जसलाई राजा र प्रधानमन्त्री नै जागीरको प्रस्ताव गर्थे
स्वास्थ्य, मेडिकल शिक्षा, सामाजिक सेवा, मानव अधिकारका क्षेत्र लामो समय काम गरेका ९९ वर्षीय डा. गौरीशंकर लाल दास यति वेला भने आफ्नो नौ दशक लामो अनुभवलाई किताबमा उतार्ने तरखरमा छन्।
एक शताब्दी उमेर टेक्दै गरेको मान्छेले बाल्यकालको काठमाडौंलाई कसरी सम्झिन्छ होला? त्यो वेला भोलि गएर काठमाडौं कस्तो बन्छ भन्ने सोच्थ्यो होला? गाउँबाट बजार बन्दै गएको काठमाडौंसँगै हुर्किएका ९९ वर्षीय डा.गौरीशंकर लाल दास स्वास्थ्यकै प्रसङ्ग कोट्याउँछन्, “काठमाडौं यस्तो प्रदूषित होला भन्ने कसले सोचेको थियो होला र?”
काठमाडौंको चाबहिलस्थित निवासमा डा. दास विगत कोट्याउँदा घरी उत्साहित भए भने घरी भावुक। सात-आठ दशकअघिका किस्सा भनिरहँदा उनका आँखा चम्किला देखिन्थे भने अनुहार हँसिलो। जिन्दगीको अधिकांश समय काठमाडौंमै बिताए पनि डा. दासलाई उपत्यकाको वातावरण मन पर्दैन। झ्याल-ढोका बन्द गरेर बस्दा पनि धूलोले निसासिने गरेको सुनाउँछन्।
सवारी साधनले निम्त्याएको ध्वनि प्रदूषणले उनको एकाग्र भङ्ग गरिदिन्छ। केही कामले बाहिर निस्कनुपर्यो भने तनावको पारो चढ्छ। धूलो, धुवाँ, ट्राफिक जाम र ध्वनि प्रदूषणले बस्नलायक शहर बाँकी नरहेको गुनासो गर्दै डा. दास भन्छन्, “पहिला त यो शहरमा हरियाली थियो, खोलानाला सफा थिए, चराचुरुङ्गी देख्न पाइन्थ्यो। अहिले धूलोले पुर्ला भन्ने डर लाग्छ।”
बिग्रँदो पर्यावरणले उनको चित्त दुखेको छ। काठमाडौंको सुन्दरता जगाउन कसैको ध्यान नपुगेको देख्दा रिस पनि उठ्छ। जीवनको उत्तरार्धमा रमाइरहेका डा. दास कुराकानी गर्दागर्दै आठ दशकअघिको समयमा पुगे।
१९८१ सालमा उनी जन्मिँदा देशमा राणाशासन थियो। शिक्षण संस्था राणा र राजपरिवारका सदस्यका लागि मात्र खुलेका थिए। उनी जन्मिएको सिरहा त टाढाको कुरा भयो, काठमाडौंमै सबैका लागि शिक्षाको पहुँच थिएन। उनको गाउँ इनरुवा भने त्यो वेला पनि अपवाद थियो। गाउँका कायस्थ परिवारका सदस्य अशिक्षित थिएनन्। सीमा नजिक भएकाले भारतीय स्कूलमा गएर पढ्थे।
इनरुवा क्षेत्रका जमीनदार उनका पितामा पनि सन्तानलाई पढाउनुपर्छ भन्ने चेतना र हैसियत दुवै थियो। त्यसैले उनले शिक्षा लिन ठूलो संघर्ष गर्नु परेन। सीमापारि भारतको जयनगरस्थित विद्यालयबाट १९९७ सालमा ‘म्याट्रिकुलेशन’ (एसएलसी सरह) गरेपछि भागलपुर गएर आईएस्सी र बीएस्सी पढे। “पढाइ कहिल्यै पनि बोझ लागेन,” उनी सुनाउँछन्।
त्यति वेला बीएस्सीपछि इन्जिनीयरिङ र मेडिकल क्षेत्रतिर जाने बाटो खुल्थ्यो। उनी इन्जीनियर बन्न चाहन्थे, तर बुबाको सपना डाक्टर बनाउने थियो। त्यति वेलाको बम्बईमा इन्जिनीयरिङ पढ्न नाम पनि निकालेका थिए, तर पिताजीको सपना पूरा गर्न मेडिकलतिरै लागेको उनी बताउँछन्। र, २००७ सालमा पटना मेडिकल कलेजबाट एमबीबीएस गरेर नेपाल फर्किए, डा.दास। “सिरहामा काम गर्नका लागि अस्पताल थिएनन्। त्यसैले वीर अस्पतालमा काम गर्न काठमाडौं आएँ,” डा. दास काठमाडौं यात्रा सम्झिन्छन्।
अहिले जस्तो पढाइ सकेपछि जागीरका लागि भागदौड गर्नुपर्ने समय थिएन। योग्यता भएकालाई राज्यले खोजी खोजी जागीर दिन्थ्यो। डा.दासलाई जागीर पाउन कुनै समस्या भएन, वीर अस्पतालमा काम पाइहाले। त्यो वेला प्राविधिक विषयमा मौखिक अन्तर्वार्ता लिने गरिन्थ्यो। स्वास्थ्य सेवा विभागका तत्कालीन निर्देशक डा. जितसिंह मल्लले टन्सिल कसरी निकाल्नुहुन्छ भनेर सोधेको बताउँदै डा. दास भन्छन्, “त्यसको जवाफ दिनासाथ पास भएँ।”
उनी वीर अस्पताल आउँदा तीन जना मात्र डाक्टर थिए। काठमाडौंभरि पाँच जना डाक्टर थिए। वीर अस्पतालमा पुरुष र महिला विभाग थिए। पुरुष विभागमा काम पाएको उनी बताउँछन्। विभागका मेडिकल सुपरिटेन्डेन्ट डा. मजुमदार बंगाली थिए भने आउटडोरमा डा. एसएलदास गुप्ता, प्याथोलोजीमा डा. दिनेशानन्द वैद्य र डा. यज्ञराज जोशी थिए।
डा. दास त्यो वेलाको एक प्रसङ्ग सम्झन्छन्। मेडिकल सुपरिटेन्डेन्ट डा. मजुमदार एक जना बिरामीको हाइड्रोसिलको अपरेशन गर्ने तयारी गर्दै थिए। कम्पाउन्डरलाई एनेस्थेसियाको काम गर्न अह्राए। त्यो वेला ‘क्लोरोफर्म’ र ‘इथानल ड्रप’ सुँघाएर बेहोस बनाइन्थ्यो। “कम्पाउन्डरले तिनलाई बेहोस त बनाए, तर बिरामी उठेन,” डा. दास भन्छन्, “एनेस्थेसियाको बढी डोज दिएकाले बिरामीको अपरेशन नगरी मृत्यु भयो।”
त्यसपछि अस्पतालमा ठूलो हंगामा भयो। प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको निजी चिकित्सक भएकाले डा. मजुमदार जोगिए। त्यो घटना सम्झिँदै डा. दास भन्छन्, “अस्पताल घेराउ गर्ने मान्छे धेरै थिए। ठूलो हंगामा हुने निश्चित थियो, तर प्रधानमन्त्रीले बचाउनुभयो।”
उनका अनुसार, त्यति वेला गरीब परिवारका सदस्य मात्रै वीर अस्पताल उपचार गर्न जान्थे। धनी मानिसले घरमै डाक्टर बोलाएर उपचार गराउँथे। डा. दास पनि कैयौं पटक धनाढ्यको उपचार गर्न घर घरमा पुगेका थिए। घर पुगेर उपचार गरे बापत चिकित्सकले पाँच रुपैयाँ पाउँथे।
अहिले पनि उपचार प्रवृत्ति खासै फेरिएको छैन। धनी निजी अस्पतालमा जान्छन् भने गरीब वीर जस्ता सरकारी अस्पताल धाउँछन्। त्यो वेला वीर जाने बिरामी उपचार पाएर फर्कन्थे भने अहिले अनेक हैरानी खेप्नुपर्छ। “स्वास्थ्य क्षेत्रमा भौतिक परिवर्तन त धेरै भयो, तर स्वास्थ्यमा पहुँच उस्तै छ,” डा. दास भन्छन्।
वीर अस्पतालबाट टोखा सरुवा
वीर अस्पतालमा काम गरेको ६ महीना भइसकेको थियो। एक दिन स्वास्थ्य सेवा विभागका निर्देशक डा. जितसिंह मल्लले घुम्न जाने प्रस्ताव गरे। उनी पनि तयार भए। डा. मल्लले आफ्नो जीपमा हालेर बूढानीलकण्ठको दर्शन गराए। त्यसपछि तीन किलोमिटर पश्चिममा रहेको टोखा ‘स्यानिटोरियम’ पुर्याए। त्यो रमणीय ठाउँमा क्षयरोगका बिरामी राखिएका थिए।
घुमफिरपछि डा. मल्लले सोधे, “यहाँ काम गर्ने हो?” दायाँ-बायाँ नसोची काम गर्न मञ्जुर भएको डा. दास बताउँछन्।
त्यसको पहिलो कारण थियो, पारिश्रमिक। वीरमा मासिक दुई सय रुपैयाँ कमाउथेँ भने टोखामा २८५ तलब र थप भत्ता पनि पाइन्थ्यो। दोस्रो, डा. दासलाई त्यहाँको मनोरम वातावरणले पनि आकर्षित गर्यो।
टोखा स्वास्थ्य निवास भनिने केन्द्रको राशनमा एक डाक्टरले भ्रष्टाचार गरेको भन्दै क्षयरोगका बिरामीले आन्दोलन गरिरहेका थिए। त्यसैले डा. दासलाई त्यहाँ पठाइएको थियो। नियुक्त भएर गएपछि आन्दोलन साम्य भएको उनी सुनाउँछन्। “त्यति वेला क्षयरोगको कुनै प्रभावकारी औषधि थिएन। क्षयरोगका बिरामी समाजमा रहँदा अरूलाई पनि सरेर महामारीको रूप लेला भन्ने डरले टोखामा राखिएको थियो,” उनी भन्छन्।
त्यस्तै, सल्लाको हावा क्षयरोगका बिरामीलाई फाइदाजनक हुन्छ भन्ने पनि गरिन्थ्यो। कुहिरो नलाग्ने, घमाइलो र प्रदूषणमुक्त वातावरण भएकाले पनि स्वास्थ्य निवास बनाइएको थियो। ‘ए’, ‘बी’ र ‘सी’ गरेर तीन वटा कटेज बनाइएका थिए। त्यससँगै जनरल वार्ड र अफिसर वार्ड पनि थिए। कटेजमा राणा र शाही परिवारका सदस्यका साथै अन्य ठूलाबडालाई राखन्थ्यो भने सर्वसाधारणलाई जनरल वार्डमा।
ती कटेजमा तत्कालीन ‘कमान्डर इन चीफ’ किरणशमशेर जबराकी आमा, गायक बच्चुकैलाश, साहित्यकार बालकृष्ण समका छोरा, साहित्यकार हृदयचन्द्रसिंह प्रधान पनि उपचारका लागि बसेको उनलाई याद छ। “बिरामीको संख्या यति धेरै हुन्थ्यो कि त्यहाँ हत्तपत्त सीट खाली हुँदैनथ्यो। उपचार गर्न आउनेको सूची लामो भएकाले कसै कसैको त एक-दुई वर्षपछि मात्र पालो आउँथ्यो,” डा. दास भन्छन्, “सीट खाली भएपछि केन्द्रले चिठी लेखेर बोलाएपछि मात्र मानिसहरू आउँथे।”
उनी टोखाको डाक्टरको नामले चर्चित थिए। टोखामै रमाइरहेका थिए। स्वास्थ्य सेवा विभागका हाकिमहरू शहर नआएको भनेर गुनासो गर्थे, डा. दाससँग। वेलाबखत साङ्गीतिक र साहित्यिक गतिविधि पनि हुने गरेको उनी सुनाउँछन्। बिरामीले पनि रमाइलो मान्थे।
संगीतकार नातिकाजी मिल्ने साथी थिए। उनी शिवशंकर र पुष्प नेपाली सहित टोखा पुग्थे, गीत गाउँथे। कहिलेकाहीं तारादेवी पनि पुग्ने गरेको उनी सम्झन्छन्। “नातिकाजी र शिवशंकरले गाइरहँदा म बाँसुरी र ढोलक बजाउँथें,” डा. दास भन्छन्। पहिले हिन्दी गीत गाउने नातिकाजी र शिवशंकरले पछि मात्रै नेपाली गीत गाउन थालेको उनी बताउँछन्।
नातिकाजी र शिवशंकरका गीत सुनेर बिरामी पनि आफ्ना पीडा भुल्ने प्रयास गर्थे। त्यति वेला मनोरञ्जनको अर्को उपाय पनि थिएन। “साङ्गीतिक र साहित्यिक हस्तीहरू आइरहने हुनाले बढो रमाइलो हुन्थ्यो,” डा. दास मुस्कुराउँछन्।
त्यही वेला हो, उनले कैलाशराम श्रेष्ठको सहयोगमा ‘सङ्गम’ नामक हस्तलिखित भित्तेपत्रिका पनि निकाल्न थाले। जसले गर्दा लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, हृदयचन्द्र सिंह प्रधान लगायतका चर्चित साहित्यकारसँग सम्बन्ध जोडियो। त्यसमा चर्चित साहित्यकारका साथै बिरामीका लेखरचना छापिने गरेको उनी सुनाउँछन्।
डा. दास टोखामा कार्यरत हुँदा नेपालमा क्षयरोगीको संख्या झण्डै एक लाख रहेको याद छ। त्यति वेला धेरै मृत्यु गराउने रोगहरूमा क्षयरोग, हैजा र मलेरिया थिए। २००४ सालमा हैजाको महामारी फैलिंदा धेरैको मृत्यु भएको थियो। त्यसपछि दयावीरसिंह कंसाकारले पीडितलाई सहयोग गर्न परोपकार संस्था खोलेका थिए। त्यो प्रतिकूल अवस्थामा पनि उनले सेवा गरेका थिए।
नीतिगत तहमा प्रवेश
२०१७ सालमा पञ्चायती व्यवस्था शुरू भएपछि बनेको मन्त्रिपरिषद्मा डा. नागेश्वरप्रसाद सिंह स्वास्थ्य मन्त्री भए। डा. सिंह र डा. दास पटना मेडिकल कलेजका सहपाठी थिए। साथी मन्त्री भएकाले भेटघाट भइरहन्थ्यो। एक दिन डा. सिंहले ‘टोखामा किन बस्ने, शहरतिरै आउनुस्’ भने।
शहर तान्नको लागि टोखा स्वास्थ्य निवास र सेन्ट्रल चेस्ट क्लिनिक गाभिएको डा. दास बताउँछन्। डा. यज्ञराज जोशी मेडिकल सुपरिटेन्डेन्ट र उनी डेपुटी भए। केही समयपछि डा. जोशी स्वास्थ्य विभागको निर्देशक हुँदा डा. दास मेडिकल सुपरिटेन्डेन्ट भए। पछि विष्णुकुमार तुम्बाहाम्फे स्वास्थ्य मन्त्री बने। मन्त्रीले डा. जोशीलाई मेडिकल सुपरिटेन्डेन्टमै फर्काएर डा. दासलाई स्वास्थ्य विभागको निर्देशक बनाए।
डा. दासले विभागको नेतृत्व लिएका वेला विश्व स्वास्थ्य संगठनको पहिलो क्षेत्रीय बैठक नेपालमा भयो। त्यति खेर स्वास्थ्य सहित कुनै पनि मन्त्रालयमा योजना महाशाखा थिएन। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयमा योजना महाशाखा बनाउन परिपत्र गरेको थियो। उनकै पहलमा स्वास्थ्य मन्त्रालयमा योजना महाशाखा खोलियो र पहिलो ‘चीफ प्लानिङ अफिसर’ पनि उनी नै भए। स्वास्थ्यको पाँचौं विकास योजना डा. दासकै पालामा बनेको थियो।
दक्षिणएशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बैठकमा कुष्ठरोग निवारण गर्नका लागि एउटा सामाजिक संस्था गठन गर्नुपर्ने प्रस्ताव आयो। र, २०२६ सालमा कुष्ठरोग निवारण संस्था स्थापना भयो। डा. दास उपाध्यक्ष भए। त्यति वेला राजकुमारी शान्ति शाह त्यसको सदस्य थिइन्।
त्यो समयमा कुष्ठरोगका बिरामीलाई छि:छि:-दुर्दुर् गरिन्थ्यो। पूर्व जन्मको पापको कारण रोग लागेको भन्ने अन्धविश्वास थियो। राज्यले नै कुष्ठरोगीलाई खोकना र स्याङ्जाको मालिंगामा राखेको थियो। त्यहाँ २०० घर बनाइएका थिए। कुष्ठरोग निवारण संस्था स्थापनापछि खोकना र मालिंगाको कुष्ठरोगी बस्ने ठाउँको हेरविचार त्यही संस्थाले गरेको डा. दास सम्झन्छन्। ती घर बनाउने वेला स्थानीयले विरोध गरेको बताउँदै उनी भन्छन्, “कुष्ठरोग लागेका बिरामी राखेको गाउँका छोरीचेलीको विवाह हुँदैन भन्दै गाउँलेहरू आन्दोलित भएका थिए।”
डा. दास स्वास्थ्य सेवा विभागको निर्देशक रहँदा पञ्चायत नीति तथा जाँचबुझ केन्द्र अस्तित्वमा थियो। राजा वीरेन्द्रले केन्द्रमा काजमा बोलाए र २०३३ सालमा डा. दासकै संयोजकत्वमा प्रथम दीर्घकालीन स्वास्थ्य योजना बन्यो। योजनालाई राजा वीरेन्द्रले स्वीकृत गरेका थिए।
केन्द्रमा रहँदा दरबारका सचिवसँग खटपट पर्ने गरेको उनी बताउँछन्। एक पटक दरबारका सचिवको हप्की सहन नसकेर राजीनामा पत्र बुझाउन प्रधानमन्त्री डा. तुलसी गिरीकहाँ पुगे। “प्रधानमन्त्रीले राजीनामा नदिनुहोस् डा. साहब। तपाईं जहाँ भन्नुहुन्छ, त्यही पठाइदिन्छु भन्नुभयो,” डा. दास सुनाउँछन्।
२०३४ सालमा रानी ऐश्वर्यको अध्यक्षतामा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् गठन भयो। त्यसका विभिन्न समितिमध्ये स्वास्थ्य सेवा समन्वय समितिको सभापति प्रिन्सेप शाह भइन्। उनकै आग्रहमा डा. दास समितिको पहिलो सदस्य-सचिवका रूपमा काजमा खटिए।
अर्को वर्ष २०३५ सालमा राजा वीरेन्द्रले उनलाई लोक सेवा आयोगमा मनोनयन गरे। जहाँ उनले १२ वर्ष काम गरेपछि उमेर हदका कारण अवकाश पाए।
अझै पनि डा. दासको समयमा बनेका योजना र संरचना अनुरूप स्वास्थ्य क्षेत्रमा काम भइरहेको छ। समयसँगै प्रविधि, रोगका प्रकृति, बिरामीका संख्या बढे पनि स्वास्थ्य संरचनामा व्यापक परिवर्तन नभएको उनी बताउँछन्। विपन्न र दुर्गम भेगका नागरिकले अझै स्वास्थ्य सेवा नपाएको सुन्दा चकित पर्ने गरेको बताउँदै डा.दास भन्छन्, “स्वास्थ्य क्षेत्रमा समय अनुसार हुनुपर्ने परिवर्तन भएको छैन।”
अवकाशपछि झनै सक्रिय
अवकाशप्राप्त जीवन बिताइरहेका डा.दासको अरूको जस्तो नियमित क्लिनिक थिएन। सम्पर्क गरेर घरमै आउनेलाई जाँच्थे। केही सामाजिक काममा जोडिएका थिए। आरामसाथ दिन बितिरहेको थियो।
अवकाश पाएको १० वर्षपछि एक दिन अचानक प्रधानमन्त्री कार्यालयबाट फोन आयो। “मानव अधिकार आयोगमा सदस्य भएर जान इच्छुक भए-नभएको सोधियो,” डा. दास सम्झिन्छन्, “रेडक्रसको केन्द्रीय कार्यसमितिमा भएकाले जान नमिल्ने हो कि होइन भनेर अन्योल प्रकट गरें।”
अर्को दिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै फोन गरेर भने, “आउनुहोस् र आयोगलाई एउटा ट्र्याकमा ल्याउनुहोस्।”
प्रधानमन्त्रीले नै भनेपछि उनी मानव अधिकार आयोगको संस्थापक सदस्य भए।
माओवादी सशस्त्र द्वन्द्वको समय भएकाले आयोगमा काम गर्न चुनौती थियो। राज्य र विद्रोही दुवै पक्षले मानव अधिकार उल्लघंन तथा ज्यादतीका घटनाको रिपोर्टिङ गर्नुपर्थ्यो। देशको विभिन्न ठाउँमा गएर रिपोर्टिङ गरे, तर अपवाद बाहेक मानव अधिकार उल्लंघनका दोषीलाई कारबाही नभएको उनी बताउँछन्।
“रामेछापको दोरम्बा हत्याकाण्ड, कालिकोटको कोटबाडा हत्याकाण्ड, मैना सुनुवार हत्याकाण्ड जस्ता घटनाका दोषीलाई कारबाहीका लागि सिफारिश हुँदा पनि कारबाही भएन,” डा. दास निराश हुँदै भन्छन्, “यस्ता कैयौं घटनामा पीडितले न्याय नपाउँदा अहिले पनि दुःख लाग्छ।”
अहिले पनि उनी करीब एक दर्जन सामाजिक संस्थामा संलग्न छन्। क्षयरोग निवारण संस्था, रेडक्रस र परिवार नियोजन संघ जस्ता संस्थामा लामो समय काम गरेका उनी कुष्ठरोग निवारण संघ, बीपी कोइराला आई फाउन्डेशन, इम्प्याक्ट, पूर्व कर्मचारी सेवा परिषद्, नेपाल-भारत मैत्री समाज, चेस्ट तथा टीबी एशोसिएशन, अन्धा कल्याण संघको संस्थापक हुन्। राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ र अल्जाइमर्स तथा विस्मृति समाजको अध्यक्षका रूपमा नेतृत्व दिइसकेका उनी साहित्यिक संघसंस्थामा पनि सक्रिय छन्।
सय वर्षमा टेक्नै लागेका उनको स्वास्थ्य भने पहिले जस्तो छैन। विभिन्न दीर्घरोगका औषधि खाइरहेका डा. दासको बोली केही अस्पष्ट सुनिन्छ। आँखा प्रष्ट देख्ने उनको श्रवणशक्ति केही कम भएको छ। दर्जनौं मानसम्मान, पुरस्कार, पदवीबाट विभूषित डा. दास अझै पनि सामाजिक संस्थाले बोलाउँदा ‘नाइँ भन्न’ नसक्ने बताउँछन्।
नेपालमा स्वास्थ्य क्षेत्रको प्रारम्भिक चरणदेखि नै उनले काम गरेका छन्। मेडिकल कलेज स्थापनाका लागि नीतिगत पहल गरेकाले उनलाई मेडिकल शिक्षाको जग बसालेको जस दिइन्छ। नेपालमा मात्रै नभएर विश्व स्वास्थ्य संगठनमा कार्यरत रहँदा माल्दिभ्सको पहिलो स्वास्थ्य योजना समेत बनाएका थिए।
अहिले आफूले काम गर्ने क्रममा सिकेका कुरा, भोगेका चुनौती र पछिल्लो समय देखेको स्वास्थ्य क्षेत्रको समस्याको मन्थन गरेर किताब लेख्ने तयारी गरिरहेको उनी सुनाउँछन्। ९९ वर्षीय डा. दास भन्छन्, “दौडधुप धेरै भयो जिन्दगीमा। अब घरमै लेखपढ गरेर दिन कटाउन चाहन्छु।”