दुई वर्षपछि नारायणी नदीमा क्रूजशिप चलाइँदै
नारायणी नदीमा आजदेखि ‘क्रूजशिप’ सञ्चालनमा आउने भएको छ।
राइनो वाटर इन्टरटेन्मेन्ट कम्पनीले क्रूजशिप सञ्चालनमा आउने जनाएको हो। दुई वर्ष पहिले नै क्रूजशिपको परीक्षण गरिएको थियो। कोभिड महामारी र केही नीतिगत व्यवधानका कारण क्रूजशिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ।
कम्पनीका कार्यकारी निर्देशक दीपक ढुंगेलले सबै प्रक्रिया पूरा गरेर क्रूजशिप सञ्चालन गर्न लागिएको जानकारी दिए। तीन तलाको क्रूजशिपमा १८० जना सवार गर्न सक्नेछन्।
क्रूजशिपमा यात्रा गर्ने यात्रुको १० लाख बराबरको बीमा गरिएको छ। सात सय टिकट रहेको छ भने ब्रेकफास्ट क्रूजिङको एक हजार पाँच सय, लञ्च क्रूजिङ दुई हजार र डिनर क्रूजिङ दुई हजार पाँच सय तेकिएको ढुंगेलले बताए।
भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रूजशिपको स्टेशन छ। एक पटकमा यात्रुले करीब एक घण्टा नारायणी नदीमा क्रूजको मज्जा लिन पाउनेछन्।
क्रूजशिपमा विवाह, ब्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठ लगायतका गतिविधि गर्न पाइने कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले बताए। कँडेलका अनुसार, यसको निर्माणमा १५ करोड खर्च भएको छ।
यसलाई सञ्चालन गर्न ४० किलोमिटरसम्मको अनुमति लिइएको छ। रुट पहिचान गरेर सोही अनुसार यात्रा गराइने उनले बताए। क्रूजशिपभित्र रेस्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी पोइन्ट पनि निर्माण गरिएको छ।