पोखरा विमान दुर्घटना: सेती खोचमा सन्नाटा (तस्वीरहरू)
विमान दुर्घटना भएको पोखरा-१५ स्थित मितेरी पुल नजिकैको सेती खोचमा अझै पनि सुरक्षाकर्मी र स्थानीय बासिन्दाले यात्रुको खोजी गरिरहेका छन्।
काठमाडौंबाट माघ १ गते बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती एअरलाइन्सको ‘९एन-एएनसी’ विमान बिहान १०ः५० बजे सेती खोचमा दुर्घटना भएको थियो। दुर्घटना हुने बित्तिकै विमानमा आगो लागेको थियो। दुर्घटनास्थलमा अझै पनि धुवाँको गन्ध आइरहेको छ।
जहाजका अवशेष छरपस्ट छन्। पाटपुर्जा, यात्रुका सरसामान र कपडा पनि घटनास्थल वरिपरि नै देखिन्छन्।
दुर्घटनाको अनुसन्धानका लागि विज्ञहरू घटनास्थल ओहोरदोहार गरिरहेका छन्। सरकारले बनाएको जाँचबुझ आयोग र फ्रान्सबाट आएको एटीआर विमान कम्पनीको टोली अध्ययनमा जुटेको छ।
दुर्घटनामा ७० जनाको ज्यान गएको पुष्टि भएको छ। जहाजमा चार जना चालक दलका सदस्य र ६८ यात्रु सवार थिए। अझै दुई जना हराइरहेका छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।