चन्द्रागिरिमा स्तूपको खोजी
संस्कृति र सम्पदाको मर्म विपरीत विकासको काम हुँदा सदियौं पुराना हाम्रा परम्परा कसरी नाशिँदै छन् भन्ने दृष्टान्त बनेको छ, चन्द्रागिरि भञ्ज्याङ।
काठमाडौं उपत्यका प्रवेश गर्ने दक्षिण-पश्चिमस्थित पुरानो नाका हो, चन्द्रागिरि भञ्ज्याङ। प्राचीन नेवार बस्ती चित्लाङ हुँदै काठमाडौं भित्रिन यो भञ्ज्याङको विकल्प थिएन। काठमाडौं आउने शुरूआततिरका प्रायः पश्चिमा लेखक र विद्वान्ले यही भञ्ज्याङ हुँदै यात्रा मात्र गरेनन्, भञ्ज्याङ र यहाँबाट काठमाडौं उपत्यका देख्दाको सुन्दर वर्णन पनि गरेको पाइन्छ। नेपालको भौगर्भिक अध्ययन गर्न पहिलो पल्ट सन् १९५० मा आएका स्वीट्जरल्यान्डका भूगर्भविद् टोनी हागनले लेखेका छन्ः
‘...चन्द्रागिरी भञ्ज्याङमा आइपुगेपछि हामीले हाम्रो अगाडि हरियालीयुक्त फराकिलो काठमाडौं उपत्यका प्राचीन शहरहरूलाई समेटेर बसेको पायौं। उपत्यकाको पछिल्तिर उत्तुङ्ग हिमालय खडा भयो। आफ्नो म्याप हेरेर मैले गणेश हिमाल, लाङटाङ हिमाल र सिसापाङ्मा हिमाल (८०१३ मिटर) ठम्याएँ। हाम्रा आँखासामु साँच्चिकै साङ्ग्रिला पस्रिएको पायौं। त्यो दृश्य अद्भुत थियो।’ (नेपालको चिनारी, सन् २००१)
भञ्ज्याङमा बौद्ध स्तूपहरू पनि छन्। यी स्तूपले दुई हजार वर्षभन्दा पुरानो नेपाली परम्परा र सभ्यताको झल्काउने भएकाले विशिष्ट महत्त्व छ। पहिलो पल्ट २०५५ सालमा यो भञ्ज्याङको बाटो हुँदै यात्रा गरेको मैले त्यसपछि पनि वेलावेला यहाँबाट आउजाउ गरेको छु। यस आधारमा भञ्ज्याङको वस्तुस्थिति कसरी बदलिँदै छ भन्ने साक्षी बनेको छु। पहिलो पल्ट यहाँ पुग्दा खिचेको एक तस्वीरमा एउटा थुम्कोमा पाटी र दुई साना स्तूप थिए भने त्यसको सामुन्ने अर्को थुम्कोमा ठूलो- सानो दुई स्तूप र धर्मधातु देखिन्थ्यो (तस्वीर १)।
बौद्ध वास्तुकलामा स्तूपको ठूलो स्थान छ। स्तूपका अनेक भेद छन्। बौद्ध धर्म जहाँ जहाँ गयो, त्यहाँको रैथानेपन र जीवनदर्शन वास्तुकलामा पनि प्रतिविम्बित हुन्छ। काठमाडौंमा निर्मित आदिबुद्धको प्रतीक स्वयम्भू महाचैत्यको प्रतिकृति नेवार बौद्धहरूसँगै टाढा टाढासम्म फैलियो। वेदिका (आधार भाग)देखि माथि विभिन्न बोधिसत्व तथा अन्यका मूर्ति राखी चुच्चो पार्दै लगिने र स्वयम्भू महाचैत्यलाई गजुरका रूपमा शोभायमान गरी बनाइने स्तूप काठमाडौं उपत्यकाको नेवार बौद्ध समाजमा लोकप्रिय छ। यस्तो स्तूप भेदलाई चिभाः भनिन्छ। यही चिभाः चन्द्रागिरि भञ्ज्याङमा थिए।
भञ्ज्याङहरूमा स्तूप निर्माण गर्ने पुरानो परम्परा हो। चित्लाङ-टिस्टुङ भेगमा लिच्छविकालीन महत्त्वपूर्ण शिलालेखहरू पाइनु तथा यहाँको सामाजिक जनजीवन किरातकालभन्दा निकै अघिको काठमाडौं सभ्यतासँग सम्बन्धित हुनुले चन्द्रागिरि भञ्ज्याङ एक मात्र सेतुका रूपमा रहेको भन्न कठिन छैन। भञ्ज्याङमा स्तूप निर्माण गर्ने र यात्रुले त्यसको प्रदक्षिणा गर्ने संस्कार पुरानै भएको र स्तूपहरू भग्न भए पनि नयाँ बन्ने क्रमले त्यो परम्परालाई जीवन्त बनाउँदै आएको हो। तर, यो परम्परामा पछिल्लो समय खलल आउन थालेको छ।
गत तिहार लगत्तै एक दिन चन्द्रागिरि भञ्ज्याङ गएर स्तूपहरू खोज्ने तय भयो। थानकोट गोदामबाट दक्षिणतिर उकालो लागेपछि भञ्ज्याङ पुगिन्छ। यहाँ मोटर गुड्ने बाटो केही दशकअघि मात्रै बनेको हो। प्राचीन समयमा ढुङ्गा ओछ्याइएको खुड्किलायुक्त र घुमाउरो बाटो घना जङ्गलको बीचबाट बनाइएको थियो। चित्लाङ हुँदै काठमाडौं आउजाउ गर्ने पुरानो बाटो यही थियो। मोटरबाटो बनाउँदा त्यो पुरानो पैदलमार्ग खण्डित हुन पुगे पनि इतिहासको त्यो अवशेष अझै कतै कतै देख्न सकिन्छ।
अहिले भञ्ज्याङमा सडक फराकिलो पार्न दायाँ-बायाँको पहाड मात्रै ताछिएन, करीब १५ फिट भुइँ पनि खोस्रेको छ। सडकको पश्चिममा रहेका स्तूपसम्म सहजै पुग्न नसकिने मात्र होइन, स्तूप नै नदेखिने भइसकेछ। स्तूप मासिएको शङ्का गर्दै भग्नावशेष त भेटिएला कि भनेर माथि उक्लियौं।
भञ्ज्याङबाट पहिले सोझै चित्लाङ झर्ने बाटो थियो, अहिले पश्चिमतिर जाने अर्कोे पनि बाटो बनिसकेको छ। पहाडको टुप्पोमा बनाइएको गणेशमान भवनसम्म पुग्ने बाटो पछ्याउँदै पूर्वतिर लाग्यौं। आँखाले स्तूप वा स्तूपका भग्नावशेष खोज्दै गर्दा झाडीभित्र इँटाको गारो र छेवैमा पुरानो, मक्किइसकेको लुङ्दर देखियो। झाडीभित्र मुश्किलले पसेर हेर्दा दुई स्तूप र पाटी देखिए। कुनै समय यात्रुलाई सुस्ताउन वा उस्तै परे बास बस्न बनाइएको पाटी अहिले झाडीभित्र छोपिनुका साथै जीर्ण भएर भत्किने अवस्थामा छ। पाटी अगाडि ढुङ्गा र माटोले बनाइएका दुई स्तूप छन्। थुम्कोमा थोरै मात्र भूस्खलन भयो भने स्तूप खस्ने जोखिम छ।
अब २०५५ सालमा खिचिएको तस्वीरमा देखिएको, यो थुम्कोभन्दा अगाडिको सानो थुम्कोमा रहेको ढुङ्गा र माटोले निर्मित अलि ठूलो र त्यसको छेउमै ढुङ्गाको सानो स्तूप र धर्मधातु खोज्नु थियो। बाटो चौडा पार्न दायाँ-बायाँको थुम्को ताछिएकाले स्तूप रहेको स्थान अनुमान गर्नै कठिन थियो।
भञ्ज्याङको पूर्वतिर पनि केही स्तूप थिए (तस्वीर ३), ती पनि सडक विस्तारका क्रममा मासिएछन्। स्तूप मासेकै ठाउँबाट पूर्वतर्फ चन्द्रागिरिमा केबलकार बनाउन निर्माण सामग्री लैजाने बाटो बनेको रहेछ। खोजेको स्तूप त्यतै कतै मिल्काइएको छ कि भनेर खोज्दै अगाडि बढिरहँदा सामाजिक सञ्जालका साथी प्रकाश गोपालीले मलाई चिनेर बोलाए। त्यहाँ पुग्नुको कारण बताएपछि उनले चैत्यलाई अलि पर स्थापना गरिएको बताउँदै हामीलाई त्यो ठाउँमा लगे।
फराकिलो चौरको छेउमा सिमेन्टले बनाइएको पाटी र अगाडि सेतो ठूलो छोर्तेन (स्तूपको तिब्बती शैली), चिभाः र धर्मधातु पुनःस्थापना गरिएको देखियो। छोर्तेन वास्तुकलामा त्रयोदश भुवन (तेह्र तह) हुने भए पनि स्वयम्भू स्तूपमा जस्तो हर्मिका भाग हुँदैन, तर यसमा हुनु विशेष पक्ष रह्यो। यो छोर्तेनलाई देखाउँदै भञ्ज्याङदेखि पूर्वतिरको सानो ढिस्कोमाथि निर्मित स्तूप (तस्वीर ३) सारेर ल्याइएको यही हो भनिन्छ, तर योसँग मौलिक ठाउँको ठूलो स्तूपको शैली र आकार नै मिल्दैन।
यससँगै सारिएको चिभाःको माथिल्लो भाग (हर्मिका र त्रयोदश भुवन) छैन, यसको ठाउँमा सिमेन्टको डल्लो राखिएको रहेछ। स्तूप वास्तुकलामा यस्तो डल्लोको कुनै अर्थ हुँदैन। चिभाःको वेदिकामा दुई अभिलेख कुँदिएको छ। दक्षिणी मोहडामा दाताहरूको नाम र तिनको आकृति छ। यस्तै, पश्चिमी मोहडामा दुई पंक्तिको अभिलेख छ, जुन निकै सानो अक्षरमा कुँदिएको र त्यसमाथि रङ लगाइएकाले पढ्न सकिन्न। देवनागरी लिपिमा भएको र परम्परागत विधिले नकुँदिएका कारण यो पूरै चैत्य धेरै पुरानो होइन भन्ने बुझिन्छ। चैत्यमा रहेका पञ्चध्यानी बुद्ध तथा अन्य ससाना मूर्र्तिको बनावट हेर्दा सय वर्षभन्दा पुराना लाग्दैनन्।
चिभाः र धर्मधातुको छेउमा अलि ठूलो स्तूपको हर्मिका र त्रयोदश भुवनको भाग फालिएको देख्यौं। यी अवयव पश्चिमतिरको थुम्कोसँगै हराएको ठूलो स्तूपको हो कि भन्ने लागेको थियो। सडक खन्दा स्तूपहरू भताभुङ्ग पारिएको वेलाको तस्वीरमा पनि यस्तो हर्मिका भाग देखिन्छ (तस्वीर २)। तर, तस्वीरमा गहिरिएर हेर्दा यो त सडकको पूर्वतिरको थुम्कोमा अवस्थित ठूलो स्तूप (तस्वीर ३) को रहेको स्पष्ट भयो। स्तूप सारिएको भनिए पनि पुरानो हर्मिका र त्रयोदश भुवन त्यहीं फालेर तिब्बती शैलीमा लाम्चो गरी सिमेन्टबाट बनाइएको रहेछ।
भञ्ज्याङको पश्चिमतिर हटाइएको थुम्कोमा रहेका दुई स्तूप र धर्मधातु कतै भेटिएन। मोटरबाटो चौडा पार्ने काम विगतदेखि विभिन्न चरणमा हुँदै आउँदा यी सम्पदा केही अगाडि नै मासिएको हुनुपर्छ।
चौरको पश्चिमतिर भर्खरै बनाइएको पाटी र त्यस अगाडिका स्तूपको संरचनाले झस्काउँछ। मौलिक ठाउँकै जस्तो पाटी र अगाडि स्तूपहरू बनाइनुले मौलिक ठाउँ मास्न लागिएको हो कि भन्ने शङ्का जन्माउँछ। यसले पुरानो ठाउँमा झाडीभित्रका दुई स्तूप र पाटी पनि जुनसुकै वेला भत्काइन सक्ने जोखिम देखाएको छ। नवनिर्मित पाटीको वरिपरि बुद्ध, बौद्ध मन्त्र, बज्र, स्तूप र अन्य आकृति कुँदिएका शिलापत्र असरल्ल छन्।
भञ्ज्याङको उत्तर-पश्चिमको कुनातिर झाडी छ। अहिले शौच गर्ने ठाउँ जस्तो बनेको यो कुनो प्राचीन मूल बाटो हो, काठमाडौं आउजाउ गर्ने। चित्लाङ हुँदै काठमाडौं आउने यात्री तथा लेखकले बाटोको वर्णन गर्दा यही सानो बाटोको वर्णन गर्ने हुन्, सँगैको फराकिलो मोटरबाटोको होइन। सन् १९५० मा यात्रा गर्दा टोनी हागनले यो बाटोको वर्णन यसरी गरेका छन्- ‘थानकोटसम्मको (१६०० मिटर) ओरालो ठाडो र कठिन थियो। सीप लगाएर ढुङ्गा ओछ्याएको बाटो भने तारीफ गर्न लायक थियो।’
(महर्जन नेवार सभ्यता र बौद्ध धर्म अध्येता हुन्। हिमालको २०७९ माघ अङ्कबाट।)