प्रतिनिधि सभाले आज सभामुख चयन गर्दै‚ घिमिरे र न्यौपानेबीच प्रतिस्पर्धा
प्रतिनिधि सभाले आज सभामुख चयन गर्दै छ। सभामुखका लागि नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेबीच प्रतिस्पर्धा हुँदै छ।
घिमिरे झापा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। कैलालीकी न्यौपाने समानुपातिकतर्फ विजयी भएकी हुन्। सभामुख चयनका लागि माघ ५ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।
घिमिरेको प्रस्तावकमा एमालेका सांसद सुवासचन्द्र नेम्बाङ रहेका छन्। समर्थकमा नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देन रहेका छन्।
यस्तै‚ न्यौपानेको प्रस्तावकमा कांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वाला रहेका छन्।
अहिले सत्तारूढ गठबन्धनमा एमालेका ७८, नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन्। विपक्षमा कांग्रेसका ८९, जनता समाजवादी पार्टीका १२, नेकपा (एकीकृत समाजवादी)का १० र लोकतान्त्रिक समाजवादी पार्टीका चार सांसद देखिएका छन्। त्यस्तै, प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसानका पार्टीका एक–एक र पाँच जना स्वतन्त्र सांसद छन्। कांग्रेसका एक सांसद निलम्बित भएकाले ८८ जनाले मात्र मतदान गर्न पाउँछन्।
प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। सभामुख चयनमा बहुमत ल्याउनुपर्नेछ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक छ।