मन्त्रालय भागबण्डा मिल्यो, नयाँ मन्त्रीको शपथ मंगलबार
सत्तारूढ दलबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माघ २ गते बसेको बैठकले कुन दलले कुन कुन मन्त्रालय लिने भन्ने टुङ्गो लगाएको गृहमन्त्री रवि लामिछानेले जानकारी दिए।
थपिएका मन्त्रीहरूले माघ ३ गते दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिने पनि मन्त्री लामिछानेले बताए। बैठकपछि गृहमन्त्री लामिछानेले भने, “कुन पार्टीले कुन कुन मन्त्रालय लिने भन्ने तय गर्यौं। भोलि मन्त्री सहित सार्वजनिक गर्नेछौं।”
दलहरूबीच भएको सहमतिबारे आआफ्नो दलमा छलफल गर्ने उनले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
शपथ ग्रहणपछि दिउँसो ४ बजे नेपाली कांग्रेस सहित विश्वासको मत दिएका दलहरूको बैठक बस्ने प्रधानमन्त्री दाहालले जानकारी दिए।