मधेशको सभामुखमा दुई जनाको उम्मेदवारी
मधेश प्रदेशको सभामुखका लागि दुई जना प्रदेश सभा सदस्यले उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार नेकपा (एमाले) का प्रदेश सभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसका प्रदेश सभा सदस्य जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका हुन्।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका एमाले सांसद मण्डल धनुषा १ ‘ख’ बाट निर्वाचित भएका हुन् भने कांग्रेसका राय सर्लाही २ ‘ख’ बाट निर्वाचित भएका हुन्।
मण्डलको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता भरत साह तथा समर्थकमा जनमत पार्टी संसदीय दलको नेता महेश यादव र लोकतान्त्रिक समाजवादी पार्टी सांसद रानीशर्मा तिवारी छन्।
त्यस्तै, कांग्रेसका उम्मेदवार रायको प्रस्तावकमा कुमारकान्त झा र समर्थकमा जिवछीदेवी यादव छन्। सभामुखका लागि माघ २ गते निर्वाचन हुनेछ।