दुई विलक्षण बहादुर
पुस २१ गते जन्मिए हर्क गुरुङ र माघ ४ गते डोरबहादुर विष्ट। यी दुवै धरोहरको जन्मदिनलाई लोकले कसरी सम्झिएला, लेखक वसन्त थापाले भने यसरी शब्दश्रद्धा अर्पण गरेका छन्।
नेपाली शब्दकोशमा तुर्की भाषाबाट आएको भनिएको ‘बहादुर’ शब्दलाई नेपाली जिब्राले कहिलेदेखि टिप्यो र यसलाई स्थायी बास दियो थाहा भएन। तर, यो नेपाली लोकजीवनसित एकदमै जोडिएको शब्द हो जसको अर्थ हुन्छ- शूरवीर, साहसी, बलवान्, पराक्रमी, आँटिलो आदि। जस्तो- लडाइँमा सुरो भएकाले गोर्खालीहरू समग्रमा बहादुर भनेर चिनिन्छन्। तर, यहाँ मैले चर्चा गर्न लागेको यस्ता दुई व्यक्तिबारे हो जसको नाममा नै बहादुर जोडिएको थियो र जसले नेपालको बौद्धिक आकाशमा उज्ज्वल नक्षत्रका रूपमा स्थायी स्थान बनाएका छन्। सीमित समयका लागि भए पनि यी दुई महामनाको सान्निध्यमा रही काम गर्ने र त्यस सिलसिलामा केही सिक्ने मौका पाएको थिएँ। ती हुन्, डा. हर्कबहादुर गुरुङ र प्राध्यापक डोरबहादुर विष्ट।
यिनमा मेरो साक्षात्कार कोसित पहिले भयो म यसै भन्न सक्दिनँ। लगभग एउटै समयतिर हुनुपर्छ। प्राज्ञिक ओजका कारण सार्वजनिक जीवनमा ख्याति कमाइसकेका यस्ता व्यक्तिबारे दुई-चार अक्षर पढेको कुनै पनि मानिस अनभिज्ञ रहन सक्ने कुरै थिएन। स्वभावतः म पनि परिचित थिएँ उनीहरूको सार्वजनिक छविबारे। कवि विमल निभाले ‘देब्रे कुना’ रोजे जस्तै मैले पनि विद्यार्थी जीवनमा ‘देब्रे पथ’ रोजेको थिएँ। विद्यार्थी जीवनको सम्पूर्ण समय त्यही पथको अनुगमन, अनुसरण र अनुसन्धानमा बिताएको थिएँ।
त्यसैले म हिंडिरहेको पथले मलाई घाघडान मानवशास्त्री भनेर चिनिएका डोरबहादुर र घाघडान भूगोलविद् हर्कबहादुर गुरुङलाई भेट्ने र चिन्ने ठाउँमा पुर्याउँदैनथ्यो। त्यसमाथि विश्वविद्यालय पढ्दै छु भन्ने बहाना सकिएपछि काठमाडौंमा टिकिखान द राइजिङ नेपालको ‘वान्टेड’ विज्ञापनले देखाएको नोकरीको पोखरीमा बल्छी हाल्दै दिन काटिरहेको थिएँ। यस्तो बेरोजगारले ती स्वनामधन्य विद्वान्हरूसित भेट्न सक्ने कुनै सम्भावना थिएन।
तर, जीवनपथ बडो घुमाउरो, बाङ्गोटिङ्गो हुन्छ, अनेक मोड र घुम्तीले भरिएको। कुन मोडमा, कुन घुम्तीमा कसरी र कोसित भेट हुन्छ भन्नै सकिन्न। जीवनका यस्तै अनपेक्षित घुम्तीमा मेरो भेट भएको थियो यी दुई दिग्गजसित।
भोकले खँगारिएको मानिसलाई मीठो-नमीठो, बासीसासी केही कुराको मतलब हुँदैन, खान पाए पुग्छ। त्यस्तै मलाई चाहिएको थियो कुनै एउटा नोकरी या कमाइ गर्ने आधार। सामुन्ने आएको थियो, टुरिस्ट गाइडको तालीम लिने अवसर र त्यसलाई मैले हत्त न पत्त समातेको थिएँ।
सन् १९७६ को शुरूतिरको कुरा हो यो। अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा सरकारले चलाएको त्यस तालीमका प्रशिक्षकहरूमा त्यस वेला नाम चलेका आआफ्ना विषयका दिग्गज विद्वान् थिए। पौराणिक इतिहास र धर्मदर्शनमा डा. हितनारायण झा, भूगोलमा डा. मंगलसिद्धि मानन्धर, कला विषयमा लैनसिंह बाङ्देल, संस्कृतिमा सत्यमोहन जोशी, मन्दिरहरूको वास्तुशिल्प र प्रतिमाशिल्पको इतिहासमा मनवज्र वज्राचार्य अनि मानवशास्त्रमा डोरबहादुर विष्ट प्रभृति। ती विद्वान्को विषयगत ज्ञानबाट बोध भयो, आफ्नो देशबारे कुन अज्ञानताको सागरमा डुबेको रहेछु भन्ने।
हिमालय र पर्वतारोहण विषयक डा. गुरुङको जति अध्ययन र जानकारी थोरैलाई थियो। धेरैलाई थाहा नहोला, एउटा अन्तर्राष्ट्रिय आरोहण टोलीमा सामेल भएर उनी सगरमाथाको पहिलो शिविरसम्म पुगेका थिए।
म महेन्द्र कलेज, धरानमा बीए पढ्दै गर्दा डोरबहादुरको मोटो गाताको किताब पिपल अफ नेपाल घोपा क्याम्पमा एक जना दाइले देखाएका थिए। अंग्रेजी भाषामा सीमित पकडका बावजूद एक अपराह्न त्यस किताबसित पूरै लड्डी गरेको थिएँ। त्यही किताबका लेखकले पढाउँदै थिए हामीलाई नेपालको मानवशास्त्र। त्यस तालीममा उनले मानवशास्त्र पढाउँदाको प्रसङ्ग मैले यसअघि अन्यत्र लेखिसकेको छु।
उता मैले मासिक वेतन पाइने नोकरीका लागि पनि दरखास्त हालिराखेको थिएँ। यता गाइडको तालीम के सकियो, उता अन्तर्वार्ताबाट नयाँ नोकरी पनि मिल्यो ट्राभल एजेन्सीहरूको संस्थाको अफिस सेक्रेटरीमा। काम लेखनदासको थियो, जुन मेरा लागि गाह्रो थिएन। त्यही लेखनदासे सीपले मलाई नेपाल पर्वतारोहण संघको सचिवालयको कामसित जोड्यो। त्यहाँको धागोले फेरि जोड्यो हिमालय उद्धार संघसित। यी दुवै संस्थामा कुनै न कुनै तरीकाले जोडिएका थिए डा. हर्क गुरुङ।
पर्वतारोहण संघले सरकारबाट साना उचाइका १८ वटा हिमचुलीको आरोहण अनुमति दिने अधिकार नै पाएको थियो हर्क गुरुङका कारण, उनी पहिलो पर्यटन मन्त्री (खासमा राज्यमन्त्री) भएका बखत। संघको काममा वेलाबखत जानुपर्यो उनलाई भेट्न रविभवनमा रहेको मन्त्रालयमा।
सन् १९८२ मा अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको साधारणसभा काठमाडौंमा सम्पन्न भयो। त्यसको आयोजना सम्बन्धी कार्यमा मेरो खटान देखेर डा. हर्कलाई केटो कामको रहेछ भन्ने लागेको हुनुपर्छ, जसले गर्दा वेलाबखत कुनै कामका लागि मलाई सम्झने र बोलाउने गर्थे।
मैले नोकरी र पेशा बदलिरहें। तर, पर्वतारोहण संघसितको सम्बन्ध कायम राखिराखें। त्यसको कार्यसमितिको सदस्य र पछि सचिव समेत भएँ। संघसितको संलग्नताले डा. हर्कसितको सम्बन्ध झनै कसिलो बनायो। केही पर्दा दौडेर जाने आफ्नो ठाउँ भनेकै डाक्टर साहेब थिए। मेरा लागि उनै थिए एक मात्र मार्गदर्शक, सल्लाहकार र संरक्षक। हिमालय र पर्वतारोहण विषयक उनको जति अध्ययन र जानकारी थोरैलाई थियो। धेरैलाई थाहा नहोला, एउटा अन्तर्राष्ट्रिय आरोहण टोलीमा सामेल भएर उनी सगरमाथाको पहिलो शिविरसम्म पुगेका थिए।
पछि मैले हिमाल द्वैमासिक (शुरूमा त्रैमासिक) नेपाली पत्रिकाको सम्पादन गर्न थालेपछि भने धेरजसो लेख्ने र छपाउने कामका लागि मलाई सम्झन्थे डा. हर्क। उनी एशिया एन्ड प्यासिफिक डेभलपमेन्ट सेन्टरको निर्देशक भएर पाँच वर्ष क्वालालम्पुरमा रहँदा नेपाल सम्बन्धी पुस्तक लेख्न उनले मागेका किताब, पत्रपत्रिका, म्यागेजिन आदि बटुलेर पठाउने जिम्मा मेरो थियो।
उनको हस्तलिखित पत्र फ्याक्स मार्फत आउँथ्यो, बुँदागत निर्देशन आधासरो अंग्रेजी र आधासरो नेपालीमा लेखिएको। दुवै भाषामा उनको लेखाइ सुन्दर थियो। उनको बानी थियो, जहिल्यै पनि ग्रेगोरियन पात्रोको तारीख प्रयोग गर्ने अनि अङ्क चाहिं अंग्रेजीमा लेख्ने। फ्याक्सका ती पाना मैले सँगालेर राखेको थिएँ। तर, फ्याक्सको अक्षर फोटोकपी जस्तो नभई उडेर जाँदो रहेछ।
क्वालालम्पुर बसाइको प्रतिफलस्वरूप उनका दुई पुस्तक निस्किए- नेपाल सोसल डेमोग्राफी एन्ड एक्सप्रेसन र फेसेज अफ नेपाल। पहिलो पुस्तक ‘न्यु एरा’ ले प्रकाशन, दोस्रो हिमाल एशोसिएशनले। डा. हर्क उतै रहेकाले दुवै पुस्तक प्रकाशनको चाँजोपाँजो मिलाउने जिम्मा मेरो काँधमा आइपरेको थियो। फेसेज अफ नेपाल सन् १९९१ को जनगणनाको सन्दर्भ दिंदै लेखिएको नेपालका जातजातिको चिनारी थियो, जसमा समाविष्ट थिए ब्रिटिश चित्रकार ज्यान साल्टरका पेन्टिङ र स्केच। सन् २००५ मा ‘हिमाल किताब’ प्रकाशन कम्पनी अस्तित्वमा आएपछि त्यस अन्तर्गत डा. हर्कको एटलस अफ नेपाल छापियो, जुन त्यस किसिमको पहिलो पुस्तक थियो।
हिमाल किताबकै लागि उनले लाहुरेका कथा, डोरबहादुर विष्टको सबै जातको फूलबारी र वारियर जेन्टलम्यान पुस्तकको परिचय पनि लेखिदिएका छन्। विभिन्न विषयउपर उनका विचार मन्थन, यात्रा संस्मरण, प्रवचन र भाषणहरू संगृहीत विषय विविध पुस्तकको तयारी उनको जीवनकालमै थालिएको भए पनि उनको देहावसानपछि मात्रै प्रकाशन हुन सक्यो। नेपाल भूखण्डमा उनले गरेको पैदल यात्राको रोचक विवरणयुक्त डा. हर्कको पुस्तक भिन्यात्स् अफ नेपालको नेपाली अनुवादमा म काम गरिरहेको थिएँ, ताप्लेजुङको घुन्सामा हेलिकोप्टर दुर्घटनामा परी उनको देहान्त हुँदा। अनुवादको त्यो पुस्तक मैले देखेको नेपाल शीर्षकमा उनको पहिलो वार्षिकीको अवसरमा २३ सेप्टेम्बर २००७ मा उनको जन्मथलो तराँचे नजिकको ङादीमा विमोचन गरिएको थियो। यी त केवल उदाहरण हुन्, उनले अरू कैयन् पुस्तक र मोनोग्राफ लेखेका छन् जसको फेहरिस्त लामो छ।
भूगोल विषयमा विद्यावारिधि गरेर सबैको आदर आर्जन गर्न समर्थ योजनाविद्मा रूपान्तरित भएका एक असली विद्वान् थिए डा. हर्क। नेपालको आर्थिक रूपान्तरण तथा राज्य पुनःसंरचनाबारे स्पष्ट र मौलिक धारणा अघि सार्नेमा पर्थे उनी। पञ्चायतकालमा ल्याइएको विकास क्षेत्रको अवधारणा उनैको दिमागी कसरतको परिणाम थियो भनिन्छ। उनको संयोजकत्वमा गठित समितिले सन् १९८० दशकको मध्यतिर तयार पारेको आन्तरिक तथा अन्तर्राष्ट्रिय बसाइँसराइ सम्बन्धी प्रतिवेदन ठूलो विवादको विषय बन्न पुगेको थियो। उनलाई फाँसी दिइनुपर्छ भन्ने हदको विरोध आएको थियो।
भारतीय आप्रवासीको बढ्दो संख्या, सीमा व्यवस्थाको आवश्यकता जस्ता विषय समेटिएको त्यो प्रतिवेदन विशेषज्ञ विद्वान्हरूको टोलीले तयार पारेको थियो, तर टोलीको संयोजक डा. हर्क भएको र त्यसमाथि ‘गुरुङ प्रतिवेदन’ भन्ने बिल्ला लागेका कारण सारा राजनीतिक आक्रोशको तारो बनेका थिए उनी। आफ्नो अडानमा उनी टसमस भएनन्। धमिलो राजनीतिले गर्दा आज महत्त्व धमिलिए पनि त्यो प्रतिवेदनको सन्दर्भ फेरिएको छैन।
उनका पेवा विषय थिए हिमालय, पर्वतीय पर्यटन र पर्वतारोहणको इतिहास। पछिल्लो कालमा नेपालको जातीय विविधता, जनसांख्यिक बनोट र समावेशीकरणको मुद्दाप्रति उनको विशेष दृष्टि गएको थियो र त्यसको मिहिन अध्ययनमा उनी लागेका थिए।
उनको घरमा जाँदा जहिले पनि आफ्नो अध्ययन कक्षमा बायाँ हातले चुरोट तान्दै दायाँ हातले लेखिरहेका भेटिन्थे। सबै काममा उनको बायाँ हात चल्थ्यो, टेनिस पनि बायाँ हातले नै खेल्थे। तर, लेख्दा दायाँ हातले कलम समाउँथे। होचो टेबलमा फिँजाएर राखिएका आफूले लेखेका नवीन पुस्तक र मोनोग्राफहरू यो हेर्यौ, यो पढ्यौ भनेर देखाउँथे। हरेक कुराको लिखित टिपोट राख्ने र चाहेको वेला फुत्त निकाल्न सक्ने। आफू पहिले गइसकेका ठाउँको पहिलेको टिपोटलाई हालको टिपोटसित भिडाएर हेर्ने। देखिएका परिवर्तनहरूको विश्लेषण गर्ने। यस्तो उनको बानी थियो। निजी कार्यशैली अत्यन्त संगठित, व्यवस्थित थियो उनको।
उनको उत्पादनशीलता र क्रियाशीलतालाई हेर्दा लाग्थ्यो रचनात्मकताको चरमोत्कर्षमा थिए, जुन समयमा उनी बिते। अझै कैयौं वर्ष बाँकी थिए उनले बिताउन सक्ने सक्रिय बौद्धिक जीवनको। नयाँ नेपालको सुयोग्य र सर्वसम्मत राष्ट्रपति हुन सक्ने हैसियत थियो डा. हर्कको।
अब अघि मैले टुरिस्ट गाइडको तालीममा पढाउँदा पढाउँदै छाडेका डोरबहादुर विष्टतिर फर्कौं। जीवनयापनको आपाधापीमा मैले समातेको मार्गको मुकाम प्राज्ञिक थिएन। यसैले प्राध्यापक विष्टसित फेरि मेरो जम्काभेट झण्डै २० वर्षसम्म भएन। यसबीच बौद्धिक र प्राज्ञिक क्षेत्रमा उनको नाम चर्चाको चुलीमा थियो, सन् १९९४ मा प्रकाशित उनले अंग्रेजीमा लेखेको पुस्तक फेटलिज्म एन्ड डेभलपमेन्टका कारण। कोही त्यस पुस्तकको निचोडको पक्षमा थिए, कोही विपक्षमा।
जसरी सन् १९९४ मा बसाइँसराइको प्रतिवेदन बाहिर आएपछि डा. हर्क विवादको तारो बनेका थिए ठीक त्यसरी नै त्यसको १० वर्षपछि प्रा. विष्ट विवादित भएका थिए। बाहुनहरूले भाग्यवादी दर्शनको प्रतिपादन गरेर त्यसलाई नेपाली समाजमा लादेका हुनाले नै नेपालमा विकास पछाडि परेको उनको त्यस शोधग्रन्थको निचोड थियो।
त्यसमाथि नेपालका शाह राजाहरू मगर जातिका सन्तान हुन् भन्ने उनको अभिव्यक्ति पनि आएको थियो। त्यो नौलो कुरा नभई अरू इतिहासकारहरूले पनि भनेकै कुरा थियो। तर, यी कुराबाट एकथरी मानिस आगो भएर उनीमाथि खनिएका थिए। उनलाई बाहुनविरोधी र ब्राह्मणसंहारक भन्ने आरोप लागेको थियो।
यस्तैमा हिमाल एशोसिएशनले मेरो सम्पादकत्वमा नेपाली भाषामा त्रैमासिक पत्रिका निकाल्ने भयो। त्यसको पहिलो अङ्कको विमोचन समारोहमा प्रा. विष्टलाई प्रमुख अतिथि र प्रवचनकर्ताका रूपमा बोलायौं। गाइड तालीमका वेलाको खुकुलो गुरु-चेलाको सम्बन्ध त्यसपश्चात् पुनःस्थापित भयो। पुनःस्थापित मात्र भएन, छोटो समयमै निकै गाढा रूप लियो त्यस सम्बन्धले। उनका विचार र लेखबारे हिमाल पत्रिकालाई प्राप्त हुन आएका पाठक प्रतिक्रिया उनलाई पठाइदिन्थें। फोनबाट पनि म उनलाई कुनै न कुनै कुरामा झिझ्याइरहन्थें। कामै लिएर झम्सीखेलस्थित उनको निवासमा पनि पुगेको छु तीन-चार पटक। उनी निकै प्रभावित थिए हिमालको विषय प्रस्तुति र परिष्कृत भाषाबाट। म उत्साहित थिएँ उनको प्रोत्साहन र सान्निध्यबाट।
मैले फेटलिज्म एन्ड डेभलपमेन्टलाई नेपालीमा अनुवाद गर्ने प्रस्ताव गरें। उनले आफैंले पनि नेपालीमा उल्था गर्ने चेष्टा गरिरहेको बताउँदै ‘तर तपाईंले गरे हुन्छ’ भने। त्यस भेटपछि उनी जुम्लातिर लागे, जहाँको चौधबिसा भन्ने ठाउँमा उनले व्यावहारिक अध्ययन-अनुसन्धान अघि बढाइरहेका थिए कर्णाली इन्स्टिच्यूट नामक संस्था खोलेर। पुस्तकको पहिलो अध्यायको अनुवाद गरेर त्यो उनलाई देखाउन म अधीरतासाथ पर्खिरहें। तर, उनले भनेको समयमा उनी काठमाडौं फर्केनन्। बरु उल्टो उनको सोधखोज गर्दै हिमाल अफिसमा जुम्लाबाट कसैको फोन आयो। त्यसैले उनी एकाएक बेपत्ता भएको समाचार छाप्ने खण्ड आइपर्यो हिमालमा र छापियो पनि टिप्पणी सहित ‘कहाँ हराए डोरबहादुर?’ शीर्षकमा। उनी जनवरी १९९६ मा बेपत्ता भएका थिए।
दुई पटक पुगेको छु म चौधबिसा। पहिलो पटक सन् १९९७ मा रारा ताल घुम्न जाने सिलसिलामा र दोस्रो चोटि केसाङ छेतेनले प्रा. विष्टबारे कास्टअवे मेन नामक डकुमेन्ट्री बनाउँदा सन् २०१३ मा। त्यस डकुमेन्ट्रीमा केसाङले मलाई प्रा. विष्टको पाइला पछ्याउँदै उनी गएको र काम गरेको ठाउँमा उनलाई खोज्दै हिंडेको देखाएका छन्। पहिलो पटक चौधबीसा गएर मैले हिमालमा लामो रिपोर्ताज लेखेको थिएँ ‘डोरबहादुर विनाको चौधबीसा’ शीर्षकमा।
प्रा. विष्टले मानवशास्त्र सम्बन्धी विषयक गहन प्राज्ञिक लेखरचना र पुस्तकका अतिरिक्त कथाकहानी र उपन्यास पनि लेखेका थिए। उनी हराएपछि उनका कृतिहरू सकेसम्म उधिनेर निकाल्दै तिनको प्रकाशन गर्ने उद्देश्य अनुरूप हिमाल किताबले उनका सबै जातको फूलबारीलाई पुनःसम्पादन गरेर ज्यान साल्टरका मुहारचित्रहरू सहित नयाँ कलेवरमा छाप्यो। त्यसै गरी अप्राप्य रहेको सोताला उपन्यास परिमार्जित स्वरूपमा पुनःप्रकाशन गर्यो। पहिले प्रकाशित छरिएर रहेका र अप्रकाशित कथाहरूको सँगालो पनि डोरबहादुर विष्टका कथाहरू शीर्षकमा ल्यायो।
एकाधिक कारणले लामो समय अड्किएर बसेको फेटलिज्म एन्ड डेभलपमेन्टको नेपाली अनुवाद भाग्यवाद र विकास पनि आखिरमा निस्कियो। माथि उल्लिखित पुस्तकहरूको सम्पादन र प्रकाशन कार्यमा सहभागी हुन पाउनु र उनको चर्चित तथा विवादास्पद अंग्रेजी पुस्तक फेटलिज्म एन्ड डेभलपमेन्ट नेपालीमा उल्था गर्न पाउनु व्यक्तिगत तवरमा मेरा लागि ठूलो सन्तोषको विषय बनेको छ।
नेपाली समाजको पछौटे र अविकसितपनको जिम्मेवार बाहुनवादबाट पोषित भाग्यवाद हो भन्ने मतको जुन प्रस्थापन प्रा. विष्टले गरेका छन्, त्यसउपर असहमत हुन नसकिने होइन र वैकल्पिक निष्कर्ष पनि अघि सार्न सकिन्छ। त्यसलाई विना कुनै जिरह पूर्णतः स्वीकार गरिनुपर्छ भन्ने छैन, न त्यो अकाट्य र अन्तिम सत्य हो। ज्ञानको परिसीमाको विस्तार मतमतान्तर, जिरह र वादप्रतिवादबाट नै हुन्छ। तर, उनले प्रतिपादन गरेको मत या सिद्धान्तप्रति असहमति राख्नेले पनि ‘बाहुनवाद’ र ‘भाग्यवाद’ शब्दलाई उनले नेपाली जिब्रामा डामेर गएको तथ्यलाई चाहिं नमानी सुख छैन। नेपाली शब्दभण्डारमा यी शब्दावली मिल्काउन नसकिने गरी टाँसिन गएका छन्।
प्रा. विष्टको अनुसन्धान र चिन्तनको निष्कर्ष प्रवाह विपरीत पौडने उनको आँट र हिम्मतबाट निस्केको थियो। उनले यो मतको ढुङ्गा यथास्थितिवादको शान्त तलाउमा हानेर गए, जसबाट नेपाली समाजमा पछिसम्म पनि लहर उत्पन्न भइरहनेछ। उनी एक अर्थमा प्रतिमाभञ्जक थिए, जस्तो डा. हर्क थिए।
डा. हर्क ६७ वर्षमै बिते। प्रा. विष्ट ७० टेक्दानटेक्दै हराए। नेपालीहरूको सरदर आयु लम्बिएको आजको सन्दर्भमा दुवैको उमेरलाई कम मान्नुपर्छ। दुवैबीच अर्को समानता पनि पाइन्छ। एमए पास नगरी बीएपश्चात् डिप्लोमै टेकेर हर्क गुरुङ भूगोल विषयमा विद्यावारिधि गर्ने पहिलो नेपाली बने (पीएचडी गर्नेमा उनी नेपालकै पहिलो व्यक्ति थिए भनी लेखेको पनि देखेको छु कतै) र डोरबहादुर विष्ट मानवशास्त्रको पहिलो नेपाली प्राध्यापक बने (त्यसैले नेपाली मानवशास्त्रका जनक मानिए)। यो ती महामनाद्वयको असाधारण परिश्रम र पौरखको परिणाम थियो।
ज्ञानको सतत यात्रामा प्रवृत्त अथक यात्रीहरू थिए दुवै बहादुर, जसले नेपाली समाजलाई आफ्नो योगदानबाट आलोकित पारेर गएका छन्। दुवै थिए असलमा विलक्षण बहादुर।
(लेखक/सम्पादक थापा अनुवादक समाज नेपालका संस्थापक अध्यक्ष समेत हुन्। हिमालको २०७९ माघ अङ्कबाट।)