यस्तो छ नवनिर्वाचित सभामुख घिमिरेको विगत
नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्।
प्रतिनिधि सभामा बिहीबार भएको निर्वाचनमा घिमिरे बहुमतले सभामुख निर्वाचित भएका हुन्। उनको पक्षमा १६७ मत पर्यो भने विपक्षमा १०० सांसदले मत दिए। त्यस्तै, एक जना सांसद तटस्थ बसे।
घिमिरे गत मंसीर ४ गते सम्पन्न निर्वाचनमा झापा-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्। २०५६ सालमा राष्ट्रिय सभाको सदस्य भएका नेता घिमिरे एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज समेत हुन्।
२०१३ जेठ १३ गते ताप्लेजुङको सिकैंचामा जन्मिएका घिमिरे २०२७-२०३० सालको झापा विद्रोहपछि कम्युनिष्ट पार्टीको सम्पर्कमा आएका थिए। एमालेलाई झापामा स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका घिमिरे शान्त र सरल स्वभावका नेता मानिन्छन्। पहिलो पटक प्रतिनिधि सभाको टिकट पाएर चुनाव जितेका उनी सभामुख बनेका छन्।
उनले २०३२ सालमा को-अर्डिनेशन केन्द्रको विद्यार्थी संगठनमा आबद्ध भएर काम गरेका थिए। २०४७ सालमा तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) एकीकरण भएर नेकपा (एमाले) बनेपछि २०४९ सालमा भएको एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
१२ वर्ष भूमिगत राजनीति गरेका घिमिरे पार्टी काम तथा आन्दोलनका क्रममा पटक पटक हिरासतमा बसेका थिए। उमेरका हिसाबले पनि पाका नेता घिमिरे सभामुख बनेका छन्।