पार्टीको जिम्मेवारीबाट अलग भएको सभामुखको घोषणा
सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको घोषणा गरेका छन्।
नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हुन्।
सभामुख घिमिरेले भनेका छन्, “म प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु।”
माघ ५ गते भएको निर्वाचनमा घिमिरे सभामुख निर्वाचित भएका हुन्। उनको पक्षमा १६७ मत परेको थियो भने विपक्षमा एक सय मत परेको थियो। निर्वाचनमा एक जना सांसद तटस्थ बसेका थिए।