नेपथ्यको नयाँ साङ्गीतिक यात्रा अस्ट्रेलियाका आठ शहरमा
लोक-रक ब्यान्ड नेपथ्यले तीन वर्षपछि अस्ट्रेलियाको साङ्गीतिक यात्रा गर्न लागेको छ।
यसअघि सन् २०१९ को डिसेम्बरमा नेपथ्यले अस्ट्रेलियाका ६ वटा शहरको साङ्गीतिक यात्रा गरेको थियो। यस पटक आठ शहरमा साङ्गीतिक प्रस्तुति गर्न लागेको हो।
‘मानवताका लागि सङ्गीत’ नाम दिएर साङ्गीतिक अभियान यात्रामा नेपथ्यले एक महीना लामो देशव्यापी यात्रा गरेको थियो।
सडक आश्रितको क्षेत्रमा सेवारत ‘मानवसेवा आश्रम’ सँगको सहकार्य सातै प्रदेशका १० शहरमा कार्यक्रम प्रस्तुत गरेको थियो।
देशव्यापी यात्राबाट पाएको प्रतिक्रियाबाट प्रेरित भएर सन् २०२३ भरि मानवताका लागि साङ्गीतिक कार्यक्रम गर्ने नेपथ्यका अगुवा अमृत गुरुङले बताए। “हाम्रा सबै प्रस्तुतिलाई ‘मानवताका लागि सङ्गीत’ को नारा सहित मानवता प्रवर्द्धन अभियानको शृङ्खलाका रूपमा प्रस्तुत गर्ने विचार गरेका छौं,” गुरुङले भने।
नेपथ्यले ‘म्युजिक फर ह्युम्यानिटी’ नाम दिएर अस्ट्रेलिया यात्रा गर्न लागेको जनाएको छ। २५ जनवरीमा डार्बिनस्थित ‘इन्टरटेन्मेन्ट सेन्टर’ बाट शुरू हुने यात्रा एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी, मेलबर्न र होबार्ट पुगेर सम्पन्न हुनेछ।
यसका लागि नेपथ्यको १३ सदस्यीय टोली शुक्रबार अस्ट्रेलिया प्रस्थान गर्न लागेको छ।