लुम्बिनीको सभामुखमा तुलाराम घर्ती निर्विरोध
लुम्बिनी प्रदेशको सभामुखमा नेकपा (माओवादी केन्द्र)का तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन्।
सत्तारूढ गठबन्धनले लुम्बिनीमा नेकपा (एमाले)लाई मुख्यमन्त्री, सभामुखमा माओवादी र उपसभामुखमा राप्रपालाई दिने सहमति गरेको थियो। सोही सहमति अनुसार, सत्तारूढ गठबन्धनबाट घर्तीले उम्मेदवारी दिएका थिए।
विपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मदेवारी नदिएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन्। यद्यपि, औपचारिक घोषणा हुन बाँकी छ।
सभामुखमा उम्मदेवारी नदिएको कांग्रेसले उपसभामुखमा भने उम्मेदवारी दिएको छ। उपसभामुखमा कांग्रेसबाट विश्वप्रेम पाठक, राप्रपाबाट मेनुका खाँण केसी र नागरिक उन्मुक्ति पार्टीबाट निर्मलादेवी चौधरीको उम्मेदवारी परेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।
उपसभामुखको निर्वाचन मंगलबार तय गरिएको छ।