फादर क्यास्पर जे मिलरको अन्त्येष्टि (तस्वीरहरू)
नेपाललाई कर्मथलो बनाएका फादर क्यास्पर जे मिलरको सोमबार काठमाडौंको टेकु दोभानमा अन्त्येष्टि गरिएको छ।
मिलरको माघ १ गते ९० वर्षको उमेरमा निधन भएको थियो। उनी २५ वर्षको उमेरमा सन् १९५८ मा अमेरिकाबाट नेपाल आएका थिए। उनले ६५ वर्ष नेपालमै बिताए।
उनले नेपालमा शिक्षाविद्, लेखक, काउन्सिलर, पियानोवादक लगायत भूमिकामा योगदान दिए। उनी सन् १९६७ देखि १९७५ बीचमा दुई पटक सेन्ट जेभियर्स गोदावरी र जावलाखेलमा प्रिन्सिपल भएका थिए।
उनले त्रिभुवन विश्वविद्यालयबाट मानव विज्ञानमा विद्यावारिधि गरेका थिए। मिलरले फेथ हिलर्स इन हिमालयाज्, डिसिसन मेकिङ इन द विलेज नेपाल, टु योरसेल्फ बि ट्रू लगायत पुस्तक लेखेका छन्।
टेकुघाटमा अन्त्येष्टि गर्नुअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि जावालाखेलस्थित सेन्ट जेभियर्स स्कूल परिसरमा राखिएको थियो।