नारायणगढ-मुग्लिन सडक फेरि दैनिक चार घण्टा बन्द हुने
नारायणगढ-मुग्लिन सडकको काम नसकिएपछि अझ एक महीनासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ।
दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम जारी रहने भएको छ। गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिंदै आएको थियो। यही माघ ५ गतेबाट थप ३० दिन दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालय, चितवनले बुधबार आयोजना गरेको सरोकारवालाको बैठकले काम नसकिएपछि थप ३० दिन समय दिएको हो। प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महीना दिउँसो बाटो बन्द गर्ने निर्णय भएको बताए।
नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार, सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ। निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्ता काट्ने काम सकिएको छ।
आचार्यका अनुसार, सिमलताल, काली खोला र नाम्ची खोलाको पुलको काम सकिएको हो। चिसेन्जी र तुइन खोलाको पुलको भित्ता काट्न बाँकी छ। तुइनको दायाँपट्टिको भित्ता ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ। देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ। तुइनको भित्ता ४५ मिटर अग्लो चट्टानी भीर रहेकाले काम गर्न कठिन भएको जनाइएको छ।
आयोजनाका प्रमुख किरण कार्कीका अनुसार, यी पुलसँगै काम थालिएका नौ वटा पुल बनिसकेका छन्। यसअघि नै पाँच वटा पुल बनिसकेका थिए। पाँच पुल निर्माणाधीन छन्। एउटा पुलको जगमा ६ घरटहरा रहेकाले राहत रकम निकासा नहुँदा काम थाल्न नपाएको कार्कीले बताए।
यस्तै, अन्य पुल रहेका ठाउँमा २० घरटहरा रहेका छन्। ती हटाउन रु.एक करोड हाराहारी राहत दिनुपर्ने हुन्छ।
२०७६ चैत १० गते ३३ महीनामा सम्पन्न गर्ने गरी रु.एक अर्ब २५ करोडमा ठेक्का दिइएको थियो। सम्झौताको भोलिपल्टबाट कोभिड देखिएकाले काममा अवरोध पुगेको ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले बताउँदै आएको छ। पुस ९ गते सम्झौता अवधि सकिएको छ। निर्माण कम्पनीले थप एक वर्षको समय माग गरेको छ।
सडकको चौडाइ नौदेखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिला बनाइएका छन्। (रासस)