यती एअरलाइन्सको जहाज सेतीको खोचमा दुर्घटना, उद्धारमा कठिनाइ
काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको जहाज सेतीको खोचमा दुर्घटनाग्रस्त हुँदा उद्धारमा कठिनाइ भएको छ।
आज बिहान साढे १० बजे ९ एन–एएनसी जहाजमा चालक दलका चार जनासहित ६८ यात्रु सवार रहेका थिए। जहाजमा ६ जना बालबालिका रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुअघि जहाज दुर्घटना भएको हो। दुर्घटनाग्रस्त जहाज पोखरा महानगरपालिका–१५ सीताराम पुलनजिक सेती नदीको खोचमा परेको छ।
दुर्घटना लगत्तै जहाजमा आगो लागेको स्थानीय बासिन्दाले बताएका छन्। स्थानीय बासिन्दाले चार जनाको उद्धार गरेका छन्। उनीहरूलाई अस्पताल लगिएको छ।
अन्य यात्रुको उद्धार जारी रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ।