सुदूरपश्चिमको सभामुखमा भीम भण्डारी निर्वाचित
सुदूरपश्चिम प्रदेश सभाको सभामुखमा नेकपा (माओवादी केन्द्र)का भीम भण्डारी निर्वाचित भएका छन्।
मंगलबार बिहान भएको निर्वाचनमा भण्डारी २९ मत सहित निर्वाचित भएका हुन्। अर्का उम्मेदवार नेपाली कांग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरेका छन्।
५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ। आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए।
प्रदेश सभाले तेस्रो पटक भएको निर्वाचनबाट सभामुख पाएको हो। यसअघि पुस २८ र ३० गते पनि निर्वाचन भएको थियो। उक्त निर्वाचनमा दुवै उम्मेदवारले बहुमत प्राप्त गरेका थिएनन्। यसअघि नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले सभामुखको निर्वाचनमा भाग लिएका थिएनन्। दुई पटकको निर्वाचनले पनि सभामुख चयन नगरेपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सभामुख चयनमा सत्तारूढ गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएकी थिइन्।
प्रदेश सभामा कांग्रेसका १९, नेकपा (एमाले)का १०, नेकपा (माओवादी केन्द्र)का ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन्