सङ्कटमा सुनाखरी
अवैध व्यापार नियन्त्रण र संरक्षणमा सरोकारवालाको प्राथमिकतामा नपर्दा गुणकारी सुनाखरी मासिने जोखिम छ।
विश्वभर सुनाखरी फूलका करीब ८५० जाति र त्यस अन्तर्गत ३० हजारभन्दा बढी प्रजाति छन्। पाइने स्थान अनुसार तिनलाई विभिन्न प्रकारमा बाँडिएको छ। जस्तैः इपिफाइटिक (रूखमा पाइने), लिथोफाइटिक (ढुङ्गामा पाइने), टेरेस्ट्रियल (जमीनमा पाइने) र सेप्रोफाइटिक (जमीनमुनि पाइने)। नेपालमा भने सुनाखरीका ५०० हाराहारी प्रजाति भेटिएका छन्। औषधीय गुण भएको सुन्दर फूल सुनाखरीको कथा नेपालमा भने निकै कुरूप छ।
नेपालमा वनस्पति पहिचानमा लाग्नेहरूले अन्य वनस्पतिभन्दा सुनाखरीप्रति बढी रुचि दिएको देखिन्छ। यसमा पनि विशेष गरी कुन प्रजाति कहाँ पाइन्छन् भन्नेबारे अध्ययन भएका छन्। तर, तिनीहरूको व्यापार र संरक्षण अवस्थाबारे थोरै मात्र जानकारी छ। त्यही विषयमा बुझ्न गैरसरकारी संस्था ग्रीनहुड नेपालबाट म सहितको अध्ययन टोलीले २०७७ सालयता तीन वर्षमा थुप्रै पटक मध्य नेपालका धेरै ठाउँको भ्रमण गरेको थियो।
एक दिन हाम्रो टोली एउटा गाउँमा पुग्दा घरको छानोभरि सुकाइएको शक्तिगुम्बा अर्थात् सुनाखरीको प्लिओनी प्रजातिका गाना देख्यौं। त्यति धेरै मात्रामा एउटै घरमा सुनाखरी भेटिएला भन्ने विश्वास नै लागेन। सोधखोज गर्दा सङ्कलकहरूले जङ्गलमा पाइए जति सबै ल्याएको बुझियो। यो दृश्य र जानकारी हाम्रा लागि अप्रत्याशित त थियो नै, यसले अहम् प्रश्न समेत उब्जायो। पहिलेका अध्ययनहरूले नेपालका विभिन्न ठाउँमा सुनाखरीका काण्ड, गानो आदि सङ्कलन गरेर कैयौं ट्रक भारत र चीन लगायत देशमा पठाइने उल्लेख गरेकोमा नेपाल सरकारले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) ऐन, २०७३ जारी गरेर सुनाखरी सङ्कलन र व्यापारमा बन्देज लगाइसकेपछि पनि अवस्था किन उस्तै ?
साइटिसले पनि सुनाखरीलाई सङ्कटापन्न मान्दै सूचीकृत गरेको छ। नेपाल पनि साइटिसको पक्ष राष्ट्र भएकाले सङ्कटापन्न प्रजातिको अवैध सङ्कलन, व्यापार तथा निकासी रोकेर संरक्षण गर्नुपर्ने दायित्व छ। तर, अवैध व्यापारकै कारण सुनाखरी सङ्कटमा पर्दै निकट भविष्यमा लोप हुने जोखिम छ।
अनियन्त्रित अवैध व्यापार
साइटिसले सूचीकृत गरेकामध्ये करीब ७० प्रतिशत सुनाखरी छन्। नियन्त्रित व्यापारको धेरै प्रयास भए पनि अवैध व्यापारकै कारण यी सुनाखरी सङ्कटमा परेका हुन्। सुनाखरी भन्ने बित्तिकै फूलका पारखीमाझ विभिन्न रङ र आकारमा फुल्ने सुन्दर फूलका रूपमा लोकप्रिय छ। तर, सुनाखरीका विभिन्न प्रजाति औषधि, सौन्दर्य प्रशोधन र खाद्य सामग्रीका रूपमा ठूलो परिमाणमा उपयोग हुन्छ। नेपालमा पनि सामान्य पेट दुखाइदेखि टोनिक र क्यान्सर उपचार आदिमा यसको प्रयोग हुँदै आएको छ। तर, कतिपय स्थानमा जनसाधारणले यसको गुण पहिचान विना नै हचुवाको भरमा प्रयोग गर्ने गरेको पाइन्छ। सामान्य घरेलु प्रयोगदेखि अन्तर्राष्ट्रिय व्यापारिक प्रयोजनसम्म सुनाखरीको अवैध सङ्कलन भइरहेको छ।
अवैध सङ्कलन र व्यापारका कारण सङ्कटमा परेका सुनाखरीमध्ये पाँचऔंले (डाक्टिलोराइजा हेट्गरिया) एक हो। यसलाई नेपालको कानूनले सङ्कलन र व्यापारमा वर्जित गरे पनि अवैध सङ्कलन र व्यापार रोकिएको छैन। सन् २०१७ मा गोरखामा एकै चोटि ७५ किलो पाँचऔंले बरामद भएको तथ्याङ्कले यसको सङ्कलन परिमाण कति ठूलो छ भन्ने आकलन गर्न सकिन्छ। अन्य प्रजाति सेटेरियम, डेन्ड्रोवियम र प्लिओनीको अवस्था पनि उही छ। गत १० वर्षमा नेपालमा सुनाखरी ३५ भन्दा धेरै पटक बरामद भएका छन्। बुझ्नुपर्ने कुरा, यी बाहेक पनि अवैध निकासीका धेरै घटना हुन सक्ने भएकाले यो तथ्याङ्क सुनाखरीको वास्तविक व्यापारभन्दा निकै कम हो। अन्तर्राष्ट्रिय व्यापारीले गर्ने मागका आधारमा यसको व्यापक व्यापार हुँदै आएको छ।
यसरी सङ्कलित सुनाखरी व्यापारीहरूले विभिन्न वनस्पतिजन्य वनस्पतिका नाममा निकासी गर्ने रहेछन्। हामीले देखेको छतभरि सुकाइएको शक्तिगुम्बा नामको सुनाखरी निकासी दस्तुर प्रति किलो तीन रुपैयाँ भएको पानी अमलाका नाममा बिक्री गरिने रहेछ।
कानूनी प्रावधान
पफियोपेडिलमका केही प्रजाति बाहेक सबै सुनाखरी साइटिस महासन्धिको अनुसूची २ मा सूचीकृत छन्। उक्त महासन्धि कार्यान्वयन गर्न नेपाल सरकारले बनाएको साइटिस ऐन, २०७३ का अनुसार अनुसूची २ मा रहेका प्रजाति सङ्कलन गर्नुअघि प्रजातिको व्यवस्थापन योजना बनाइनुपर्छ। तर, हालसम्म हामीकहाँ सुनाखरीका कुनै पनि प्रजातिको व्यवस्थापन योजना नबनेका कारण अहिले भइरहेका सबै व्यापार गैरकानूनी हुन्।
नेपालको कानूनले संरक्षित एवम् सङ्कटापन्न वन्यजन्तुको चोरी शिकार तथा वनस्पतिको तस्करीमा संलग्नलाई कडा सजायको भागी मान्छ। सुनाखरीको अवैध व्यापार गर्नेलाई जरिवाना तथा जेल सजायको व्यवस्था छ। उक्त कानूनी व्यवस्था बाघ, गैंडा तस्करी नियन्त्रणका लागि सक्रिय रूपमा लागू गरिए पनि वनस्पतिहरूमा भने कडाइ गरिएको देखिँदैन।
साइटिस ऐन, २०७३ जारी हुनुअघि नेपालमा सुनाखरीको सङ्कलन र व्यापार कानूनसम्मत नै थियो। तर पनि, अवैध रूपमा तथा मापदण्ड विपरीत जङ्गलबाट लुछिएका सुनाखरी छिटपुट बरामद गरिन्थ्यो। अहिले एकातिर कानूनले वर्जित गरेको र अर्कातिर माग धेरै हुँदाहुँदै पनि बरामद भने नगण्य देखिन्छ। यसका साथै, केन्द्रीय स्तरमा बनेका ऐन–कानून स्थानीय स्तरमा प्रवाहित हुन नसक्दा कति नजानेर त कति नजाने जस्तो गरेर सुनाखरीको अवैध सङ्कलन र बिक्री भइरहेको छ।
जोगाउने चुनौती
सुनाखरी सङ्कलकहरू कुनै तालीम विना नै सङ्कलनमा लाग्ने र ठूलो परिमाणमा सङ्कलन भइरहेको देखिँदा यसको अस्तित्व नै मासिने जोखिम छ। यसरी सङ्कलित सुनाखरी केकसरी निकासा भइरहेको छ भन्ने पनि खोजीको विषय बनेको छ। हामीकहाँ सङ्कलनस्थल दुर्गम भेगमा रहेको र उपलब्ध प्रजाति चिन्ने सूची र निर्देशिका पनि फूल र आकार विज्ञानलाई ध्यानमा राखेर बनाइएको र औषधीय वनस्पति व्यापार हुने विभिन्न भाग राखेर बनाइएका निर्देशिका निकै कम छन् र भए पनि सरोकारवालाको पहुँचमा छैनन्।
प्रत्यक्ष किनबेच हुने त छँदै छ, आजको इन्टरनेट युगमा विभिन्न ई–कमर्स साइट र सामाजिक सञ्जाल मार्फत पनि वनस्पतिहरू बिक्री भइरहेका छन्। केही महीनाअघि पाँचऔंले ई–कमर्स साइटमा प्रति किलो ३९४ पाउन्डमा बिक्रीमा राखेको पाइएको थियो। यसैले अवैध व्यापार नियन्त्रणका विद्यमान कानूनमा थप कडाइ गर्न जरुरी छ।
अन्य देशमा जस्तो नेपालमा सुनाखरी संरक्षणका चुनौती प्रकाशमा ल्याउने र व्यापारको अवस्थाबारे अध्ययन अनुसन्धान गरिएको पाइँदैन। जसका कारण व्यापारको परिमाण, लक्षित प्रजाति र व्यापार सञ्जालबारे अनुमानकै भरमा काम गरिन्छ। अझ साइटिसको सूचीमा राखिएपछि स्वतस्फूर्त व्यापार नियन्त्रण भएको भनेर अवैध व्यापार नियन्त्रणमा ध्यान कम गएको छ। साथै, संरक्षण चेतनाको अभाव, प्रजाति पहिचानको समस्या र जलवायु परिवर्तनका असरले संरक्षणमा चुनौती थपेका छन्।
केही वर्षयता नेपालले वन्यजन्तु संरक्षण क्षेत्रमा निकै फड्को मारेको छ। क्यामेरा ट्र्यापिङ विधिबाट अध्ययन, अन्य सूक्ष्म अनुसन्धान तथा कानूनी पाटोमा कडाइ आदिका कारण संरक्षणमा विश्वव्यापी उदाहरणीय काम भएर सङ्कटापन्न प्रजातिलाई पनि फर्काउन हामी सफल भएका छौं। त्यो अभ्यास र सिकाइ अनुसार सुनाखरी जस्ता महत्त्वपूर्ण वनस्पतिलाई पनि प्राथमिकतामा राखेर संरक्षणमा सामूहिक प्रयत्न गर्न ढिलाइ गरिनु हुन्न। अन्यथा भोलि वनपाखाका सबै सुनाखरी मासिएर वनस्पति उद्यान र तस्वीरमा मात्र सीमित नहोला भन्न सकिन्न।
(सुनाखरी संरक्षण र अनुसन्धानमा संलग्न बस्याल ग्रीनहुड नेपाल संस्थामा कार्यरत छिन्। हिमालको २०७९ माघ अङ्कबाट।)