उन्मुक्ति पार्टीले भोट नदिंदा चयन भएन सभामुख, दुवै उम्मेदवारको मत बराबर
सुदूरपश्चिम प्रदेश सभाले दोस्रो पटकको प्रयासमा पनि सभामुख चयन गर्न सकेन।
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू तटस्थ बस्दा पुस ३० गते पनि सभामुख चयन हुन नसकेको हो। नेपाली कांग्रेस उम्मेदवार मानबहादुर रावल र नेकपा (माओवादी केन्द्र) भीमबहादुर भण्डारी दुवैले २२-२२ मत प्राप्त गरे। सुदूरपश्चिम सभामुख निर्वाचित हुन २७ सदस्यको समर्थन आवश्यक पर्दछ।बैठकमा कांग्रेसकी सरस्वती खड्का अनुपस्थित थिइन्।
नागरिक उन्मुक्ति पार्टीका सातै सदस्य बैठकमा उपस्थित भए पनि मत विभाजनमा भाग लिएनन्। यसअघि पुस २८ गते बसेको बैठकमा पनि दुवै उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसक्दा सभामुख चयन हुन सकेको थिएन। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन्।
प्रदेश सभाको अर्को बैठक माघ २ गते बिहान ९ बजे बोलाइएको छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ। जुन अवधि माघ २ गते पूरा हुँदै छ।