नारायणीमा फेरीमा सरर (तस्वीरहरू)
नारायणी नदीमा फेरी सञ्चालनमा आएसँगै पर्यटकीय क्षेत्र चितवन आउने पर्यटकका लागि नयाँ आकर्षण थपिएको छ।
भरतपुर महानगरपालिका-१६ को काप्रेघाटमा माघ १ गतेदेखि व्यावसायिक रूपमा फेरी सञ्चालनमा आएको हो। राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले सञ्चालनमा ल्याएको दुईतले फेरीमा २०० जना अट्छन्। तर‚ १८० जनालाई राखेर फेरी सञ्चालन गरिएको राइनो वाटरका कार्यकारी निर्देशक दीपक ढुंगेलले बताए। फेरी चलाउन ४० किलोमिटरको सञ्चालन अनुमति लिए पनि अहिले तीन किलोमिटर क्षेत्रमा मात्र सञ्चालन गरिरहेको उनको भनाइ छ।
जलयात्रा गर्ने टिकट शुल्क ७०० रुपैयाँ तोकिएको छ। फेरीभित्रै रेस्टुरेन्ट तथा बारको सुविधा समेत छ। फेरीमा विवाह, पास्नी, जन्मोत्सव, व्रतबन्ध, सभा, सम्मेलन लगायत कार्यक्रम गर्न सकिने कार्यकारी निर्देशक ढुंगेल बताउँछन्। नारायणगढ बजारदेखि करीब ६ किलोमिटर पश्चिममा फेरी स्टेशन छ।
ज्ञानेश्वर सामुदायिक वनसँग सम्झौता गरेर काप्रेघाटमा क्रूज स्टेशन निर्माण गरिएको छ। भारतीय प्राविधिकले निर्माण गरेको फेरीका क्याप्टेन भारतीय छन्। दुई वर्षअघि नै सफल परीक्षण गरिए पनि कोरोना महामारीका कारण व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन ढिला भएको ढुंगेलले बताए। करीब १५ करोड रुपैयाँ लागतमा फेरी निर्माण गरिएको उनले बताए।