पोखरा जहाज दुर्घटना: तीन शिशु सहित ५३ नेपाली र १५ विदेशी यात्रु सवार
पोखरामा दुर्घटना भएको यती एअरलाइन्सको जहाजमा तीन शिशु सहित ५३ नेपाली र १५ विदेशी नागरिक रहेको पुष्टि भएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, जहाजमा चार जना चालक दलका सदस्य र ६८ यात्रु सवारी थिए। जसमा तीन जना शिशु, तीन बालबालिका र ७६ वयस्क सवार रहेका थिए।
त्यस्तै, जहाजमा सवार ६८ यात्रुमध्ये ५३ जना नेपाली र १५ जना विदेशी नागरिक रहेको खुलेको छ। दुर्घटनामा पाँच भारतीय‚ चार रसियाली‚ एक आयरल्यान्डेली‚ एक अस्ट्रेलियाली‚ एक अर्जेन्टिनी‚ दुई कोरियाली र एक फ्रान्सेली परेको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार अहिलेसम्म २९ जनाको शव सङ्कलन भएको छ। उनीहरूको पहिचान खुलेको छैन। अझै उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौंबाट आइतबार बिहान १०:३२ बजे उडेको ‘९एन–एएनसी’ जहाजको १०:५२ सम्म पोखरा टावरसँग सम्पर्क रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। जहाज पोखरा महानगरपालिका–१५ सीताराम पुल नजिक सेतीको खोचमा परेको थियो।
दुर्घटना लगत्तै जहाजमा आगो लागेको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका छन्। सेतीको खोचमा परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।