फ्रान्सेली टोलीले थाल्यो विमान दुर्घटनाको अध्ययन
फ्रान्सबाट आएको एटीआर विमान निर्माता कम्पनीको टोलीले यती एअरलाइन्सको विमान दुर्घटनाको अध्ययन शुरू गरेको छ।
विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली माघ ३ गते नेपाल आइपुगेको थियो। फ्रान्सेली टोलीले बुधबार घटनास्थलको अवलोकन गरेको छ। नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएकाले विमान कम्पनीले नै चासो देखाएर अध्ययन टोली पठाएको जनाइएको छ।
त्यस्तै, सरकारले गठन गरेको जाँचबुझ आयोगले पनि अनुसन्धान थालेको छ। पूर्व सचिव नागेन्द्र घिमिरे नेतृत्वको पाँच सदस्यीय आयोगले बुधबारदेखि अध्ययन शुरू गरेको जनाएको छ।
विमान दुर्घटनामा अझै दुई जना हराइरहेका छन्। सुरक्षाकर्मीको टोलीले खोजबिनको क्रममा शरीरका दुई वटा भाग भेटेको थियो। दुर्घटनास्थलमा भेटिएका शरीरका भाग पनि पोस्टमार्टमका लागि बुधबार काठमाडौं पठाइएका छन्।
माघ ३ गते भेटिएका शरीरका दुई वटा भाग पोस्टमार्टम र डीएनए परीक्षणका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका निमित्त सूचना अधिकारी ज्ञानबहादुर खड्काले बताए। पहिल्यै भेटिएका यात्रुको हो कि हराइरहेका यात्रुको हो भन्ने यकीन नभएको खड्काको भनाइ छ।
माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको ‘९एन–एएनसी’ विमान पोखराको सेती खोंचमा दुर्घटना भएको थियो। दुर्घटनामा ७० जनाको मृत्यु भएको छ। विमानमा चार जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए। दुर्घटनामा अझै दुई जना हराइरहेका छन्।