यी हुन् मन्त्रिपरिषद्का १६ नयाँ अनुहार
पुष्पकमल दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद्मा १६ जना पहिलो पटक मन्त्री बनेका छन्।
सात दलीय सत्ता गठबन्धनमा भागबन्डा टुङ्गिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।
तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल नेतृत्वको सरकारका २२ मन्त्रीमध्ये १६ जना नयाँ अनुहार हुन्। २३ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना महिला छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली दलित समुदायबाट मन्त्री बन्ने एक मात्र व्यक्ति हुन्। मन्त्रिपरिषद्मा थारू समुदायबाट भगवती चौधरी र अमनलाल मोदी छन्। चौधरी नेकपा एमालेकी सांसद हुन् भने मोदी माओवादी केन्द्रका सांसद हुन्।
एक उपप्रधानमन्त्री सहित आठ मन्त्री पाएको एमालेका पाँच मन्त्री नयाँ अनुहार हुन्। एमालेले उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेललाई पठाएको छ। एमालेका उपाध्यक्ष समेत रहेका पौडेल यसअघि पटक पटक मन्त्री भइसकेका व्यक्ति हुन्।
यसै गरी कृषि तथा पशुपन्छी मन्त्री ज्वालाकुमारी साह पनि यसअघि मन्त्री भइसकेकी हुन्। तत्कालीन नेकपा माओवादीमा रहँदा राज्यमन्त्री बनेकी साह केपी शर्मा ओलीको दोस्रो कार्यकालमा १३ दिनका लागि कृषिमन्त्री भएकी थिइन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भई बनेको नेकपा विभाजनका वेला साह एमालेमा बसेकी थिइन्।
एमालेका दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री रहिसकेका मन्त्री भण्डारी मंसीर ४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै बैतडीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। २०७० र २०७४ सालमा पनि सांसद बनिसकेका भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष समेत हुन्।
पौडेल, साह र भण्डारी बाहेक बाँकी मन्त्रीहरू राजेन्द्र राई, विमला पौड्याल राई, पदम गिरी, भगवती चौधरी र हरिप्रसाद उप्रेती पहिलो पटक मन्त्री बनेका हुन्। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री राई धनकुटाबाट निर्वाचित भएका हुन्। २०७४ सालको निर्वाचनमा तत्कालीन एमाले, माओवादी केन्द्रबीचको गठबन्धन मार्फत निर्वाचन लडेका राई धनकुटाबाटै निर्वाचित भएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी विद्यार्थी राजनीतिबाट उदाएका व्यक्ति हुन्। पर्वतका सांसद गिरीले लगातार दोस्रो पटक निर्वाचित भएपछि मन्त्री बन्ने अवसर पाएका हुन्। युवामाझ लोकप्रिय गिरी लामो समय अनेरास्ववियुको राजनीति गरेर पार्टी राजनीतिमा होमिएका थिए। उनलाई सरल स्वभावका नेता रूपमा चिनिन्छ।
२०४८ सालदेखि लगातार कहिले नेपाली कांग्रेस त कहिले मधेशवादी दलबाट निर्वाचित भएर सरकारमा रहँदै आएका कांग्रेस नेता विजयकुमार गच्छदारको संसदीय यात्रामा ब्रेक लगाउने एमाले सांसद हुन् भगवती चौधरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले तेस्रो प्रयासमा गच्छदारलाई पराजित गरेकी हुन्। उनी यसअघि समानुपातिक सांसद भइसकेकी थिइन्।
दाहाल नेतृत्वको सरकारमा मन्त्री बन्ने एक मात्र राष्ट्रिय सभा सदस्य हुन् विमला राई पौड्याल। नयाँ र अवसर नपाएका सांसदलाई मन्त्री बनाउने एमालेको नीति अन्तर्गत यस पटक उनले परराष्ट्र मन्त्री बन्ने अवसर पाएकी हुन्। पौड्याल नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन्। यसअघि एमालेकी सहाना प्रधान र कांग्रेसकी सुजाता कोइराला परराष्ट्र मन्त्री भएका थिए। २०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति शुरू गरेकी पौड्यालले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय परियोजनामा काम गर्दै आएकी थिइन्। उनी २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य समेत भएकी थिइन्। २०७४ सालमा राष्ट्रपति मार्फत राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी पौड्यालको राष्ट्रिय सभाको कार्यकाल २०८० को फागुनमा सकिंदै छ।
एमालेले सर्लाहीका हरिप्रसाद उप्रेतीलाई रक्षामन्त्री बनाएको छ। संविधानसभा सदस्य भइसकेका उप्रेती एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन्।
माओवादी केन्द्रबाट मन्त्री बनेकामध्ये आधा नयाँ छन्। प्रधानमन्त्री दाहाल, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले दोहोरिएर सिंहदरबारको यात्रा तय गरेका हुन्। मन्त्रीहरू अमनलाल मोदी, सुदन किराती र सुशीला सिर्पाली नयाँ अनुहार हुन्।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ तेस्रो पटक उपप्रधानमन्त्री बनेका हुन्। पहिलोपटक २०६८ साउन १६ मा झलनाथ खनालको नेतृत्वमा गृहमन्त्री भएका श्रेष्ठ २०६८ भदौ १८ गते परराष्ट्र मन्त्री भएका थिए। उनी दुवै पटक उपप्रधानमन्त्रीका रूपमा सरकारमा सहभागी थिए। २०७४ सालको निर्वाचनमा गोरखाबाट बाबुराम भट्टराईसँग पराजित भएका उनलाई पछि राष्ट्रिय सभामा निर्वाचित गरिएको थियो।
माओवादी केन्द्रको स्थायी समिति सदस्य शर्माले गत मंसीर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी हुन्। २०७० र २०७४ सालमा प्रतिनिधि सभामा समानुपातिक सदस्य बनेकी शर्माले २०७२ कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।
विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरू गरेकी शर्माले माओवादीको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष भएर समेत काम गरेकी थिइन्। २०५७ सालमा नेकपा (माओवादी)की केन्द्रीय सदस्य बनेकी उनले काठमाडौं उपत्यका उपब्यूरोको इन्चार्जको भूमिका निर्वाह गरेकी छिन्। २०५८ चैतमा पार्टीका केन्द्रीय सदस्य तथा श्रीमान् कृष्णध्वज खड्कासँगै चाबहिलबाट पक्राउ परेकी शर्मालाई नेपाली सेनाको ललितपुरस्थित राजदल गण र पोखराको सैनिक ब्यारेकमा बन्दी बनाइएको थियो। २०७० र २०७४ मा संसदीय दलको सचेतकको जिम्मेवारी निर्वाह गरेकी शर्मा माओवादीभित्र स्थापित तथा बौद्धिक नेतृका रूपमा चिनिन्छिन्। गत मंसीर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शर्मा एक्ली महिला हुन्।
मोरङ-४ बाट एमालेका विनोद ढकाललाई पराजित गर्दै सांसद बनेका माओवादी केन्द्रका अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्। लगातार तेस्रो पटक सांसद बनेका मोदी पहिलो पटक मन्त्री बनेका हुन्। २७ वर्षकै उमेरमा संविधान सदस्य बनेका मन्त्री मोदी माओवादी सशस्त्र युद्धका क्रममा २०६० सालमा पक्राउ परेर दुई वर्ष तीन महीना जेल बसेका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती माओवादी केन्द्रका सांसद हुन्। बुबा हर्कबहादुर राई बेलायती आर्मी भएकाले सुदनको जन्म हङकङमा भएको थियो। २०५४ सालमा नेकपा (माले)बाट राजनीति शुरू गरेका किराती २०६४ सालको संविधानसभा सदस्य बनेका थिए। उनी २०७४ सालमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। गत मंसीर ४ गते सम्पन्न निर्वाचनमा एमाले नेता तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरबाटै निर्वाचित भएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बनेका चारै जना नयाँ अनुहार हुन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, डोलप्रसाद अर्याल, शिशिर खनाल र डा. तोसिमा कार्की पहिलो पटक सांसद र मन्त्री बनेका हुन्। निर्वाचनको पाँच महीनाअघि मात्रै पार्टी गठन गरेर निर्वाचनमा होमिएको रास्वपाको प्रतिनिधि सभामा २० सांसद छन्। पूर्व सञ्चारकर्मी लामिछानेले पत्रकारिता छाडेर केही समय पहिले मात्रै राजनीतिक यात्रा शुरू गरेका हुन्।
रास्वपाबाट मन्त्री बनेकाहरू विभिन्न पेशा, व्यवसायसँगै सामाजिक अभियानमा संलग्न थिए। खनाल शिक्षा, विज्ञान तथा प्रविधि, अर्याल श्रम तथा रोजगार मन्त्री र डा. कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन्।
त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि पहिलो पटक मन्त्री बनेका हुन्। उपप्रधान तथा ऊर्जा‚ जलस्रोत तथा सिंचाइ मन्त्रीको कार्यभार सम्हालेका उनले पहिलो पटक सिंहदरबारको यात्रा तय गरेका हुन्। राप्रपाबाट मन्त्री बनेका लिङ्देन, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दीपकबहादुर सिंहमध्ये पाण्डे बाहेक सबैले पहिलो पटक सिंहदरबारको यात्रा तय गरेका हुन्। पाण्डेले शहरी विकास, प्रधानले कानून, न्याय तथा संसदीय मामिला र सिंहले ऊर्जा‚ जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। पाण्डे यसअघि पटक पटक मन्त्री बनिसकेका छन्।
त्यसै गरी जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान पनि नयाँ अनुहार हुन्। खानेपानी तथा सरसफाइ मन्त्रीको जिम्मेवारी पाएका मन्त्री खानले पहिलो पटक सिंहदरबारको यात्रा तय गरेका हुन्।