शव हस्तान्तरणमा ढिलाइले अस्पतालमा तनाव
पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव हस्तान्तरण गर्न ढिलाइ भएपछि आफन्तजन आक्रोशित छन्।
काठमाडौंबाट पोखरा उडेको यती एअरलाइन्सको जहाज माघ १ गते दुर्घटना भएको थियो। दुर्घटनामा ज्यान गुमाएका ६८ जनामध्ये ३८ जनाको सनाखत भइसकेको छ।
दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त शव बुझ्न दुई दिनदेखि पोखरास्थित गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुरिरहेका छन्। दुई दिनसम्म शव नपाएपछि उनीहरू आक्रोशित छन्।
अस्पताल परिसरमा भेला भएका आफन्तजनले विरोध जनाएपछि तनाव उत्पन्न भएको छ। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
उनीहरूले सनाखत र पोस्टमार्टम भइसकेका शव दिन आग्रह गरेका छन्। शव लिन माघ १ गते साँझदेखि अस्पताल परिसरमा कुरिरहेका एक आफन्तले गुनासो गरे, “कति कुराउने हो? आज बिहान दिन्छौं भन्यो, आयौं। अहिलेसम्म दिएको छैन।”
स्थानीय प्रशासनले शव हस्तान्तरण गर्न समय लाग्ने जनाएको छ। अस्पतालले शव परीक्षण गर्न शुरू गरिएको जनाएको छ।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले शव परीक्षण प्रक्रिया चलिरहेको बताए। प्रतिष्ठानका तर्फबाट प्रक्रियामा ढिला नभएको खत्रीको भनाइ छ।