रैथाने बाली जोगाउन प्रदर्शनी (तस्वीरहरू)
रैथाने खाद्य संस्कृतिलाई प्रवर्द्धन गर्न ‘राष्ट्रिय जैविक कृषि विविधता सप्ताह’ अन्तर्गत कृषि जैविक विविधता एवं रैथाने बाली उपज प्रदर्शनी आयोजना गरिएको छ।
कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले बुधबार आयोजना गरेको प्रदर्शनीमा देशका विभिन्न स्थानका कृषि समूहको सहभागिता रहेको थियो। परम्परागत कृषि ज्ञानलाई प्रवर्द्धन गर्न प्रदर्शनी आयोजना गरिएको केन्द्रले जनाएको छ।
प्रदर्शनीमा धानका विभिन्न जात, कोदो, कागुनो, गेडागुडी र तेलहनका उत्पादन राखिएका थिए। प्रदर्शनीको उद्देश्य रैथाने बालीको प्रवर्द्धन गर्नु रहेको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले बताए।
सरकारले २०७९ वर्षलाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष मनाउने घोषणा गरेसँगै माघ १ देखि ७ गतेसम्म राष्ट्रिय जैविक विविधता सप्ताह मनाइँदै छ। “स्थानीय किसानका उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन र हाम्रो पनि रैथाने चिज अन्तर्राष्ट्रियकरण गर्ने हाम्रो प्रयास हो,” जीन ब्यांकका प्रमुख बालकृष्ण जोशीले भने, “यसका लागि कृषि उपजको पहिचान गर्ने सचेतना जगाउन यो प्रयास थालेका हौं।”
कार्यक्रममा राष्ट्रिय जैविक विविधता वर्षको लोगो प्रतिस्पर्धाका विजयी भक्तपुरका जगतराम सुकुभाइलाई नगद एवं प्रमाणपत्रले सम्मानित गरियो भने कास्कीको जैविक स्रोत संरक्षण अभियानलाई रैथाने बालीको प्रवर्द्धनमा पुर्याएको योगदानका लागि प्रशंसापत्र प्रदान गरिएको छ। साथै, रैथाने कृषि उपजको उत्पादनलाई अग्रसर गराएको मकवानपुरगढी गाउँपालिकालाई पनि प्रशंसापत्र प्रदान गरिएको छ।