त्यो घटना जसले सांसद उर्मिलाको जीवन बदलिदियाे
माओवादी सशस्त्र द्वन्द्व सहभागी भएकै वेला विवाह गरेकी उर्मिला माझीले द्वन्द्वमै पति गुमाइन्। यद्यपि‚ नयाँ जीवन शुरू गरेर फेरि सपनाको बीउ रोपिन्। माओवादी शान्ति प्रक्रियामा आएको डेढ दशकपछि उनले राष्ट्रिय राजनीतिमा अवसर पाएकी छन्।
२०५६ सालको साउने संक्रान्तिको साँझ त्यो घटना नभएको भए उर्मिला माझी आज कहाँ हुन्थिन् होला? उनी आफैं भन्छिन्, “विवाह गरेर बच्चा हुर्काउँदै गृहस्थ जीवनमै सीमित हुन्थें।” अहिले उनी नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधि सभा सदस्य भएकी छन्। निकै लामो र घुमाउरो यात्राबाट उनी यहाँसम्म पुगेकी हुन् जसको शुरूआत थियो, २०५६ सालको त्यो घटना।
मुसलधारे पानी परिरहेको त्यस साँझ उनी परिवारसँगै बर्खे रोपाइँ सकेर घर फर्कंदै थिइन्। त्यति वेलै उनी र गाउँका अरू मानिसले देखे, थुप्रै प्रहरीहरूले दुई पुरुष र दुई महिला गरी चार जनालाई पक्राउ गरेर लैजाँदै थिए। अर्को दिन बिहानपख गाउँमा हल्ला फैलिएपछि उनी पनि अरूसँगै पछि लागेर बेसीको पिपलबोट पुगिन्। हिजो पक्राउ परेका दुई जना पुरुषलाई मारेर एउटै रूखको हाँगामा झुन्ड्याइएको थियो। गाउँलेले नै हल्ला गरेपछि उनले थाहा पाइन्, हिजो समातिएका दुई जना महिलाको पनि हत्या भइसकेको थियो। उनीहरूलाई बलात्कारपछि हत्या गरिएको गाउँलेको अड्कल थियो।
हाल काभ्रे खानीखोला गाउँपालिका–४ मा पर्ने जगथली माझी बस्तीमा प्रहरीद्वारा माओवादीको हत्या भएको त्यो घटना नै उर्मिलाको जीवनमा ठूलो घुम्ती बन्न पुग्यो।
१५ वर्षको उमेरमा देखेको त्यो घटना सम्झिँदै उर्मिला भन्छिन्, “आँखाअघि नै राक्षसी हत्या र त्यसमाथि महिलाहरूको बलात्कार भएको देखेपछि मनमा विद्रोह पलायो। मैले त्यही वेला आफ्नो लडाइँ मनैमन शुरू गरेछु।”
उर्मिलाका अनुसार, त्यो घटनापछि उनले माओवादी को हुन् भनेर सोधखोज गर्न थालिन्। जान्नेहरूले भने- धनी र गरीबबीचको खाडल पुर्न लडिरहेकाहरू नै माओवादी हुन्। श्री कुमारी माध्यमिक विद्यालय, तालढुंगा काभ्रेमा आठ कक्षामा अध्ययनरत गरीब र अल्पसंख्यक समुदायबाट आएकी किशोरीलाई माओवादीका नाराले तानिहाले। नौ कक्षामा पुगेपछि उनी विद्यालयमा गठन भएको माओवादीको विद्यार्थी संगठनकी सदस्य भइन्।
संगठित सदस्य नै भएपछि उनको सक्रियता पनि बढ्न थाल्यो। पार्टीका प्रकाशन पढ्नेदेखि रात्रिकालीन कार्यक्रममा ‘मान्छे, मान्छे एउटे हो नी फरक किन भो/ श्रम चल्छ, सीप चल्छ पानी नचल्ने भो’ जस्ता परिवर्तनकारी गीत गाउन जान थालिन्।
पार्टीमा लागेको एक वर्ष नपुग्दै २०५७ साल भदौ उनको जीवनमा अर्को ठूलो मोड बनेर आयो जब उनले घरबार त्यागेर माओवादी आन्दोलनमा पूर्णतः सहभागी हुने निर्णय गरिन्।
घर छोडेर आन्दोलनमा लागेको त्यो क्षण अहिले पनि उर्मिलाको स्मृतिमा ताजै छ। उमेरले उनीभन्दा जेठी ठूलोबुबाका छोरीहरू पुर्मिला र चेतकुमारी माझी पहिले नै माओवादीका पूर्णकालीन कार्यकर्ता भइसकेका थिए। उर्मिलाले उनीहरूलाई नै आफू पनि पूर्णकालीन कार्यकर्ता बन्ने रहर सुनाएकी थिइन्। उनीहरूले विद्यालयमै भेटेर आआफ्नो जिम्मेवारी लिने निर्णय गरेका थिए। योजना अनुसार त्यही वर्षको अन्तिम साता उर्मिला विद्यालय जान भन्दै घरबाट निस्केकी थिइन्।
“तर आमाले थाहा पाएर पछि पछि दगुर्दै आउनुभएछ,” उर्मिला त्यो दिन सम्झिन्छिन्। आमाले ‘छोरी तिमीलाई दुःख गरेर भए पनि पढाउँछु, घर छाडेर नजाऊ, त्यहाँ मर्ने-बाँच्ने ठेगान हुँदैन’ भनेकी थिइन्। तैपनि उर्मिला रोकिइनन्। कठोर बनेर उनले जवाफ दिइन्, “तपाईंलाई धन्यवाद आमा। आमा भएपछि तपाईंले यो भन्नु स्वाभाविक हो। तर, अब हामी मरे पनि बाँचे पनि फर्कंदैनौं।”
आफू पढ्ने विद्यालयको चौरमा आमा लीलामाया माझीलाई रुवाउँदै उनी संगठनका साथीहरूसँग ललितपुरतिर लागिन्। ललितपुरको दक्षिण बेल्टमा बसेर उनले पार्टीको जिल्ला कमिटी सदस्य भएर काम गर्न थालिन्। जिल्लाभरका मानिसलाई माओवादी आन्दोलनको उद्देश्य बुझाउँदै सदस्य बनाउने जिम्मेवारी थियो उनको।
बन्दूक साटेर बिहे
त्यसरी भेला र बैठक आयोजना गर्दै हिंड्दा उनको मन संगठनकै कलाकार प्रेमबहादुर तामाङसँग साटियो। २०५९ मंसीरमा पार्टीले नै उनीहरूको विवाह गराइदियो। बन्दूक साटेर विवाह गरेको सम्झँदै उनी भन्छिन्, “उहाँ पनि कलाकार हुनुहुन्थ्यो। म पनि गीत गाउँथें। हाम्रो विवाह पार्टीले नै गरिदियो।”
विडम्बना, दाम्पत्य जीवन लामो समय जान सकेन। २०६० असोज २८ गते मकवानपुरमा प्रहरीको गोली लागेर तामाङ मारिए। गर्भवती भएकाले त्यति वेला उनी आफ्नै घर काभ्रे तेमालमा थिइन्। “असोज २८ मा मारिएका श्रीमान्काे खबर कात्तिक १४ गते मात्रै थाहा पाएँ, मनमनै टुटे पनि एक थोपा आँशु खसाइनँ,” उर्मिला सम्झिन्छिन्।
श्रीमान्को मृत्युको खबर पाएको हप्ता दिनमा उनले छोरी जन्माइन्। त्यसको तीन महीनामै उनी फेरि संगठनमा फर्किइन्।
मकवानपुरमा एरिया इन्चार्ज भएर काम गर्न थालिन्। तीन महीनाकी छोरीलाई ढाडमा मजेत्रोले बाँधेर गाउँ गाउँमा संगठन विस्तार गर्न हिंडेका दिन अहिले पनि स्मृतिपटलमा ताजै छन्।
आँधीहुरीले भरिएका दिन थिए ती। आज एउटा गाउँमा बास हुन्थ्यो, भोलि अर्को गाउँमा। जोश, जाँगर र सपना थियो। त्यही जोशमै उनी १३ महीनाकी छोरीलाई आमाको जिम्मा लगाएर सशस्त्र द्वन्द्वमा होमिइन्।
हृदय फेर्ने भिडन्त
यहाँसम्म आइपुग्दा उर्मिलाले धेरै साथी गुमाइसकेकी थिइन्। श्रीमान् मात्रै होइन, उनलाई पार्टीमा आबद्ध गराउने दिदी पुर्मिला माझीको पनि निधन भइसकेको थियो। तैपनि उनको आस्था कायम नै थियो। सशस्त्र द्वन्द्वबाटै संसार जित्ने सपना ताजै थियो। तर, झुरझुरेको भिडन्तले पहिलो पटक उनलाई सशस्त्र द्वन्द्व अन्त्यको कामना गर्ने बनायो।
२०६२ माघ ८ गतेको बिहान उर्मिला हेटौंडाको फापरबारी झुरझुरेबाट हात्तीसुँडेमा चामल लिन बजार झर्दै थिइन्। जिल्लाको व्यवस्थापन विभागको सदस्य भएकाले फापरबारीमा भएका माओवादी कार्यकर्ताका लागि खानाको व्यवस्थापनको जिम्मा उनको थियो। त्यस दिन आफू बसेको घरमा चामल सकिएपछि बजारतर्फ झरेकी थिइन् उनी।
त्यति वेला हेटौंडामा माओवादीका लागि परिस्थिति भने निकै प्रतिकूल बन्दै गएको थियो। तत्कालीन शाही नेपाली सेना र माओवादीबीच मकवानपुरमा पटक पटक भिडन्त भइसकेको थियो। माघ लाग्दै गर्दा भिडन्तहरू बढिरहेका थिए। माघ ६ गते मकवानपुरबाट सयभन्दा बढीको संख्यामा शाही नेपाली सेना सहितको संयुक्त सुरक्षा टाेली हेटौंडाको दक्षिणतर्फ गस्तीमा निस्किएको थियो। त्यो टोली ७ गते हेटौंडाको हात्तीसुँडे र ८ गते फापरबारी पुगेको थियो। त्यही दिन चामल लिन बजार झरेकी उर्मिलाले सेना र प्रहरी बस्तीमा छिरेकाले फर्केर नआउने आदेश पाइन्। थाहा पाउनासाथ उनले आफ्ना साथीहरूलाई हातेफोनबाट खबर गरिन्, तर सुरक्षाकर्मीको टोली फापरबारीको झुरझुरे पुगिसकेको थियो। त्यहाँ माओवादीका लडाकूहरू बंकरभित्र बसेका थिए। “साथीहरू त्यहाँबाट भागेर तल बेसीतिर झरेछन् र सुरक्षाकर्मीहरू माथि उक्लिएछन्। साँझ पर्नासाथ लडाइँ शुरू भएछ,” उर्मिलाले सुनाइन्।
बेलुकी ६ बजेदेखि राति २ बजेसम्म भएको उक्त भिडन्तबारे उनले हात्तीसुँडेमा नै बसेर जानकारी लिइरहिन्। त्यहाँ क्रियाशील विभिन्न टोलीहरूको नेतृत्व वर्षमान पुन र अग्नि सापकोटाले गरिरहेका थिए। रातभर गोली पड्किएको आवाज सुनेकी उनी बिहानै गाउँकै एक वृद्धलाई लिएर झुरझुरे पुगिन्। उर्मिला सुनाउँछिन्, “बाटोमा भेट भए जतिका गाउँलेले मरे है मरे, न माओवादी रहे, न शाही सेना भनिरहेका थिए।”
उक्त भिडन्तमा २६ जना माओवादी, ६० जना सुरक्षाकर्मी र तीन जना स्थानीयले ज्यान गुमाएका थिए। भिडन्तस्थलमा पुगेपछि उर्मिला झसंग भइन्।
“त्यस वेला आफ्नो ठाउँ नै सक्किए जस्तो लाग्यो। मानिसहरू मरेको देख्दा र गाउँलेहरू शोकमा परेको देख्दा पहिलो पटक मलाई डर लाग्यो,” उनी त्यो त्रासदीपूर्ण क्षण सम्झिन्छिन्। त्यसपछि उनलाई लाग्यो, यो सशस्त्र द्वन्द्व तुरुन्तै रोकिनुपर्छ। कुनै न कुनै हिसाबले देश शान्तिपूर्ण अवस्थामा पुग्नुपर्छ।
पुनः घरजम
त्यो घटनापछि पनि उनको कार्यक्षेत्र मकवानपुर नै रह्यो। राजनीतिक गतिविधि कायम नै थियो। त्यही क्रममा एक दिन उनको भेट भयो पत्रकार सन्तोष पौडेलसँग। काभ्रेस्थित रेडियो गणतन्त्रमा समाचार प्रमुख भएर काम गरिरहेका पौडेल प्रत्याकरण मासिक पत्रिकाका सहसम्पादक पनि थिए। माओवादी आन्दोलनमै संलग्न पौडेलसँग उर्मिलाको मकवानपुरको छत्तिवनमा भेट भयो। झाँगिंदै गएको प्रेम २०६३ सालमा विवाहमा परिणत भयो।
“उहाँले ससम्मान दुई वर्षकी छोरी सहित मलाई स्विकार्नुभयो। मलाई पनि आफ्नो जस्तै विचार राख्ने मान्छे पाएँ भन्ने लाग्यो,” उर्मिला भन्छिन्। विवाहपछि उनी पौडेलको घर लमजुङ गइन्। त्यहाँ पनि राजनीतिक गतिविधिमै सहभागी भइन्। माओवादी लडाकूलाई शेल्टर मिलाउने र सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी थियो उनको।
फेरि राष्ट्रिय राजनीतिमा
नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी)बीच शान्ति सम्झौता भएपछि पार्टीले कार्यकर्ताहरूलाई आआफ्नै गृह जिल्ला फर्कायो। उनी पनि काभ्रे फर्किइन्। पहिलो संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिन चाहन्थिन्, तर टिकट पाइनन्। त्यसबीच उनको राजनीतिक सक्रियतामा केही कमी पनि आयो।
यहीबीचमा माओवादी पार्टी एकपछि अर्को गर्दै टुक्रिंदै गयो। सरकार र सदनको लामो रिले दौड चलिरह्यो। यी सबै दृश्य उर्मिलाले राजनीतिको मैदानबाट नभई छेउकुनामा बसेर हेरिरहिन्।
“दोस्रो विवाहपछि लमजुङमै केही समय पार्टीको शुभचिन्तक भएर रहें,” उर्मिला भन्छिन्, “त्यसबीचमा पार्टी पनि धेरै फुट्यो, तर म भने उहीं रहें।”
यसबीच उनले अर्को सन्तान जन्माइन्। तर, घरमै सीमित हुने उनको रहर थिएन। त्यसैले ‘माझी राष्ट्रिय मुक्ति मोर्चा’ मा आबद्ध भएर लमजुङबाटै राजनीतिक गतिविधिमा सक्रिय हुन थालिन्। त्यही क्रममा माओवादीको काठमाडौं उपत्यका प्रदेश समिति अन्तर्गत रहेर काम गरिन्।
शान्ति सम्झौतापछि कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नपाएकी उर्मिलालाई डेढ दशकपछि लमजुङ प्रदेश कमिटीले प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फ सिफारिश गर्यो।
यसरी फेरि राष्ट्रिय राजनीतिमा फर्किएकी उर्मिला भन्छिन्, “मरे एक्लो ज्यान, जिए सिंगो संसार भनेर काम गरेर आएकी मान्छे हुँ। अब त गर्नुपर्ने एउटै कुरा, काम मात्र हो।”
पूर्व कमान्डरलाई सुझाव
माओवादीमा ६ वर्ष भूमिगत रहेर सक्रिय हुँदासम्म नाम मात्र सुनेकी उर्मिलाले आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो पटक २०६३ सालमा देखेकी थिइन्। शान्ति प्रक्रियामा आएपछि मकवानपुरको चकरीमा लडाकूलाई प्रशिक्षण दिन पुगेका दाहाललाई देखेपछि उर्मिलालाई लागेको थियो, “यसरी देशभरिका जनतालाई आफ्नो आवाज उठाउन सक्ने बनाउने यो व्यक्तिले अवसर पाए धेरै काम गर्छ।”
त्यसपछिका वर्षहरूमा उर्मिलाको त्यो उत्साह र आशा दुवै सेलाउँदै गएको छ। समानताको नारा कतै धूमिल भएको छ। जुन उद्देश्यका लागि सशस्त्र द्वन्द्व लडिएको थियो त्यो पूरा नभएको गुनासो छ उनको। प्रश्न गर्छिन्, “महिला र पुरुष बराबर भन्ने नाराले हामी होमिएका थियाैं, तर आज त्यो कहाँ छ त?”
संघीयता र समावेशीकरणले केन्द्रीकृत राज्यको शासन पद्धतिमा परिवर्तन ल्याए पनि तल्लो तहको जनतासम्म पहुँच र अधिकार नपुगेको अनुभव छ उर्मिलाको। त्यसैले आफ्ना पूर्व कमान्डर, अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री दाहाललाई उनको एउटै सुझाव छ, जनताको स्तरोन्नति र उनीहरूको दैनिक समस्या निराकरणमा ध्यान दिनुपर्यो। भन्छिन्, “राजनीतिमा सबैको पहुँच भयो होला, तर जनताको स्तरोन्नति र उनीहरूका समस्यामाथि काम भएको छैन।”
साथै, उनी माओवादी संघर्षका क्रममा निधन भएकालाई राष्ट्रिय शहीद घोषणा गर्न र घाइतेहरूको जीवनभर व्यवस्थापन गर्न सुझाउँछिन्। उनी भन्छिन्, “हिजो प्रचण्डले आफ्नो कार्यकर्ता र पूर्व लडाकूहरूलाई सम्बोधन गर्न नसक्दा पार्टी टुक्रियो, अब त्यो गल्ती नहोस्।”