विमान दुर्घटनामा ७० जनाको मृत्यु भएको पुष्टि
पोखरा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ७० पुगेको छ भने मृतकको शव परिवारलाई बुझाउन थालिएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार, सोमबार थप दुई जनाको शव भेटिएको हो। आइतबार घटनास्थलबाट ६८ जनाको शव निकालिएको थियो।
अझै दुई जना हराइरहेका छन्। मंगलबार बिहानैदेखि फेरि खोजी कार्य जारी रहने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, मृतकको शव परिवारलाई बुझाउन थालिएको छ। सोमबार साँझ पोखराका सदाकत अली मियाँको शव परिवारजनलाई बुझाइएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा पोस्टमार्टम गरेपछि उनको शव परिवारजनलाई बुझाइएको हो।
शव परीक्षण तथा सनाखत गर्न काठमाडौंबाट गएको विशेषज्ञ टोलीले २४ जनाको शव पोखरामै परिवारजनलाई बुझाउने निर्णय गरेको छ। बाँकी ४६ जनाको शव काठमाडौं लगिने भएको छ।
पोखरामै परिवारजनलाई जिम्मा लगाउने तय भएका शव परीक्षण गर्न थालिएको हो। आज थप दुई जनाको परीक्षण गरिंदै छ भने बाँकी शव मंगलबार परीक्षण गरिने प्रतिष्ठानले जनाएको छ।
माघ १ गते बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान १०ः५० बजे दुर्घटना भएको थियो। विमानमा चार जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए।