहाँ प्रकृतिलाई खुशी पार्न त्यही अनुरूपको जीवनपद्धति अपनाइएको छ, जथाभावी रूख काटे, प्रकृतिको अतिरिक्त दोहन गरे प्रकृति रिसाउने र सिक्लेसवासीलाई समेत अनिष्ट हुने मान्यता छ हाम्रो,” देवीजंग सुनाउँछन्।
बिहानीपख अधिकांश घरमा बौद्धमार्गीको ‘ओम माने पेमे’ गुन्जिरहेको हुन्छ। तर, दशैं-तिहार, माघे संक्रान्ति आदि चाड पनि उत्तिकै उत्साहसाथ मनाइन्छ। प्रकृतिपूजक गुरुङ समुदायमा बोन धर्म मान्ने पनि छन्। बौद्ध, हिन्दू र बोनको त्रिपक्षीय प्रभाव रहेछ यहाँ।
नयाँ पुस्तालाई संरक्षणबारेका आधारभूत ज्ञान दिई वन्य सम्पदाको दिगो व्यवस्थापनमा लगाउन यहाँ मादी गाउँपालिकाले निमावि तहको पाठ्यक्रममा प्रकृतिको सन्देश पुस्तक समावेश गरेको छ। यो ठाउँमा पर्यटक ओइरो लाग्नुको एउटा कारण सांस्कृतिक र प्राकृतिक संरक्षणमा स्थानीयको सक्रियता पनि हो। तर, कतिपय पर्यटकले विकृति पनि भित्त्याइरहेको अनुभव गाउँलेलाई हुन थालेको छ।
“पहिले पहिले हामी धेरै पर्यटक आइदिए हुन्थ्यो भन्थ्यौंं। अब उनीहरूका कारण थपिएका नराम्रा असरबारे पनि सोच्नुपर्ने भइसक्यो,” आमा समूहकी अध्यक्ष नौमाया गुरुङ भन्छिन्।
ठाउँ ठाउँमा ‘कन्टेनर’ त राखिएका थिए, तर फोहोर व्यवस्थापन राम्रो हुन सकेको देखिएन। संरक्षण कार्यले केही अवसर जुटाइदिए पनि वैदेशिक रोजगारीमा जानेहरू उत्तिकै रहेछन्। माओवादी द्वन्द्वको सकस सिक्लेसले पनि भोग्यो। संरक्षण समितिमा समेत रहेका होमस्टे सञ्चालक गेहेन्द्र सुनाउँछन्, “बृहत् शान्ति सम्झौता मार्फत काठमाडौंमा सार्वजनिक हुने क्रममा पुष्पकमल दाहाल, बाबुराम भट्टराई लगायत नेताहरू यहींबाट निस्केका थिए। उनीहरू एक्यापकै भवन कब्जा गरी बसेका थिए।”
संरक्षणका गतिविधिमा महिलाहरूको सहभागिता पनि बढेको छ। एक्याप संग्रहालय महिलाले नै चलाइरहेका छन्। आमा समूहको क्रियाशीलता उत्साहजनक छ। भेला-बैठकहरूमा महिलाको उपस्थिति र प्रस्तुति उल्लेख्य छ। होमस्टे सञ्चालन र व्यवस्थापनमा पनि उनीहरू अग्रणी छन्। दुई दिनको अवलोकन र अन्तक्र्रिया मार्फत सिक्लेसबारे केही जानकारी बटुलेर हामी तेस्रो दिन बिहानै पोखरा फर्कने योजनामा थियौं। होमस्टे सञ्चालक दम्पतीले बिहानै सेलरोटी पकाएर खुवाई हामीलाई बिदाइ गरे।
होमस्टे स्थानीयको आय आर्जन त हो नै। सँगसँगै यसले पाहुनालाई आत्मीय र पारिवारिक परिवेश उपलब्ध गराउँछ। यही सुखद अनुभूति सँगाल्दै हामी गन्तव्यतर्फ लम्क्यौं। बाटोभरि संरक्षण र जनजीविकालाई एकसाथ अगाडि बढाउने सोचका अगुवा चन्द्र स्मरणमा आइरहे।