तत्काल सरकारमा नजाने जसपाको निर्णय
जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा नजाने भएको छ।
बुधबार बसेको जसपा संसदीय दलको बैठकले तत्काल सरकारमा नजाने निर्णय गरेको हो। सरकारलाई निर्माणका लागि समर्थन दिएको भए पनि तत्काल सरकारमा नजाने निर्णय भएको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन जसपाले पनि समर्थन जनाएको थियो। त्यससँगै प्रतिनिधि सभामा प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि दिएको थियो।
त्यस्तै, जसपाले सभामुखको निर्वाचनका विषयमा नेपाली कांग्रेससँग छलफल गर्ने भएको छ। संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रकाश अधिकारीलाई छलफलको जिम्मा दिएको छ। प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्।