विमान दुर्घटनामा परेका ४८ जनाको शवको काठमाडौं लैजाने तयारी
यती एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका ४८ जनाको शव पोखराबाट काठमाडौं लैजाने तयारी गरिएको छ।
पहिचान नभएका तथा विदशी नागरिकका शव पोस्टमार्टमका लागि काठमाडौं लैजाने तयारी गरिएको हो। नेपाली सेनाको स्काई ट्रकबाट २३ र हेलिकोप्टरबाट २५ जनाको शव लैजाने तयारी गरिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीका निर्देशक भरत खत्रीले जानकारी दिए। काठमाडौं लगिएका शवको त्रिवि टिचिङ अस्पतालमा पोस्टमार्टम गरिनेछ।
प्रतिष्ठानमा आज २२ शवको पोस्टमार्टम गर्ने प्रक्रिया शुरू भएको छ। पोस्टमार्टमपछि आफन्तलाई शव बुझाइनेछ। शव बुझाउने प्रक्रियामा ढिलाइ भएको भन्दै आफन्तले सोमबार आक्रोश व्यक्त गरेका थिए। अहिलेसम्म तीन जनाको मात्र शव परिवारलाई बुझाइएको छ।
आइतबार काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोचमा दुर्घटनामा परेको थियो। विमानमा चालक दलका चार र ६८ यात्रु गरी ७२ जना सवार थिए। दुर्घटनाग्रस्त विमानमा यात्रारत हालसम्म ७० जनाको शव भेटिएको छ। दुई जनाको शव भेटिएको छैन।