डाक्टरले देखेकाे नेपाल
स्वस्थ मान्छेलाई रोग लाग्यो भने निरोगी बनाउन औषधोपचार गरिन्छ। रोग विनै कोही अस्वस्थ भयो भने ठीक पार्न के गर्ने?
बालरोग विशेषज्ञ डा. नवराज केसीले पुतली आमा, भेडिनी कान्छी, नाम सोध्न भुलेको जुम्ल्याहाकी आमा, नामै नभएकी भुनभुनेकी आमा, बुधेकी फुपूआमाहरूलाई गुरु थापेर यो प्रश्नको उत्तर खोज्ने यत्न गरेका छन्, आफ्नो पुस्तक- शून्यको मूल्य मा।
एक दिन आफ्नो छोरा जँचाउन एक जना महिला डा. केसीकहाँ आइपुग्छिन्। उमेर चार वर्ष पूरा हुँदा पनि छोरा नबोलेपछि उनी पाठो बेचेर उपचार खर्च जोहो गर्दै डाक्टर भेट्न पुगेकी हुन्छिन्। आवश्यक परीक्षणपछि डाक्टर ती बालकलाई कुनै रोग नलागेको निष्कर्षमा पुग्छन्।
छुट्टिने वेलामा डाक्टरले बिदाइको सम्झनास्वरूप बालकको हातमा एउटा चकलेट राखी दिन्छन्। चकलेट पाएपछि बालकको मुखबाट अनौठो आवाज निस्कन्छ। आफ्नो छोरा पहिलो पटक बोलेको सुनेर दङ्ग परेकी आमा भन्छिन्, ‘आम्मै, यो बोल्छ त।’
बालकले ‘आमा’, ‘बाबा’, ‘दिदी’ जस्ता शब्द निकालेका हुँदैनन्। साँच्चै भन्दा ढाडे बिरालो कराए जस्तो सुनिन्थ्यो ती बालकको आवाज।
चिकित्सकहरूका अनुसार, जन्मिएको नौदेखि १४ महीनासम्ममा बच्चाहरू बोल्न थाल्छन्। सामान्यतया बच्चाहरूले १२ महीनापछि ‘मामा’, ‘बाबा’, ‘दादा’ आदि जस्ता शब्द उच्चारण गर्न थाल्छन्।
त्यसो भए चार वर्षपछि पहिलो पटक आवाज निकालेका ती बालकको मुखबाट बिरालोको जस्तो आवाज निस्कियो, किन? ‘दिनभरि जङ्गल जानुपर्ने भएकाले आमाले आफ्नो छोरालाई एउटा ठूलो डोकोले थुन्दी रहिछन्, जङ्गली जनावर खास गरी स्यालहरूबाट बचाउन,’ डा. केसी लेख्छन्, ‘ती बालकले जीवनमा सबैभन्दा धेरै बिरालालाई नै देखेको सुनेको रहेछ। अनि बिरालोको जस्तो व्यवहार ऊभित्र उम्रिएको रहेछ, त्यसैले होला, उसले आफूलाई नि बिरालो सोच्दै हुर्किंदै थियो।’
शून्यको मूल्यमा यी हरफ पढिरहँदा संविधानको धारा ३९ को झलझली याद आयो, जसमा बालबालिकाको हक सम्बन्धी १० वटा उपधारा छन्। धारा ३९ (२) मा ‘प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन, सर्वाङ्गीण विकासको हक हुनेछ’ भनिएको छ। जन्मिएको सवा वर्ष पूरा हुँदा-नहुँदै बोल्न सक्नुपर्ने बालकको चार-चार वर्षसम्म बोली फुट्ने वातावरणसम्म नदेख्दा लाग्छ, संविधानले प्रत्याभूत गरेका ती बालअधिकार केही होइनन्, शिवाय निर्जीव शब्द।
संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेर राष्ट्रिय प्रतिवेदन तयार गर्ने विश्वकै पहिलो राष्ट्र पनि नेपाल नै हो। सन् २०३० भित्र पूरा गर्ने लक्ष्यमध्ये एउटा छ- सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवर्द्धन गर्ने। तर, पुस्तकका पानाहरू पल्टाउँदै जाँदा गरीबी अन्त्य, भोकमरी अन्त्य, स्वस्थ र समुन्नत समाज, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, स्वच्छ पानी जस्ता दिगो विकास लक्ष्यहरू कहिल्यै पूरा नहुने सपना जस्ता लाग्छन्।
यो पुस्तक रोग, भोक, गरीबी, अशिक्षा, अविकास, निराशा वा कुण्ठाकुण्ठाको संग्रह भने होइन। यसमा हाम्रो सरकार र संयुक्त राष्ट्रसंघले समेत धान्न नसक्ने आर्थिक तथा सामाजिक जिम्मेवारी विद्यालय टेक्नै नपाएका आमाहरूले कसरी कुशलतापूर्वक पूरा गरिरहेका छन् भन्नेमा यथार्थको चर्चा छ।आफ्ना नातिनातिनीलाई निःशुल्क स्याहारसुसार गरेर राष्ट्रको आर्थिक-सामाजिक श्रीवृद्धिमा हजुरआमाहरूले पुर्याएको योगदानको कथा छ। जस्तो- राराबाट सुर्खेत आउने क्रममा भेटिएकी कर्किनी हजुरआमा लेखकको नजरमा कर्णालीकी मोती हुन्। (पृष्ठ १७७) किन? यो प्रश्नको जवाफ खोज्न भने शून्यको मूल्यका पानाहरू पल्टाउनैपर्छ।
आमा-हजुरआमाहरूको संघर्ष र समर्पणको कथा भन्न डा. केसीले ‘आमार्थतन्त्र’, ‘पटुकी ब्याङ्क’, ‘नानीआमा’, ‘फुपूआमा’ जस्ता शब्द प्रयोग गरेका छन्। समाजसेवामा समेत लागेका उनी आफ्नो निष्कर्ष यसरी सुनाउँछन्, ‘कर्णालीमा बिरामी बच्चा बोक्ने आमाहरूको पूर्ण सकुशलतामा उस (डा. केसी)ले त्यो दिगो विकासको छुटेको शून्य भेटाएको थियो।’ हिमालखबर सँगको अन्तर्वार्तामा उनले भनेका छन्, “हामीलाई पढाउने प्राध्यापकहरू कपाल फुलेका र कोट लगाएका मात्र नहुने रहेछन्, सेवा (उपचार) लिन खाली खुट्टा, हाफ-प्यान्टमा खरका डोरीले बाँधेर आएका पनि हाम्रा प्राध्यापक हुने रहेछन्।”
‘जूनमा पनि दाग छ’ भने जस्तो यति गहन र चाखलाग्दो पुस्तक त्रुटिरहित भने हुन सकेको छैन। खासगरी सम्पादनमा पर्याप्त ध्यान दिइएको छैनन। द्वितीय पुरुष शैलीमा लेखिएको पुस्तकमा कतैकतै प्रथम पुरुषको प्रयोग भएको छ। जस्तोः केही दिनपछि मैले अस्पतालबाट निस्कँदै गरेको भीम काजीको जोडी देखें (पृष्ठ ९३)।
तीनदिने अविरल झरीपछिको पहिरोले अभिभावक बगाएपछि ‘बुधेकी फुपूआमा’ बुधेका बाबालाई बोकेर दैलेखबाट थातथलो छाड्न बाध्य हुन्छिन्। गाउँलेसँगै सामूहिक बसाइ सरेकी ‘बुधेकी फुपूआमा’ को मार्मिक कथा प्रस्तुत गर्ने क्रममा सम्पादकमण्डल अलमलिएको देखिन्छ। २०३९ सालताका ‘दिनभरी ढुङ्गा बोकेपछि महिलाले रु. ५०० र पुरुषले रु. ८०० पाउँथे’ (पृष्ठ ७०) भनिएको छ। चार दशक पहिले दैनिक ज्याला त्यति धेरै पाउने कुरा विश्वसनीय लाग्दैन। अर्को प्रसङ्गमा कथित दलित समुदायका हिक्मतबहादुर र भेडिनी कान्छीको पुजारीले मन्त्र पढेर मन्दिरमा विवाह भएको (पृष्ठ १५०) प्रसङ्ग पनि पाठकलाई पत्यारिलो लाग्दैन।
बेलायती दार्शनिक फान्सिस् बेकनले केही पुस्तक स्वादका लागि, बाँकी पुस्तक निल्नका लागि हुन्छ भने थोरै मात्रै पुस्तक मात्र चपाउन वा पचाउन लायक हुन्छ भनेका छन्। डा. केसीको शून्यको मूल्य बेकनको वर्गीकरणमा त्यही पछिल्लो परिभाषामा पर्ने पुस्तक हो।
पुस्तक : शून्यको मूल्य, लेखकः डा. नवराज केसी
प्रकाशकः साङ्ग्रिला बुक्स, मूल्यः रु. ४४८, पृष्ठः २४४