'कहिलेकाहीं मृत्युले पनि एउटा किताब लेख्छ'
आफ्ना रचनाहरूमा महिलाले भोग्नुपरेको बन्धन र दासता, धर्म र लिङ्गका नाममा समाजले गरेको विभेद विरुद्ध स्वतन्त्र र निर्बन्ध जिन्दगी जिउनुपर्छ भन्ने विचार राख्ने अमृता प्रीतमले जिन्दगी पनि त्यस्तै निर्बन्ध बाँचिन्।
अमृता प्रीतम भारतको सबैभन्दा लोकप्रिय लेखकमध्ये एक मानिन्छिन् । उनको जन्म भारत पन्जाबको गुजराँवाला भन्ने ठाउँमा सन् १९१९ को ३१ अगस्टमा आमा राज र बाबु नन्द साधुबाट भएको थियो।
अमृताले पन्जाबी भाषाबाट आफ्नो लेखनको शुरूआत गरिन्। उनलाई पन्जाबी भाषाको पहिलो कवयित्री पनि मानिन्छ। किशोरावस्थाबाट नै उनले कविता, कथा अनि निबन्ध लेख्न शुरू गरेकी थिइन्। उनले आफ्नो जीवनकालमा करीब १०० वटा पुस्तक लेखिन्, जसमा उनको चर्चित आत्मकथा रसिदी टिकट पनि पर्छ। अमृता प्रीतम ती साहित्यकारहरूको सूचीमा पर्छिन् जसका कृतिहरू संसारका अनेक भाषामा अनुवाद भएका छन्।
उनी धेरै पुरस्कारद्वारा सम्मानित भइन्। उनलाई भारतको दोस्रो ठूलो सम्मान पद्म विभूषणद्वारा समेत सम्मान गरियो। यो सम्मान पाउने उनी पहिलो महिला कवि थिइन्। तर, त्योभन्दा पहिला नै सन् १९५७ मा उनले साहित्य अकादमी प्राप्त गरिसकेकी थिइन्। सन् १९५८ मा पन्जाब सरकारको भाषा विभागद्वारा पुरस्कृत, सन् १९८८ मा बुल्गेरिया वैराव अन्तर्राष्ट्रिय पुरस्कार, अनि सन् १९८२ मा भारतको सर्वोच्च साहित्य पुरस्कार ज्ञानपीठ पुरस्कारद्वारा उनी सम्मानित भइन्।
उनले पन्जाबी भाषाको कविता ‘अज्ज आखाँ वारिस शाह नु’ बाट धेरै प्रसिद्धि पाइन्। यस कवितामा भारत विभाजनको समयमा पन्जाबमा भएको भयानक र दु:खद घटनाहरूको वर्णन गरिएको छ। उनको पिंजर (सन् १९५०) नामक उपन्यासको आधारमा भारतमा चलचित्र समेत निर्माण गरियो, जसले सन् २००३ मा उत्कृष्ट अवार्ड प्राप्त गर्यो।
उनी ११ वर्षकी हुँदा उनकी आमाको निधन भयो। उनी एक्लो सन्तान हुन पुगिन्। आमाको निधनले बाबु पनि शोकमा डुब्न पुगे। विरक्त भए। जसले गर्दा अमृताको मनबाट भगवान्प्रतिको विश्वास उठ्न पुग्यो। हजुरआमाले उनको पालनपोषण गरिन्। १६ वर्षको उमेरमै उनको पहिलो सङ्कलन प्रकाशन भएको थियो।
अमृताले सन् १९४७ को भारत-पाकिस्तान विभाजनको दुःख एकदमै नजिकबाट भोगिन्। त्यही कारण हुन सक्छ, उनका कथाहरूमा त्यसको प्रतिछाया महसूस गर्न सकिन्छ। विभाजनपछि उनीहरू परिवार सहित दिल्ली आएर बसे। सन् १९३५ मा अमृताको विवाह लाहोरका व्यापारी प्रीतम सिंहसँग भयो। उनीहरूका एक छोरा र एक छोरी जन्मिए। तर, उनीहरूको वैवाहिक जीवन त्यति राम्रो चल्न सकेन। अन्ततः सन् १९६० मा आएर अमृताले श्रीमान्लाई छाडिदिइन्। आफ्ना दुई सन्तान लिएर उनी छुट्टै बस्न थालिन्।
सन् १९४४ मा उनको भेट लाहोरका त्यस वेलाका चर्चित गीतकार साहिर लुधियानवीसँग हुन पुग्यो। लाहोर र दिल्लीबीचको प्रीतनगर भन्ने गाउँमा एक साहित्यिक कार्यक्रममा उनीहरूको पहिलो भेट भएको थियो। साहिर महत्त्वाकाङ्क्षी र आदर्शवादी थिए। अमृता सुन्दरता या लेखनी धेरै कुरामा अब्बल थिइन्। अमृता पहिलो भेटमै साहिरका गजलका सेरहरूमा डुब्न पुगिन्।
साहिरसँगको प्रेमलाई उनले आफ्नो आत्मकथा रसिदी टिकटमा खुलेरै जाहेर गरेकी छन्। आफ्नो प्रेमको कुनै कुरा लुकाएकी छैनन्। उनी र साहिरबीचमा प्रेमका अनेकौं किस्सा थिए। एक पटक रसिदी टिकटको पोज दिन एउटा कागज र कलम उनको हातमा थमाइएको थियो। उनले सारा कागजमा 'साहिर साहिर साहिर' लेखेर पाना भरिदिइन्। उनीहरू घण्टौंसम्म एकाअर्काका आँखामा हेरेर मौनतामै कुरा गर्थे।
साहिर चुरोट पिउँथे। अमृता ती छाडेका ठुटाहरूलाई जतनसाथ सम्हालेर राख्थिन्। पछि उनको यादले सताउँदा तिनै ठुटा औंलामा समाएर ओठमा च्याप्थिन् र साहिरको औंलाको स्पर्श महसूस गर्थिन्।
त्यसो त साहिर पनि कहाँ कम थिए र! साहिरको घरमा अमृताले पिएको चियाको जुठो कप कैयौं वर्षसम्म नपखाली सम्हालेर राखेका हुन्थे।
यसरी चलिरहेको उनीहरूको प्रेममा अचानक साहिरको जिन्दगीमा आएकी एक महिलाका कारण पूर्णविराम लाग्न पुग्यो। साहिरको जिन्दगीमा गायिका सुधा मल्होत्रा आएपछि ती दुईको प्रेम टुट्न गयो। अमृतालाई यसले नराम्रोसँग टुटायो। उनी फेरि नितान्त एक्लो हुन पुगिन्। तर, साहिरप्रतिको प्रेमलाई उनले कहिल्यै टुटाउन सकिनन्।
केही समयपछि अमृताले किताबको कभर डिजाइन गर्ने मान्छे खोजिरहेकी थिइन्। यसै क्रममा उनको इमरोजसँग भेट हुन गयो। इमरोज कलाकार/डिजाइनर थिए, जो उनीभन्दा उमेरमा करीब १२ वर्ष कान्छो थिए। किताबको कामसँगै बिस्तारै उनीहरू नजिकिन पुगे। इमरोजले अमृतालाई बेहद प्रेम गर्न थाले। अमृताले पनि साहिरलाई भुल्न नसकिरहेकै अवस्थामा इमरोजलाई प्रेम प्रदर्शन गरिन्। उनीहरू एकाअर्काका प्रेमी बने। यसरी उनीहरूले एउटै छानामुनि अलग-अलग कोठामा आआफ्नो स्वतन्त्र जिन्दगी बाँचे। जीवनको करीब ४० वर्ष उनीहरूले सँगै बिताए। जीवनका हरेक सुख-दुःखमा एकअर्कालाई साथ दिंदै बाँचे।
इमरोजले अमृता प्रीतमका सबैजसो पुस्तकमा कभर डिजाइन गरेका छन्। अमृता रातभरि लेख्थिन्। इमरोज दिनभरि चित्र कोर्थे। मध्यरातमा अमृता टोलाउँदै लेख्दा उनले चियाको कप उनको अगाडि सुटुक्क राखिदिन्थे, जसको अमृता पत्तो समेत पाउँदिनथिन्।
उनी अमृतालाई खुशी बनाउन घुमाउन लैजान्थे। स्कूटरमा राखेर ल्याउने-पुर्याउने गर्थे। देख्नेले उनलाई अमृताको ड्राइभर पनि भन्थे। एकपटक पछाडि बसेकी अमृताले इमरोजको ढाडमा साहिरको नाम लेखिन्। तर, इमरोज रिसाएनन्। कतिपटक तीनै जना सँगै बसेर चिया पिउँदै गफ गर्थे।
अमृता भारतको पहिलो त्यस्तो महिला कवि थिइन्, जसले त्यो समयमा पनि आफ्ना रचनाहरूमा आफ्ना प्रेम प्रसङ्गहरूबारे खुलेआम चर्चा गरेर एउटा स्वतन्त्र र विद्रोही जिन्दगी बाँचिन्। उनका रचनाहरूमा पनि त्यो स्वच्छन्द र विद्रोह चेत झल्किन्छ।
उनले बाँचेको जिन्दगी नै त्यो समयको एउटा विद्रोह थियो। उनी आफ्ना रचनाहरूमा महिलाका वेदना, बन्धन, कुसंस्कार, रूढिवादी परम्परा, धर्म र लिङ्गका नाममा समाजले गरेको विभेद विरुद्ध स्वतन्त्र र निर्बन्ध जिन्दगी जिउनुपर्छ भन्ने विचार राख्थिन्। उनले आफ्नो जिन्दगी पनि त्यस्तै निर्बन्ध बाँचिन्। उनका कविताहरूमा पनि ती कुराको झलक पाइन्छ।
उनी आजीवन इमरोजको साथमा बाँचिन्। स्वच्छन्द तरीकाले आफ्ना शब्द र भावमा पौडिरहिन्। हमेसा इमरोजले उनलाई प्रेमपूर्वक साथ दिइरहे। उनले लेखिन्- ‘म जन्मिँदा ईश्वर सुतिरहेको थियो। आकाश रोइरहेको थियो। त्यसैले आजीवन मैले उसलाई ब्युँझाउने प्रयत्नमा लेखिरहें।’
उनका कविताहरूमा गहिराइ भेटिन्छ- प्रेममा होस् या अभावमा, पीडा, दुःख, खुशी, चोट अथवा अन्याय विरुद्धको आवाज नै किन नहोस्। उनका कविताहरू गम्भीर, सजिलै बुझ्न नसकिने खालका छन्। पढ्दै गर्दा अडिनुपर्छ अनि कविताको भाव र गहिराइमा एकछिन डुब्नुपर्छ। मुटु छेडेर चसक्क दुखाउने खालका छन् उनका कविता। जस्तै-
- फेरि तिमीलाई सम्झिएँ, मैले आगोलाई चुमें,
प्रेम विषको प्याला, मैले एक घुट्की फेरि मागें।
- सपना जस्ता कैयौं भट्टीहरू छन्
हरेक भट्टीमा आगो झोस्दै
मेरो प्रेमले मजदूरी गर्छ।
- कथा लेख्ने मान्छे ठूलो हुँदैन, ठूलो त्यो हो
जसले आफ्नो शरीरमा भोगेको हुन्छ।
- कहिलेकाहीं मृत्युले पनि एउटा किताब लेख्छ
तब जिन्दगीसँग एउटा भूमिका लेखाउन आउँछ।
- कसैलाई घरबाट निस्किने बित्तिकै भेटियो गन्तव्य
कोही म जस्तै जिन्दगीभर यात्रामा हिंडिरह्यो।
- जब कोही पुरुषले महिलाको शक्तिलाई नकार्छ
तब आफ्नै अवचेतनालाई नकारिरहेको हुन्छ।
- यस्ता कति कथाहरू छन् जुन कागजमा छैनन्
बरू आइमाईको शरीर र मनभित्र लेखिएका छन्।
- भारतीय पुरुषहरूले आज पनि महिलालाई परम्परागत काम गरेको देख्न चाहन्छन्
तिनीहरूलाई बुद्धिमान् महिलाहरूको सङ्गत त चाहिन्छ, तर बिहेका लागि होइन
एउटा सशक्त महिलाको साथलाई कदर गर्न आजसम्म पनि उनीहरूलाई आउँदैन।
- जिन्दगीले तिम्रो त्यही गुणको परीक्षा लिन्छ
जुन तिम्रो मनभित्र उपस्थित छ
मेरो मनभित्र प्रेम थियो।
३१ अक्टोबर २००५ मा ८६ वर्षको उमेरमा उनको निधन भयो। लामो समयदेखि रोगको शिकार भएर सुत्दासुत्दै कहिल्यै नब्युँझने गरी उनी निदाइन्।
उनको मृत्यु हुँदा इमरोज उनीसँगै थिए। उनी सँगै थिए उनका छोरा, छोरी र नाति-नातिनीहरू।
नेपाली साहित्यमा अनुवाद कार्य र अनूदित साहित्यको अभाव नयाँ होइन। यद्यपि, अनुवाद कार्यले नै देश देशावरभन्दा परको संसार नियाल्ने अवसर दिन्छ। अपरिचित समाजका बारेमा नवीन ज्ञान र जानकारी प्रदान गर्छ। यति हुँदाहुँदै पनि दुईतर्फी अनुवाद कार्यको अभावले हामी त्यो नवीनताबाट चुकिरहेको यथार्थ चर्को छ। यही अभाव पूर्ति गर्ने सानो ध्येयका साथ मैले यहाँ अमृता प्रीतमलाई सम्मानसाथ सम्झेकी हुँ।
हामीलाई थाहा छ, निकट छिमेकी देश भएर पनि अनुवादको अभावले गर्दा भारतीय साहित्यिक क्रियाकलापबारे समेत हामीलाई जानकारी कम छ। दक्षिण भारतसँगको हाम्रो खुला सिमाना रहे पनि हिन्दी भाषाको अज्ञानताले गर्दा कैयौं उत्कृष्ट साहित्यिक सामग्री पढ्नबाट हामी वञ्चित छौं। यही वञ्चनाको ख्याल गरेर मलाई हुटहुटी लागेको हो यो अनुवाद कार्य गर्न।
मलाई सर्वप्रथम त अमृता प्रीतमको जीवनले धेरै अगाडिदेखि नै आकर्षित गरेको हो। माथि पनि कतै उल्लेख भइसकेको छ- उनले बाँचेको जिन्दगी नै त्यो समयको विद्रोह थियो। उनको यही प्रेम र विद्रोहपूर्ण आजीविकाले गर्दा नै अनुवाद कार्यको यस जटिल मोडमा मैले उनलाई छानेकी हुँ।
यो मेरो अनुवाद कार्यको पहिलो प्रयास हो, त्यो पनि हिन्दी भाषाबाट। यसभन्दा अगाडि कहिल्यै हात नहालेको विषयमा एक्कासि हिंड्ने प्रयास गर्दा कैयौं त्रुटि हुन गएका होलान्। जति सदाशयता हुँदाहुँदै पनि हिन्दी भाषाका कतिपय जटिल र शास्त्रीय शब्दका अर्थ कमजोर होलान्। त्यसका लागि आगामी कालक्रममा भूलहरू सच्याउँदै जाने कबूल यथावत् छँदै छ। मूल कवितालाई भरसक नबिगारीकन, शब्दार्थ र भावार्थतर्फ मात्र विशेष जोड दिएर कविको मौलिकता र लेखनशैलीलाई जस्ताको तस्तै राख्ने कोशिश गरेकी छु। यसकारण कि अनुवाद कार्यावधिभर मेरो मनमा सोच बनिरह्यो कि अमृता प्रीतम आफैंमा यस्तो एउटा कविताको नमूना हो, जसको मौलिकता जोगाएर मात्रै उनीमाथि अन्याय गर्नबाट बच्न सकिन्छ।
कवि रिमा केसीद्वारा अनूदित ‘अमृता प्रीतमका छानिएका कविता’ मा 'अमृता प्रीतम: एक विद्रोह एक पोट्रेट' शीर्षकमा प्रकाशित भूमिका।
पुस्तकबाट दुई कविता:
म तिमीलाई फेरि भेट्नेछु
कहाँ कसरी थाहा छैन
सायद तिम्रा कल्पनाहरूको
प्रेरणा बनेर
तिम्रो क्यानभासमा ओर्लिनेछु
अथवा, तिम्रो क्यानभासमा
एउटा रहस्यमय रेखा बनेर
चुपचाप तिमीलाई हेरिरहनेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ कसरी थाहा छैन
या, सूर्यको तेज बनेर
तिम्रो रङमा घुलिरहनेछु
अथवा, रङहरूको अँगालोमा बसेर
तिम्रो क्यानभासमा फैलिनेछु
थाहा छैन कहाँ कसरी
तर तिमीलाई पक्कै भेट्नेछु
या, एउटा चस्मा बनेर
जसरी झरनाबाट पानी उड्छ
म पानीको थोपा
तिम्रो शरीरमा दल्नेछु
अनि एउटा शीतल अनुभूति बनेर
तिम्रो छातीमा टाँसिनेछु
म अरू केही जान्दिनँ
मात्र यति जान्दछु कि
समयले जे गर्नेछ
यो जन्म मेरो साथै चल्नेछ
यो शरीर सकिएपछि
सबै कुरा सकिन्छन्
तर यादका धागाहरू
ब्रह्माण्डका पलहरू जस्तै हुन्छन्
म तिनै पलहरूलाई छान्नेछु
तिनै धागोहरूलाई बटुल्नेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ कसरी थाहा छैन
म तिमीलाई फेरि भेट्नेछु ।
कैयौं वर्षपछि
अचानक एउटा भेट
हामी दुईको प्राण
एउटा कविता जस्तै काँप्यो
अगाडि एउटा सिङ्गो रात थियो
तर आधा कविता
एउटा कुनामा खुम्चिरह्यो
अनि आधा कविता
अर्को कुनामा बसिरह्यो
अनि एकाबिहानै
हामी कागजका च्यातिएका
टुक्रा जस्तै भेटियौं
मैले आफ्नो हातमा
उसको हात राखें
उसले आफ्नो अँगालोमा
मलाई अँगाल्यो
अनि हामी दुई
एउटा सेन्सर जस्तै गरेर हाँस्यौं
र कागजलाई एउटा चिसो टेबुलमा राखेर
त्यो सारा कविता केरमेट गर्दियौं।