वितरणतर्फको विद्युत् चुहावट ७.४९ प्रतिशतमा झर्यो
नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महीनामा वितरणतर्फको विद्युत चुहावट घटाएर ७.४९ प्रतिशतमा झारेको जनाएको छ।
नियमित रूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट झार्न सफल भएको प्राधिकरणले जनाएको छ। गत वर्ष मंसीरसम्म वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशत बिन्दुले घटाइएको प्राधिकरणको दाबी छ। गत वर्ष मंसीरसम्म वितरणतर्फको विद्युत् चुहावट ९.२३ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७८/७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १०.८६ प्रतिशत थियो।
चालू आर्थिक वर्षको मंसीरसम्म वितरण प्रणालीमा चार अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकोमा तीन अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ। यो वर्ष ३१ करोड सात लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ।
मंसीरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ। प्रसारण र वितरणतर्फ गरी मंसीरसम्म समग्र प्रणालीको विद्युत् चुहावट १२.०५ प्रतिशत छ। गत असारसम्म समग्र प्रणालीको विद्युत् चुहावट १५.३८ प्रतिशत थियो।
प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले यो आर्थिक वर्षमा समग्र प्रणालीको विद्युत् चुहावट १४ प्रतिशतमा र वितरणतर्फको चुहावट ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।
सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकोमा अहिले घटाएर ७.४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावट लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टोली परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले बताए। उनले भने, “नयाँ सबस्टेशन निर्माण सम्पन्न भएको, सञ्चालनमा रहेका सबस्टेशनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहकहाँ सञ्चित रहेको युनिट बिलिङ हुँदा चुहावट घटेको हो।”
हुकिङ लगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेशन र फिडर लाइनहरूको सुदृढीकरण तथा नयाँ सबस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्ने लगायतका काममा गरिएको ठूलो लगानीको नतीजास्वरूप चुहावट घटेको उनको भनाइ छ।
जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्न सक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिंदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताए। गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसूल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रूपमा चलाइएको घिसिङले बताए।
प्राधिकरणका सात वटा प्रादेशिक कार्यालय र दुई वटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको छ। प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रको मंसीरसम्म समग्र विद्युत् चुहावट १२.८० प्रतिशत छ।
अघिल्लो वर्ष सोही अवधिमा १२.९७ प्रतिशत थियो। सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४४.८३ प्रतिशत विद्युत् चुहावट रहेको थियो। गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट ४३.८२ प्रतिशत थियो।
प्रदेश १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रको मंसीरसम्मको समग्र विद्युत् चुहावट ७.४२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा चुहावट ९.९४ प्रतिशत थियो।
बागमती प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौंडा मातहतका ६ वटा वितरण केन्द्रको अघिल्लो वर्षको मंसीरसम्म चार प्रतिशत रहेको समग्र विद्युत चुहावट यस वर्ष सोही अवधिमा ४.५३ प्रतिशत रहेको छ। गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ वटा वितरण केन्द्रको गत वर्षको मंसीरसम्म समग्र विद्युत् चुहावट ७.९१ प्रतिशत रहेकोमा यस वर्ष ६.४३ प्रतिशत रहेको छ।
लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट ६.०२ प्रतिशत रहेको छ। गत वर्ष ९.४८ प्रतिशत थियो।
कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका सात वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १०.५८ प्रतिशत रहेको छ। गत वर्ष १३.३२ प्रतिशत थियो।
सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत १२ वटा वितरण केन्द्रको मंसीरसम्मको समग्र विद्युत् चुहावट ५.९८ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा चुहावट ५.७६ प्रतिशत थियो।