सुदूरपश्चिममा सभामुखका लागि आज पुनःमतदान हुने
सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि आज साँझ ६ बजे फेरि मतदान हुने भएको छ।
आज बसेको सर्वदलीय बैठकले पुनःमतदान गर्ने सहमति गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। यसअघि पुस २७ गते भएको मतदानमा कसैले बहुमत प्राप्त गर्न सकेका थिएनन्।
त्यसपछि पुनः मतदान गर्ने विषयमा विवाद भएको थियो। जसले गर्दा प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
सर्वदलीय बैठकले सहमति गरेसँगै पुनःमतदानका लागि तयारी थालिएको प्रदेश सभा सचिवालयले जनाएको छ। सभामुखका लागि सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्।
सुदूरपश्चिम प्रदेश सभामा ५३ सांसद छन् भने बहुमतका लागि २७ सांसद आवश्यक पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र सांसद एक जना छन्।