मुक्कुमलुङमाथि सरकारको अतिक्रमण
गोरखालीहरूको लिम्बुवान प्रवेशसँगै त्यहाँका ठाउँको नाम अपभ्रंश हुन थाल्यो। याक्थुङहरूले सदियौंदेखि मान्दै‚ पुज्दै आएको सांस्कृतिक तथा धार्मिक केन्द्रहरूमा अतिक्रमण गर्दै हिन्दूकरण गर्न थालियो।
नेपालको पूर्वी भाग चम्जमलुङ (कञ्चनजंघा), फक्ताङलुङ (कुम्भकर्ण) सेसेलुङ, सेन्छेलुङ, फेःत्फेःत्लुङ, मुक्कुमलुङ, सेवालुङ, वाधिनलुङ जस्ता हिमशृङ्खला उत्तरी भेगमा शोभायमान छन्। यिनै मनोरम हिमशृङ्खलाको दक्षिणी भेग हालको ताप्लेजुङ, पाँचथर, तेह्रथुम, दार्जीलिङ, सिक्किमसम्म आवाद गरी बस्ती बसाएर सभ्यताको विकास गर्ने मानव समुदाय याक्थुङ (लिम्बू) हुन्।
याक्थुङको सभ्यता, इतिहास, संस्कृति, परम्परा यही ठाउँबाट विकास भयो। जीवन दर्शनको व्याख्या गर्ने मुन्धुमको विकास यही क्षेत्रको इम्बिरी याङधाङ्वा (तमोर खोला) क्षेत्रमा भएको विश्वास छ।
इम्बिरी याङधाङ्वा क्षेत्र याक्थुङ सभ्यताको उद्गम थलो रहेको मुन्धुमविद्हरूको दाबी छ। मुरिङ्ला खेरिङला, अमुलुङजङ, खाउःलुङजङ, फङ्दुरा केःक्तुरा, कक्कप्लुङ, लुङधुङ, असाङ्लुङ, तागेरा निङ्वाभु फुक्को, थाक्थाक खिःबो, थाक्केलुङ, मुक्कुमलुङ, अनाअधाःन्, युमा हेना, नाहाङ्मा यक लगायत मुन्धुममा उल्लेख भएका ठाउँहरू यही क्षेत्रमा रहेकाले मुन्धुमको उत्पत्ति यहीं भएको भन्नेमा शङ्का छैन।
यिनै ठाउँमध्ये मुक्कुमलुङ एक महत्त्वपूर्ण स्थल हो। मुन्धुम फलाक्दा फेदाङ्मा, साम्बा, य़ेबा-य़ेमाहरूले मुक्कुमलुङ माङ, सेमुक्तु मुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ, मुक्तिगोःक्, चेप्तिगोःक्, मुक्तिफो माङ आदि विभिन्न नामले मुक्कुमलुङको नाम उच्चारण गर्छन्।
याक्थुङहरूले लिम्बुवान भूमिमा आवाद गरेर बसोबास गरेको हजारौं वर्षको अवधिमा भाषा, संस्कार, संस्कृतिको विकास गरे। मुन्धुमको विकास गरे। मुन्धुम जीवन व्यवस्थापन र सञ्चालनको ज्ञानको संग्रह हो। यही समयमा यस क्षेत्रका गाउँठाउँको नाम याक्थुङ भाषामा राखिएका थिए। मुन्धुममा उल्लिखित ती ठाउँहरूको आध्यात्मिक महत्त्व छ। याक्थुङहरूले ती ठाउँको पूजाआजा गर्दै आएका छन्।
तर, विसं. १८३१ मा लिम्बुवान र गोरखालीबीच भएको सम्झौताबाट लिम्बुवान गोरखा राज्यमा गाभिएपछि इम्बिरी याङ्धाङवा क्षेत्रका ठाउँहरूको नाम खस नेपाली भाषामा परिवर्तन गर्न थालियो। यही क्रममा करीब १५० वर्षअघिदेखि मुक्कुमलुङलाई रक्तकाली, पञ्चकाली र पाथीभरा नामकरण मात्र गरिएन, त्यहाँ हिन्दू देवीदेवताहरू पार्वती, गणेश, सरस्वतीका मूर्ति स्थापना गरिए। यस्ता कार्यले मुक्कुमलुङको मुन्धुमी सभ्यता विस्थापित भएको छ।
मुक्कुमलुङलाई रक्तकाली, पञ्चकाली र पाथीभरा नामकरण मात्र गरिएन, त्यहाँ हिन्दू देवीदेवताहरू पार्वती, गणेश, सरस्वतीको मूर्ति स्थापना गरिए।
याक्थुङहरूले आध्यात्मिक आस्था राखेका स्थलमा मुन्धुम अनुसारको मूल्यमान्यता हुन्छन्। सोही अनुसार उक्त स्थलमा कामकारबाही हुने गर्छन्। मुक्कुमलुङ आदिवासी याक्थुङहरूको परमपूज्य तागेरानिङ्वाफुमाङको वासस्थान हो भन्ने विश्वास छ। यही विश्वासका आधारमा त्यस क्षेत्र मानव तथा पशुका मलमूत्रबाट सफा राख्नुपर्छ भन्ने मान्यता छ। मुन्धुमले दुबो, ढुङ्गालाई पुज्ने, प्राकृतिक संरचनाको संरक्षण गर्ने ज्ञान दिएको छ। यसलाई उल्लंघन गरे माङ साम्बाःन् (देवदण्ड) हुन्छ भन्ने विश्वास छ।
मुन्धुमले दिशानिर्देश गरेको यही मान्यता उल्लंघन भएकाले मुक्कुमलुङमा विगतमा बाढी, पहिरो, आगलागी जस्ता प्रकोप भएको जनविश्वास छ। यसले मुक्कुमलुङमा मुन्धुम अनुसारको मान्यता, परम्परालाई नजरअन्दाज गरिनु हुँदैन भन्ने सन्देश दिएको छ।
कुनै मानव समूहको सभ्यता, इतिहास, संस्कृति, परम्परा कुनै ठाउँसँग जोडिएका हुन्छन्। ती ठाउँहरूसँग ती समूहको आध्यात्मिक, भौतिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध हुन्छ। कुनै मानव समूहले आवाद गरी बसोबास गर्ने क्रममा स्थानीय मूल्यमान्यता, ज्ञान परम्परा विकास हुन्छ। उनीहरूले पुज्ने आध्यात्मिक क्षेत्र निर्माण हुन्छ। आध्यात्मिक स्थल त्यस ठाउँमा पहिलो बस्ती बसाउने आदिवासी परम्पराबाट आएको मानिन्छ।
क्याथी अब्सोलन (सन् २०१०) भन्छिन्, “आदिवासी सिद्धान्तमा ज्ञानविज्ञान, विश्व दृष्टिकोण, संस्कृति र परम्पराहरूमा घनिष्ठ रूपमा जरा गाडिएको हुन्छ। समग्र आदिवासी सिद्धान्तभित्र आध्यात्मिक, भावनात्मक, मानसिक, भौतिक तत्त्वहरू समेटिएको बहुतह र समग्रतामा हेर्नुपर्छ।”
मुन्धुममा मुक्कुमलुङ
(क) नावा चइःत् मुन्धुममा मुक्कुमलुङ
मुन्धुममा सृष्टिको वर्णन भएको ‘नावा चइःत् मुन्धुम’ मा मुक्कुमलुङको उल्लेख भएको पाइन्छ। नावा चइःत्को सात प्रकाण्डमध्ये ईक्सा खाम्बेःक् पोःङ्मा अर्थात् ब्रह्माण्ड र पृथ्वी उत्पत्तिको मुन्धुममा अन्य हिमाल तथा पहाडहरूको उत्पत्ति हुने क्रममा नै मुक्कुमलुङको उत्पत्ति भएको वर्णन छ। जसराज लिम्बू पन्धाक (२००३)ले सङ्कलन गरेका मुजोक्लुङ् खाजोक्लुङ् मुन्धुममा मुक्कुमलुङको उत्पत्ति वर्णन छ।
बैरागी काइँलाले संकलन गरेको चइःत् मुन्धुम (२०६०)मा हिमाल पहाडको उत्पत्ति हुँदा मुक्कुमलुङ पनि उत्पत्ति भएको उल्लेख छ। तुम्म्याङ् लक्ष्मण मेन्याङ्बोले सङ्कलन गरेको यभत्लुङ् फावामा क्षेत्रतिर प्रचलित याक्थुङ् मुन्धुम (२०६२)मा भने मुक्कुमलुङको नाम सेमुक्तिलुङ् उल्लेख छ।
(ख) सावा य़ेत्हाङ पोःङ्मा मुन्धुम
याक्थुङ मुन्धुम अनुसार, पहिलो मानव मुजिङ्ना खेयङ्ना (मुयङ्ना)का छोरा सावा युक्पुङ्गेम्बा आफ्नी आमाको सुझाव र निर्देशन अनुसार धनुकाँड, सुनको छेलो र कोचो-तङ्ना, ख्या-तङ्ना, किधि-तङ्ना तथा परा-तङ्ना नाम गरेका चार कुकुर लिएर शिकार खेल्न वनजङ्गलतर्फ लागे। छेलो हान्दै‚ मृगको शिकार खेल्दै जाँदा एक पर्वतको शिखरमा सुनको गहनाले सजिएकी एक महिला तान बुन्दै गरेको भेटे। त्यही ठाउँमा उनका कुकुर र खेदाउँदै गरेको मृग अलप भए।
त्यसपछि सावा युक्पुङ्गेम्बा ती महिला योसुलुङ्मा मुक्कुमलुङमा भएको थाहा पाए। मानमनितो गरेपछि मुक्कुम्ङ्माले अल्पिएका मृग र कुकुर पत्ता लगाउने जुक्ति सिकाइन्। सोही अनुसार गर्दा ती सबै भेटिए। वास्तवमा, तिनै महिला मुन्धुमी पात्रको नाममा यो पर्वतको नाम मुक्कुमलुङ रहन गयो भन्ने लोकविश्वास पनि छ।
(ग) फोःङ्सिङ्मा मुन्धुम्मा मुक्कुमलुङ
फ़ेदाङ्मा, साम्बा, य़ेबा/य़ेमाले अनुष्ठान गर्दा फोङ्सिङ्मा (शक्ति आर्जनका लागि पुकारा) गर्छन्। त्यस वेला हिमाल, पर्वत, खोलाहरूलाई पुकार्छन्। याग्राङ्सिङ् फोःङ्मा मुन्धुममा खोला, हिमाल, पहाड आदि शक्तिपीठहरूसँगै मुक्कुमलुङको पनि पुकार गरिन्छ।
नावा चइःत्को सात प्रकाण्डमध्ये ईक्सा खाम्बेःक् पोःङ्मा अर्थात् ब्रह्माण्ड र पृथ्वी उत्पत्तिको मुन्धुममा अन्य हिमाल तथा पहाडहरूको उत्पत्ति हुने क्रममा नै मुक्कुमलुङको उत्पत्ति भएको वर्णन छ।
(घ) तङ्सिङ् तक्मा मुन्धुम
सामाजिक जीवन प्रणालीलाई दीर्घायु‚ सुस्वास्थ्य एवं समृद्ध राख्ने उद्देश्यले नराम्रा कर्मलाई छेक्ने, कुल्चने, हटाउने अनि राम्रा कुरा कर्मलाई ग्रहण गरिन्छ। यी साङ्केतिक कर्म विधिहरू समेटिएको अनुष्ठानलाई ‘तङसिङ तक्मा’ भनिन्छ। यो कर्म संस्कार प्रत्येक घरमा वार्षिक वा तीन वर्षमा एक पटक चलन छ।
तङसिङकै अनिवार्य अङ्गका रूपमा ‘फुङ्वा चाङ्मा’ (जीवनको फूल जगाउने) कर्म गरिन्छ। यो अनुष्ठान गर्दा सहभागी सबैको तङसिङ बोकेर य़ेबा-य़ेमा सिद्धिस्थलतर्फ मुन्धुम वाचनकै विधिबाट यात्रामा निस्कँदा मुक्कुमलुङको बाटो हुँदै जाने र फर्कने गर्छन्।
(ङ) सामसाःमा मुन्धुम
याक्थुङ समाजमा मान्छेको मृत्युपछि सामसाःमा (सातो/हंस पुर्याउने) अनुष्ठान गरिन्छ। जसलाई मृतकको आत्मालाई पितृलोकमा पुर्याई पितृहरूलाई जिम्मा लगाउने भनिन्छ।
मुन्धुम वाचन गर्दै मृतकको आत्मालाई यात्रा गर्दा जाने बाटो घरको थान हुँदै मूल खम्बा, चुल्हा, चुल्हामाथिको भार, धुरी, बलेसी, गाउँको दोबाटो, चौतारी, घारी, जङ्गल, डाँडा‚ लेक‚ हिमाल हुँदै मुक्कुमलुङ् अनि फालेलुङबाट पितृलोक, स्वर्गलोकतर्फ निस्कनुपर्छ। आत्मालाई पितृहरूको जिम्मामा लगाएपछि फेरि अघि गएकै बाटो भएर फर्किने कार्य हुन्छ।
पुस्तक र लेख रचनाहरूमा मुक्कुमलुङ
राजेश्वर थापाद्वारा लिखित पावन पवित्र मुक्कुमलुङमा पुस्तकमा मुक्कुमलुङमा परिचय युमाधर्म, दर्शन र संस्कृति, नामकरण, अवस्थिति, मुन्धुममा मुक्कुमलुङमाको कथा शीर्षकहरू रहेका छन्। मुक्कुमलुङमाको नामकरणका सम्बन्धमा ‘मुक्कुम’ भनेको स्थानीय लिम्बू भाषामा ‘शक्ति’ या ‘बल’ र ‘लुङ’ भनेको सामान्यतः ‘ढुङ्गा’ या चट्टानहरूको माला या शृङ्खला भएकाले शक्तिदायक पहाड शृङ्खला हो। युमा साम्माङ्को वासस्थानका रूपमा शक्तिशाली स्त्रीका रूपमा उल्लेख गरेका छन् (राजेश्वर थापा‚ पावन पवित्र मुक्कुमलुङमा‚ २०७४:१२)।
अर्जुनबाबु माबुहाङले सिरिजङ्गाले सिरिजङ्गा लिपिमा लेखेको लेखोटको आधारमा अहिले पाथीभरा भनिएको डाँडाको सेमुक्तु मुक्तुकोक्मा भएको भनी पाथीभरा होइन मुक्तिफोमाङ शीर्षकमा लेख प्रकाशित गरेका छन्। उनले हज्सन पाण्डुलिपिको खण्ड ८६ को आधारमा पाथीभराको मुन्धुमी नाम ‘मुक्तिफोमाङ’ पुष्टि हुन्छ भनी दाबी गरेका छन्। तर‚ तिलविक्रम नेम्बाङ (सन् २०२१) का अनुसार‚ माबुहाङले आधार मानेको लेखोट खण्ड ८६ नभई फोलियो २(द) हो र यो सिरिजङ्गाले लेखेको नभई श्रीफुङ भन्ने व्यक्तिले लेखेका हुन्।
दीलेन्द्र कुरुम्बाङको २०७८ मा प्रकाशित पाथीभरामा निसासिएको मुक्कुमलुङको पहिचान शीर्षकको लेखमा मुक्कुमलुङमा उत्पत्तिबारे कथा, याक्थुङ मिथक, मुक्कुमलुङ नामको इतिहास, मुक्कुमलुङ र मुक्कुमलुङमाको अन्तर, आन्तरिक आप्रवासनले मेटिएका स्थाननाम, मुक्कुमलुङ पुन:स्थापनाको पहलबारे उल्लेख गरेका छन्। मुक्कुमलुङमा उत्पत्तिको कथामा गोठालोले भेंडा हराएको, सपनामा एक जना स्त्री आएर त्यस डाँडोमा फोहर गर्यौ भनेको, ब्युँझिएपछि भेंडा भाकल गर्दा हराएका भेंडा फेला परेको र त्यसपछि यहाँ पूजा गर्न थालिएको प्रसङ्ग उल्लेख गरेका छन्।
यस्तै‚ याक्थुङ मिथक अनुसार‚ मुक्कुमलुङमा डाँडोमा देखा पर्ने र अनेक लीला गर्ने स्त्री युमा हुन् भन्ने याक्थुङ समुदायको विश्वास रहेको मुक्कुमलुङलाई फ़ेदाङमा, साम्बा, य़ेबा-य़ेमाहरूले मुन्धुम फलाक्दा मुक्कुमलुङ माङ, सेमुक्तु मुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ, मुक्तिगोःक्, चेप्तिगोःक्, मुक्तिफो माङ आदि नामले पुकारेको उल्लेख गरेका छन्। मुक्कुमलुङमा अहिले पूजा गरिंदै आइएको ठाउँको पछाडिको भीरमा रहेको मूल थान ढुङ्गाको भएकाले त्यसकै आधारमा यसको नाम मुक्कुमलुङ रहन गएको कुरुम्बाङको तर्क छ।
राज्यको आडमा मुक्कुमलुङलाई पाथीभरा, फक्ताङलुङलाई कुम्भकर्ण, सेवालुङलाई मानाभरा, थाङवालाई तमोर, काङवालाई काबेली लगायत धेरै ठाउँको नाम खसकरण गरियो।
मुक्कुमलुङमाथि अतिक्रमण
विजयपुरमा मकवानपुरको सेन राज्यको प्रभावका कारण नेपालीभाषीहरू छिटपुट रूपमा प्रवेश भए पनि अतिक्रमण भएको थिएन। लिम्बुवानमा याक्थुङहरू मात्र बस्थे। छिमेकी समुदायहरूमा लेप्चा, आठपहरिया, लेप्चा, याम्फू लोहोरुङहरू बस्थे।
विसं १८३१ मा सम्झौता भएपछि लिम्बुवान गोरखा राज्यमा गाभियो। त्यसपछि राज्यले गैरयाक्थुङहरूको आप्रवासनलाई प्रोत्साहित गर्ने नीति लियो। लिम्बुवानमा गोरखाली सेना, प्रहरी, व्यापार व्यवसाय, प्रशासनिक संयन्त्रमा काम गर्ने भनेर अन्य समुदायहरू विधिवत् रूपमा प्रवेश गरे। लिम्बुवानका सुब्बाहरूबीच मान्छे ल्याउँदै आफ्नो किपटमा रैती बसाउने प्रतिस्पर्धा चल्यो।
कतिपय ब्राह्मणहरूले केन्द्र सरकारबाट बिर्ता पाएर बसोबास गरे। राज्यको सहयोगमा खस पर्वते भाषालाई फैलाउने‚ हिन्दू संस्कृति, धर्म, परम्पराहरू स्थापित गर्न थाले। परम्परागत रूपमा मान्दै आएको आध्यात्मिक केन्द्रहरूको नाम नेपाली भाषामा परिवर्तन गर्न थाले। हिन्दू मिथक अनुसार, ती ठाउँ हिन्दू धर्म‚ संस्कृतिको धरोहरको भएको भाष्य तयार गरे।
राज्यको आडमा ऐतिहासिक ठाउँका नामहरू अपभ्रंशित र परिवर्तित गराउँदै लगे। मुक्कुमलुङलाई पाथीभरा, फक्ताङलुङलाई कुम्भकर्ण, सेवालुङलाई मानाभरा, थाङवालाई तमोर, काङवालाई काबेली लगायत धेरै ठाउँको नाम खसकरण गरियो।
ताप्लेजुङ बजारका समाजसेवी टंक श्रेष्ठका अनुसार‚ विसं. १९५० को महाजाँचमा दाताराम बरालका पिता नन्दराम बरालको नाममा जग्गा दर्ता हुँदा पाथीभरा पानीढलो भन्ने उल्लेख भएको पाइन्छ। लिखतमा उल्लेख भए अनुसार‚ नेपालीभाषीहरूले पाथी जस्तो देखिने डाँडालाई आफ्नो भाषामा अगाडिदेखि पाथीभरा भन्दै आएको अनुमान गर्न सकिन्छ।
परम्परागत नाम मात्र परिवर्तन नगरी धार्मिक तथा सांस्कृतिक रूपमा हिन्दूकरण गर्दै लगियो। त्यसमध्येको एक मुक्कुमलुङ हो। पुराना स्थान नाम फेर्ने, आफ्नो बनाउने काम नहुँदो हो त गुरुङ भेंडी गोठालासँग कथा जोडिएकाले गुरुङ भाषाबाट नाम रहनुपर्ने थियो। गुरुङ विधिले देवस्थल बन्नुपर्थ्यो। तर‚ न गुरुङको रह्यो न त याक्थुङको। हिन्दूको प्रसिद्ध धार्मिकस्थल पाथीभरा भइदियो।
धनकुटाका तत्कालीन बडाहाकिम माधवशमशेरले विसं १९९० सालतिर मुक्कुमलुङ (तत्कालीन नाम फेरेर पञ्चकाली)मा कालो बोकाको भोग चढाएर पूजा गरेपछि बलि दिने प्रचलन शुरू भएको भनाइ छ। त्यहींदेखि राज्यका स्थानीय प्रशासकहरूको संलग्नतामा स्थानीय स्तरको मान्ने पुज्ने ठाउँहरूलाई हिन्दूकरण गर्ने, स्थानका नामहरूलाई हिन्दूकरण गर्दै लैजाने क्रम बढेको देखिन्छ। जस्तै‚ नाम्गेत् भन्ने ठाउँलाई काफ्लेपाटी भनियो। सिमु?इङ थेगुको नाम हटाएर बेलुडाँडा राखियो।
सरकारी र गैरसरकारी संस्थाको बलमा मुक्कुमलुङ क्षेत्रका याक्थुङ समुदायलाई नै सहभागी गराई उनीहरूकै परापूर्वकालदेखिको धार्मिकस्थल अतिक्रमण गर्दै लगियो।
मुन्धुम परम्परामा अध्यात्मिक स्थल‚ शक्तिपीठहरूमा स्थायी संरचना निर्माण गर्ने प्रचलन छैन। देवीदेवताहरू कृत्रिम संरचनामा नभई प्राकृतिक स्थलमा हुन्छन् भन्ने मुन्धुमी मान्यता छ। तर‚ मुक्कुमलुङ क्षेत्रमा राज्यले कृत्रिम संरचना निर्माण गरेको छ। स्थानीय स्तरबाट विसं २०३७ मा ‘पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समिति’ स्थापना भयो।
यसपछि मुक्कुमलुङमा हिन्दूकरण गर्ने कार्य संस्थागत भयो। विसं २०५३ मा सरकारी तहबाट ‘पाथीभरा क्षेत्र विकास समिति’ गठन आदेश भएपछि सरकारको प्रत्यक्ष संलग्नता भयो। डिल्लीजंग मादेन, कमल गुरागाईं, सूर्य नेयोङ लगायतको सक्रियतामा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिले २०५८ सालमा कालीको मूर्ति स्थापना गर्यो।
सरकारी र गैरसरकारी दुई संस्थाको बलमा यहाँका आदिवासी याक्थुङ समुदायलाई समेत सहभागी गराई उनीहरूकै परापूर्वकालदेखिको धार्मिकस्थल अतिक्रमण गर्दै लगियो। मुक्कुमलुङ डाँडामा केही वर्षअघि पार्वती, सरस्वती, गणेशका मूर्ति स्थापना गरिए। वास्तविक मुक्कुमलुङ चाहिं मुक्कुमलुङको पछाडिपट्टि भीरमा रहेको छ। विसं २००५ सालमा सुब्बा हर्कजङ मादेनले उक्त शिला विधिवत् रूपमा उठाएर डाँडामा प्रतिस्थापन गरेका हुन्। तर‚ हाल उक्त शिला छोपेर राखिएको छ।
ताप्लेजुङबाट निर्वाचित सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएपछि पर्यटन विकासको हवाला दिंदै पाथीभरा गुरुयोजना बनाइयो। यसले मुक्कुमलुङलाई हिन्दूहरूको शक्तिपीठका रूपमा विकास गर्ने काम गर्यो। सरकारको संलग्नतामा पाथीभरा महोत्सव, पाथीभरा म्याराथन जस्ता क्रियाकलापहरू सञ्चालन हुँदै आएका छन्। पाथीभराको पवित्रतामाथि व्यापारिक दृष्टि राखेर केबलकार निर्माण गर्न धेरै व्यापारीले प्रयास गरे पनि सफल भएका छैनन्।