प्रशासकीय अधिकृतको सरुवासँगै टुङ्गियो मेचीनगरको विवाद
प्रशासकीय अधिकृतको सरुवा भएसँगै झापाको मेचीनगर नगरपालिकामा उत्पन्न विवाद टुङ्गिएको छ।
एक महीना भइसकेको थियो, मेचीनगर नगरपालिकाको दैनिक काम सहज ढङ्गमा सञ्चालन हुन नसकेको। आफूले भनेको काममा कर्मचारीले अटेर गरेको आरोप लगाउँदै आएका जनप्रतिनिधिले पुस २५ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत राजकपुर चौलागाईंलाई कार्यालयमा हाजिर हुन दिएका थिएनन्। फलस्वरूप पछिल्ला १५ दिनदेखि मेचीनगर नगरपालिकाको आर्थिक गतिविधि ठप्प हुन पुगेको थियो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चौलागाईंको सरुवा गरेपछि एक महीनादेखिको जनप्रतिनिधि र कर्मचारीबीचको विवाद सकिएको छ। जनप्रतिनिधि र कर्मचारीबीचको विवाद बढेपछि चौलागाईं पुस १२ देखि १७ गतेसम्म नगरपालिकाबाट एवं १७ देखि २४ सम्म मन्त्रालयबाट भ्रमण काज मिलाएर काठमाडौंमा बसेका थिए।
काज सकिएपछि मेचीनगर फिर्ता भए पनि चौलागाईंले हाजिर गर्न पाएनन्। बरु नगरपालिका कार्यपालिका बैठकले पुस २२ गते नै उनलाई एक पत्र काट्दै अख्तियारी स्थगनको पत्र पठाइसकेको थियो। कार्यपालिका बैठकले शिक्षा शाखाका प्रमुख रहेका होमनाथ भण्डारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको थियो।
किन भएको थियो त विवाद?
जनप्रतिनिधिहरू प्रमुख प्रशासकीय अधिकृतको रवैयाका कारण यो विवाद सिर्जना भएको आरोप लगाउँछन्। नगरपालिकाले पाँच वर्षअघि हात्तीबाट पीडित व्यक्तिका परिवारलाई राहतस्वरूप तत्कालै तीन हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। अधिकृत चौलागाईंले गत साउनदेखि उक्त रकम निकासा नगरिदिएको जनप्रतिनिधिको गुनासो छ।
“पाँच वर्षअघिबाट जनताले राहत नपाएको गुनासो गर्छन्, कर्मचारी हुँदै छ भन्दै टार्छन्। तीन हजार रुपैयाँ पाउन जनताले कति कुर्नु?” मेचीनगर नगरपालिका-४ का वडाध्यक्ष अर्जुन कार्कीको प्रश्न छ।
प्रमुख प्रशासकीय अधिकृत चौलागाईं भने पुराना कर्मचारीको असहयोग र जनप्रतिनिधिको आफूप्रतिको अविश्वासका कारण यो विवाद सिर्जना भएको बताए। कर्मचारीमा नभई जनप्रतिनिधिमा समस्या भएको उनको आरोप छ।
“मेचीनगर नगरपालिकामा यसअघि पनि यस्तै घटना भएको रहेछ,” अधिकृत चौलागाईं भन्छन्, “म भदौको ३१ गते मात्रै यहाँ हाजिर हुन आएको थिएँ, त्यसभन्दा चार महीनाअघिबाटै यहाँ प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी खाली थियो। यहाँ कर्मचारीमा हैन, जनप्रतिनिधिमा समस्या छ।”
मेयर गोपालचन्द्र बुढाथोकी भने उनको आरोपको खण्डन गर्छन्। “प्रमुख प्रशासकीय अधिकृत भएर जुन खालको परामर्श र समन्वय उहाँले हामीसँग गर्नुपर्थ्यो, त्यो उहाँले गर्नु नै भएन,” मेयर बुढाथोकी भन्छन्, “विकास निर्माणका काममा चासो राख्नु हाम्रो दायित्व हो, उहाँले ती कामको स्पष्ट जवाफ दिन सक्नुभएन, त्यही भएर यो कदम उठाउन हामी बाध्य भयौं।”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चौलागाईंको स्थानमा इलामको फिदिम नगरपालिकामा कार्यरत प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाललाई मेचीनगरमा खटाएको छ। चौलागाईं भने प्रदेश १ को मुख्यमन्त्रीको कार्यालयमा रहने गरी सरुवा भएका छन्।