२४ जनाको शव पोखरामै आफन्तलाई बुझाइने, ४५ शव काठमाडौं लगिने
पोखरा विमान दुर्घटनामा मृत्यु भएका ६९ जनामध्ये २४ जनाको शव पोखरामै आफन्तलाई बुझाइने भएको छ भने बाँकी शव काठमाडौं लगिने भएको छ।
शव पहिचान र परीक्षणका लागि पोखरा पुगेको विशेषज्ञ टोलीले शव परीक्षण गर्न नसकिने भएपछि ४५ जनाको शव काठमाडौं लग्ने निर्णय गरेको हो। विशेष टोलीको निर्णय अनुसार, २४ जनाको शवको पोखरामै परीक्षण गर्न लागिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्रीका अनुसार, काठमाडौंबाट विशेष टोली आएसँगै शव परीक्षण शुरू भएको छ। बाँकी शवको पोखरामा परीक्षण गर्न नसकिने भएकाले विशेषज्ञ टोलीले काठमाडौं लग्ने निर्णय गरेको हो।
माघ १ गते काठमाडौंबाट पोखरा उडेको यती एअरलाइन्सको ‘९एन-एएनसी’ विमान सेती खोचमा खसेको थियो। दुर्घटनामा ६९ जनाको शव भेटिएको छ। जसमध्ये ३४ जनाको सनाखत भएको छ। सनाखत भएकामध्ये २४ जनाको शव पोखरामै आफन्तलाई बुझाइने भएको हो।
प्रतिष्ठानका अनुसार, त्रिभुवन पौडेल, निशान्त आचार्य, जीवनकला गुरुङ, प्रसिद्धि पौडेल, पूजन राना, पूर्णबहादुर गुरुङ, अरुण पौडेल, संगीता शाही, सदाकत अलिमिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, समिन गुरुङ, शालिकराम आचार्य, डा. गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, वन्दना सुनार, सन्दीप श्रेष्ठ, अनुशा गुरुङ, शिवकुमार गुरुङ र सविर्ण श्रेष्ठको शव पोखरामै परीक्षणपछि आफन्तलाई बुझाइनेछ।
दुर्घटनामा अझै पनि तीन जना हराइरहेका छन्। उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।