सभामुख निर्वाचनको तालिका सार्वजनिक‚ भोलि मनोनयन
संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
सभामुखको उम्मेदवार मनोनयनका लागि माघ ४ गते दिउँसो १ देखि ४ बजेसम्म समय तोकिएको सचिवालयले जनाएको छ। यस्तै‚ सोही दिन ४:१५ बजे मनोनयन गर्ने उम्मेदवारको नाम प्रकाशन गरिने कार्यतालिका रहेको छ।
सभामुख चयन भने माघ ५ गते हुनेछ।
सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले)‚ नेकपा (माओवादी केन्द्र)‚ राष्ट्रिय स्वतन्त्र पार्टी‚ राष्ट्रिय प्रजातन्त्र पार्टी‚ जनता समाजवादी पार्टी‚ नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको भागबन्डामा सभामुख एमालेको भागमा परेको छ।
सभामुखमा एमाले प्रदेश १ का इन्चार्ज समेत रहेका देवराज घिमिरे‚ उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा दाबेदार हुन्। घिमिरे झापा-२‚ गुरुङ लमजुङ र विश्वकर्मा रुपन्देही-१ बाट निर्वाचित भएका हुन्।