एमालेका देवराज घिमिरेले दिए सभामुखमा उम्मेदवारी
नेकपा (एमाले)का सांसद देवराज घिमिरेले सभामुखमा मनोनयन दर्ता गरेका छन्।
झापा-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेले बुधबार दिउँसो १:०५ बजे उम्मेदवारी दर्ता गरेका हुन्। घिमिरे सत्ता गठबन्धनका उम्मेदवार हुन्।
घिमिरेको प्रस्तावकमा एमालेका सांसद सुवासचन्द्र नेम्बाङ रहेका छन्। यस्तै‚ समर्थकमा नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देन रहेका छन्। सभामुख पदका लागि प्रतिनिधि सभाको माघ ५ गते बिहीबार बस्ने बैठकमा मतदान हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ।