बागमतीको उपसभामुखमा अप्सरा चापागाईं निर्वाचित
बागमती प्रदेशको उपसभामुखमा अप्सरा चापागाईं खत्री निर्वाचित भएकी छन्।
सोमबार भएको निर्वाचनमा नेकपा (एमाले)की उम्मेदवार चापागाईं निर्वाचित भएकी हुन्। उनले ६१ मत पाइन्। मतदानमा १०८ सांसद सहभागी थिए।
उनलाई एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदले मतदान गरे। उनको विपक्षमा ३९ मत खस्यो भने सात सांसद तटस्थ बसे।
उपसभामुखका लागि उनीसँगै नेपाल मजदूर किसान पार्टीकी रीता काफ्ले र नेपाली कांग्रेसकी सोना परियार उम्मेदवार थिए।
चापागाईंको प्रस्तावकमा माओवादी सांसद कुमारी मोक्तान र समर्थकमा आशा लामा थिइन्। ललितपुरकी चापागाईं समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन्।
यसअघि पुस २९ गते भएको निर्वाचनमा राप्रपाका भुवनकुमार पाठक सभामुख निर्वाचित भएका थिए।