कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी
नेपाली कांग्रेसका तर्फबाट ईश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दिएकी छन्।
सांसद न्यौपानेले बुधबार अपराह्न नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुखको उम्मेदवारी दर्ता गराएकी हुन्। न्यौपानेको प्रस्तावकमा कांग्रेस सांसद विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वाला रहेका छन्।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी न्यौपाने कैलालीबाट सांसद बनेकी हुन्।
यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। त्यस्तै, कांग्रेस पदाधिकारी बैठकले पनि विपक्षी दलको सहमतिमा उम्मेदवारी दिने निर्णय गरेको थियो।
त्यस्तै, सभामुखमा नेकपा (एमाले)का सांसद देवराज घिमिरेले यसअघि नै उम्मेदवारी दिइसकेका छन्। घिमिरेलाई सत्तारुढ गठबन्धनमा रहेका दलको समर्थन छ।
अहिले सत्तारुढ गठबन्धनमा एमालेका ७८, नेकपा (माओवादी केन्द्र)का ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन्।
विपक्षमा कांग्रेसका ८९, जनता समाजवादी पार्टीका १२, नेकपा (एकीकृत समाजवादी) का १० र लोकतान्त्रिक समाजवादी पार्टीका चार सांसद देखिएका छन्। त्यस्तै, प्रतिनिधि सभामा राष्ट्रिय जनमार्चो र नेपाल मजदूर किसानका पार्टीका एक–एक र पाँच जना स्वतन्त्र सांसद छन्।
सभामुख चयनका लागि माघ ५ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।