उपसभामुखमा कांग्रेसबाट मुक्ताकुमारी यादवको उम्मेदवारी
नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुखमा उम्मेदवारी दिएकी छन्।
शुक्रबार अपराह्न संघीय संसद् भवन पुगेर यादवले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन्। कांग्रेससँगै नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा उनले उम्मेदवारी दिएकी हुन्।
उनको प्रस्तावकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे छन्। एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ल र कांग्रेसका सांसद रमेश लेखक समर्थक छन्।
धनुषाबाट समानुपातिक सांसदमा निर्वाचित यादव कांग्रेस केन्द्रीय सदस्य हुन्। उनी यसअघि राष्ट्रिय सभा सदस्य बनेकी थिइन्।
यसअघि सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिएकी छन्। उपसभामुखको निर्वाचन माघ ७ गते हुनेछ।