सभामुखको उम्मेदवार बनाउनुअघि कांग्रेसले प्रधानमन्त्रीसँग छलफल गर्ने
नेपाली कांग्रेसले सभामुखको उम्मेदवार टुङ्गो लगाउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने निष्कर्ष निकालेको छ।
बुधबार बिहान धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले प्रधानमन्त्री दाहाल र अन्य दलसँग छलफल गर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले बताए। कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै प्रवक्ता महतले भने, “समझदारीका लागि प्रधानमन्त्रीले अन्तिम कुरा गर्छु भन्नुभएको छ। त्यसैले प्रधानमन्त्रीसँग छलफलपछि सभामुखको उम्मेदवार टुङ्गो लगाउने निष्कर्षमा पुगेका छौं।”
त्यति वेलासम्म नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति लगायतका पार्टीसँग पनि छलफल गर्ने महतले बताए। “राष्ट्रपति संस्था र सभामुख साझा संस्था, संविधानको रक्षा र कानूनको रक्षमा केन्द्रित हुनुपर्ने पद भएकाले समझदारीमा निष्कर्ष निस्कियोस् भन्ने हो,” उनले भने।
प्रतिनिधि सभा सभामुखका लागि आज अपराह्न १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एमाले)ले देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।