यसरी गरियाे मुन्धुमको अनुवाद‚ लिप्यन्तर र सम्पादन
पछिल्लो समय मौलिक र पूर्ण मुन्धुम अनुष्ठान गर्न सक्ने फ़ेदाङ्मा, साम्बा, य़ेबा-य़ेमाहरू पाइँदैन। यसले राष्ट्रकै पुरानो र रैथाने सम्पदा नासिने अवस्थामा भएको संकेत गरेको छ। त्यसैले त्यसलाई बचाउन मुन्धुम ग्रन्थ प्रकाशन गरिएको हो।
मुन्धुम बिर्सन (मुःन्) गाह्रो (थुम्) हुने अविस्मणीय घटनाहरूको सँगालो हो। मुन्धुम मन–मष्तिस्कबाट बिर्सन वा हटाउन गाह्रो हुने वा नसकिने हुन्छ। बिर्सिए त्यसको परिणाम पनि धेरै मूल्य चुकाउनुपर्ने खालको नै हुन्छ। त्यसैले मुन्धुम जीवनलाई मार्गनिर्देश गरिरहने अनुभव र अनुभूतिजन्य ज्ञानको सँगालो हो।
भाषाको विकास नहुँदा मानव पुर्खाले आफ्ना अनुभव र अनुभूतिमार्फत् प्राप्त ज्ञानलाई विभिन्न सङ्केत (प्रतीक) चित्र र संरचनामा परिणत गरी राखे। भाषाको विकासपछि अनेक पुस्ताले जीवनमा भोगेका विशेष अनुभव र अनुभूतिजन्य ज्ञानलाई विभिन्न कथा, दन्त्यकथा वा मिथकका रूपमा भन्न र विचारका रूपमा व्यक्त गर्न थाले। जीवन भोगाइका क्रममा अद्भुत, अनपेक्षित र अपेक्षाकृत विशेष सफलताका घटनाहरूको अनुभव र चेतनामूलक ज्ञानको सङ्ग्रह नै मुन्धुम हो। यो बुझाइलाई मुन्धुमका पात्र, घटना, संरचना, संस्कार, भाव र त्यसप्रतिका विश्वासले प्रष्ट पार्दछ। मुन्धुमलाई आज पनि जीवन सञ्चालन र दर्शनका रूपमा मान्ने र लिने गरिन्छ। मुन्धुम निरन्तर बनिरहने र तत् समाज तथा समुदायलाई चलाइरहने गतिशील ज्ञान-प्रणाली हो।
लेख्य परम्पराको विकास नभएसम्म मुन्धुमलाई मौखिक रूपमै भन्दै पुस्तान्तरण गर्दै ल्याइयो। लिपिको विकासपछि मुन्धुमलाई लिखित रूपमा राख्ने परम्परा बस्यो। धेरै मुन्धुमहरू लेखिए। तिनका विभिन्न दृष्टिकोणबाट व्याख्या–विश्लेषण भएर। भइरहेका छन्। यसले ती समुदायलाई आफ्नो मौलिक ज्ञान र पहिचानको चरमचुलीमा पुर्याएको छ।
त्यसो त कुनै पनि समुदायका यस्ता मौखिक परम्परामा आधारित ज्ञानलाई लिखित गर्ने वा नगर्ने भन्ने बहस पनि छ। यसका फाइदा र बेफाइदा पनि छन्। तर, विविध कारणले मौखिक परम्परामै जीवन्त रहन नसक्ने अवस्था आएपछि लिखित गर्ने बाध्यता हुन्छ। लेखी नराखे सो ज्ञान परम्परानै सधैंका लागि मासिने खतरा रहन्छ। मौखिक ज्ञान परम्परा सदा जीवन्त नरहन सक्दछ। त्यसैले त्यसको मूल भाव र मर्म नमारी सामयिक संश्लेष्ण र परिमार्जन पनि गर्दै जानुपर्ने हुन्छ। त्यसका लागि अभिलेखित गर्न आवश्यक हुन्छ।
हालको विश्व मानचित्रको उत्तरपूर्व तथा दक्षिण पूर्व एशियाको हिमालय तथा समतल क्षेत्रमा हजारौं वर्षअघि एक मानव सभ्यताको उद्भव र विकास भयो। सो मानव सभ्यता मानवशास्त्रीय हिसाबले चिनिने मङ्गोलोइड् समूहको थियो। यिनले विशेषतः ह्वाङ्हो नदी (येल्लो रिभर) र याङ्जे (याङ्सी) नदीको किनारका फाँटिलो मैदान र समीपका पहाडमा एक वा विभिन्न सभ्यताको विकास गरे। तिनै सभ्यताका मानव समुदायहरू विभिन्न चरण र समूहमा हालको उत्तरपूर्वी तथा दक्षिणपूर्वी एशियाभर फैलिए। तीमध्ये केहीले विशेषतः मुन्धुम ज्ञान परम्परा, धान र कोदोको खेती, धाननाच, रेशम तथा कपास खेती, तान बुन्ने परम्परा, च्याब्रुङ नाच्ने संस्कृति, माङ्ग़ेन्ना, तङ्सिङ, नाहाङ्मा, फ़ेदाङ्मा र साम्साःमा तथा युमासाम् र थेबासाम् लगायतका सांस्कारिक परम्पराहरू चिनिया–तिब्बत–बर्मी वा हिमाली भाषाका माध्यमबाट याक्थुङ् लाजे लिम्बुवानमा इम्बिरी याम्धाःङ्वा (तमोर) लगायतका सभ्यतालाई निरन्तरता दिई विकास गरे।
यस सभ्यताकाले विकास गरेको मुन्धुम हजारौं वर्ष मौखिक रूपमै पुस्तान्तरण भइरह्यो। यसैकारण, यसमा विविधता पनि देखियो। तर, पछिल्लो राज्यनीति, आधुनिकता, पुँजीवाद, विश्वव्यापीकरण तथा उपनिवेशवादी वैश्विक तथा क्षेत्रीय नीतिका कारण मौखिक परम्परामा आधारित मुन्धुमी ज्ञान परम्परा जस्ताको जस्तै बच्न मुस्किल पर्यो। यसैले, मुन्धुम ज्ञान परम्परालाई लिखित रूपमा अभिलेखन गर्नुपर्ने अवस्था आयो। मौखिम मुन्धुमको सङ्कलन तथा लेखनमा बी.एज. हज्सन (सिरिजङ्गा सिङ्थेबे र जोभानसिंह फागो लगायतमार्फत्), इमानसिंह चेम्जोङ, बैरागी काइँला र चैतन्य सुब्बा लगायतको योगदान रह्यो। यसैको आधार र मेसोमा ‘याक्थुङ साम्जिक मुन्धुम’ सङ्कलन, सम्पादन र अनुवादको सिलसिला पनि अघि बढेको हो।
मुन्धुम सङ्कलन
पहिले पहिले ‘मुन्धुम जहाँतहीँ जो कोहीलाई भन्नु हुँदैन’ भन्ने मान्यता थियो। जोकोहीलाई जहाँतहीँ भनियो वा सुनाइयो भने मुन्धुमको शक्ति नै घट्दछ भन्ने विश्वास थियो। त्यसैले कुनै अनुष्ठान गरेको वेलाबाहेक मुन्धुम भनिंदैन थियो। मुन्धुम सुन्न वा बुझ्न कुनै कर्म वा अनुष्ठान नै पर्खनु पर्दथ्यो। पछिबाट, तिनै मुन्धुमका ज्ञाता फ़ेदाङ्मा, साम्बा र य़ेबा–य़ेमा लगायतले अनुष्ठान गर्दा वाचन गरेका मुन्धुमलाई टिपेर वा रेकर्ड गरेर सङ्कलन गर्न थालियो। अझ पछि अनुष्ठान नगरी उनीहरूलाई सोधेर मुन्धुम टिप्न र रेकर्ड गर्न थालियो।
पहिले, गुरुदीक्षित भएका फ़ेदाङ्मा, साम्बा, य़ेबा–य़ेमाभन्दा पनि तुम्म्याहाङ्बाट मुन्धुम सङ्कलन र प्रकाशन भयो। पछि, केही गुरुदीक्षित याःसाम् (बिजुवा)ले आफूले जानेका मुन्धुम लेखेर प्रकाशन गर्न थाले। यो ‘याक्थुङ साम्जिक् मुन्धुम्’ गुरुदीक्षित भई अभ्यासमै रहेका याःसाम्ले सङ्कलन गरेको हो। दुई हजारभन्दा बढी पृष्ठ भएको यस मुन्धुम ग्रन्थमा ६५ वटा मूल मुन्धुम र अनुष्ठान समेटिएका छन्।
यो मुन्धुम ग्रन्थ विशेषतः मुन्धुम उद्गम क्षेत्र मानिने इम्बिरी याङ्धाःङ्वा (तमोरखोला, फावाखोला र मिक्वाखोला आदि) आसपासका फ़ेदाङ्मा, साम्बा, य़ेबा (य़ेमा) र युमासाम्को सामूहिक संलग्नतामा सङ्कलन गरिएको हो। साथै, अन्य थुमका बिजुवा र तुम्म्याहाङ् समेतको परामर्श र समीक्षा सहित सम्पादन, अनुवाद र लिप्यन्तर गरिएको हो। त्यसैले यसको आधिकारिकता र विश्वसनीयता रहनेछ।
मुन्धुम सम्पादन
यस मुन्धुम सम्पादन गर्दा मूल संकलकले जे संकलन गरेका थिए त्यसलाई तोडमोड नगरी जस्ताको तस्तै तर भाषाशैली र संरचनाका हिसाबले सकेसम्म शुद्ध, सुबोध बनाउनु थियो। सम्पादनका क्रममा कुनै अस्पष्ट, असङ्गत र अप्रासङ्गित लाग्ने विषय, प्रसङ्ग, खण्ड, हरफ र शब्द सङ्कलकहरूसँगकै सहमतिमा सच्याइएको छ।
यस मुन्धुमको सम्पादन र अनुवादको जिम्मा २०७४ पुसमा प्राप्त भयो। मुख्य सङ्कलक पूर्णप्रसाद तबेबुङ् (कमल)ले काठमाडौंमा भेटेर कामबारे विस्तृत सुनाउनुभएको थियो। वहाँले, शुरुमा २१३ पृष्ठ पाण्डुलिपि देखाउनुभयो। पाण्डुलिपि याक्थुङ् (लिम्बु) भाषा–देवनागरी लिपिमा थियो। गोप्य रुपमा सम्पादन र अनुवाद गर्नुपर्ने शर्त रह्यो। काम लिम्बुवानमै बसेर गर्नुपर्ने भयो। परिस्थिति सहज नभए पनि मिलाएर गर्ने हेतुले मैले ‘हुन्छ’ भनें।
सम्पादन र अनुवादको काम २०७४ माघदेखि शुरु भयो। २०७६ सम्ममा तीन–चार पटक करीब तीन–चार झापाको बुद्धशान्तिको बुधबारेमा बसेर काम गर्नुपर्यो। त्यहाँ सङ्कलक र मुन्धुमविद् तुम्म्याहाङ्हरूसँग पटकपटक संवाद र अन्तरक्रिया भए। यही वेला मुन्धुममा भएका केही अस्पष्ट र असङ्गत पक्षहरूबारे सोधखोज गरें। वहाँहरूले खुलस्त बताइदिनुहुन्थ्यो। यसले मुन्धुम र यसका अनेक पक्ष बुझ्ने र सोही अनुसार काम गर्ने वातावरण भयो। कार्यक्षेत्रमै रहँदा तुङ्दुङ्गे साम्माङ् लगायतका केही अनुष्ठान सङ्कलकले नै सम्पन्न गरेको अवलोकन गर्ने मौका समेत मिल्यो।
सङ्कलकहरूसँग बसेर काम गर्दा पहिले मुन्धुममा भएका अस्पष्ट, असङ्गत र अप्रासङ्गिक विषय, खण्ड, हरफ र शब्द चिह्न लगाउने काम भयो। त्यसपछि भन्न र लेख्न खोजिएको कुरा बुझिने गरी याक्थुङ भाषालाई देवनागरी लिपिमा आलेखन गर्दा अपनाउनुपर्ने नियम र लगाउनु पनि उपचिह्न वा मात्राहरू लगाएर प्रष्ट, शुद्ध र सुसङ्गत बनाउने काम भयो। प्रत्येक मुन्धुमको परिचय खण्ड थपेर आवश्यक सामग्री, गर्ने विधि र नोट राखे पूर्णता दिइयो।
यसपछि, मुन्धुमलाई खस–नेपाली भाषामा उल्था गर्न मुन्धुमको एक हरफमा हुनुपर्ने अक्षरसङ्ख्या अनुसार टुक्रा पार्ने काम भयो। त्यसपछि खस–नेपाली उल्था खण्ड बनाई सङ्कलहरूसँगै बसेर वहाँहरूकै बुझाइ अनुसार मुन्धुमी शब्दहरूको अनुवाद भयो।
मुन्धुम सम्पादनका क्रममा पुनर्खोज गर्न सङ्कलकसँग तमरखोलाको लिङ्खिम र सङ्सङ्बो, फक्ताङ्लुङ्सम्म पुग्यौं। त्यहाँका साम्बा, य़ेबासँग भेटी कतिपय मुन्धुम सन्दर्भमा अन्तिम निर्क्यौलमा पुर्यायौं। यसै सिलसिलामा पाँचथरको यासोक क्षेत्रमा पुगेर थप अध्ययन अनुसन्धान भयो।
मुन्धुमको अन्तिम अनुवाद र लिप्यन्तरण काठमाडौंमा भयो। काठमाडौंमा पनि पटक पटक परामर्श भयो। यसमा चैतन्य सुब्बाको टिप्पणी, समीक्षा र सुझाव विशेष महत्त्वको रह्यो। यसरी, सम्पादन, अनुवाद र लिप्यन्तरणको करीब अन्तिम चरणसम्म नै अपूरा मुन्धुमलाई पूरा गर्न छुटेका मुन्धुमलाई थप्ने र सच्याउने कार्य सङ्कलक समूहबाट भइरह्यो।
मुन्धुम अनुवाद
अनुवादकले मुन्धुमको अनुवाद आफूखुशी गरेनन्। अनुवादका क्रममा सङ्कलकले कसरी बुझेका छन्? त्यही भाव, आधार र आशयमा अनुवादमा जोड दिइएको छ। यसका लागि केही नबुझिने मुन्धुमी शब्दहरूको सङ्कलकमार्फत् बोध गर्ने प्रयत्न भयो। यसका लागि करीब एक महीना सङ्कलकहरूसँगै बसेर आधारभूत अनुवादको कार्य भयो। त्यसपछि, मुन्धुमको सङ्गति, प्रसङ्ग र समग्र मुन्धुमदर्शनका आधारमा अर्थ्याउँदै अनुवाद गर्ने कार्य भयो। कतिपय ठेट र विशिष्ट मौलिक मुन्धुमी शब्दहरूलाई समानान्तर लक्षित भाषामा उल्था नगरी सोही मूलभाषामै राखिएका छन्।
अनुवाद गर्दा मुन्धुमको विशेषताका रूपमा रहेको पछि वा अघि अनिवार्य रूपमा जोडा भएर आउने द्विपदीय वा योगात्मक शब्दहरूलाई स्थान, विशेषता, प्रकार्य र सन्दर्भ अनुसार कतै पर्यायवाची शब्द, कतै विशेषण र कतै क्रियाविशेषण आदिका रूपमा समेत अर्थ्याएर उल्था गरी राखिएका छन्। यसले ती शब्दहरूलाई उचित रूपमा अर्थ्याउन र सही उल्था गर्ने प्रयत्न भएको महसुस गर्न सकिन्छ। कुनै विशेष शब्दहरूको अर्थलाई पछि पनि अन्वेषण गर्न सकियोस् भन्ने ध्येयले लिम्बु भाषामै राखेर त्यसको सान्दर्भिक अर्थलाई सँगसँगै समेत राखिएको छ। मुन्धुममा सारा विश्वब्रह्माण्डकै सृष्टिकालदेखि हालैसम्मका वर्णन आउँछ। ती सबैलाई खस–नेपाली भाषामा अनुवाद गर्दा कतिपय शब्दको अर्थ पहिल्याउने निक्कै कठिन भयो।
सम्पादन, अनुवाद र लिप्यन्तर अनुभव
मलाई मुन्धुमप्रतिको चासो र भोक थियो। व्यवहार र अभ्यासमा रहेका मुन्धुमहरू कसरी थाहा पाउन र जान्न पाउने भन्ने हुटहुटी जागेको थियो। सुनेका र अध्ययन गरेका केही मुन्धुमले प्यास मेटाउन सकेको थिएन। यसैबेला, यो मुन्धुम ग्रन्थको सम्पादन, अनुवाद र लिप्यन्तरण जिम्मेवारी आयो। आफ्नो समुदाय र राष्ट्रकै एक सम्पदा हुने अपेक्षा र आफूले पनि थप कुरा जान्ने र बुझ्ने अभिलाषाले काम गर्ने हिम्मत गरें।
यो काम अवसर र चुनौती दुवै थियो। जिम्मेवारीमा आएको सबै कुरा जान्ने पूर्ण ज्ञान त मसँग थिएन। तर, सबै पक्षलाई आधारभूत रूपमा बुझ्ने र जिम्मेवारी अनुसार काम गर्ने सम्भावना थिए। त्योभन्दा बढी त यो कामलाई जिम्मेवारी अनुसार इमान्दारपूर्वक न्याय गर्ने भावना थियो। यसलाई सम्बद्ध समुदायको अत्यावश्यकतालाई पूर्ति गर्नका लागि आधारभूत रूपमा चाहिने कुरा पूरा गर्ने केही स्रोत–सन्दर्भ र दृढ सङ्कल्प थियो। त्यही सङ्कल्पले सोचेभन्दा केही बढी समय लगाएर, सोचेभन्दा धेरै समस्या र चुनौती सामना गरेर यस रूपमा ल्याउने काम भयो।
मुन्धुम सङ्कलनका क्रममा विदेशी विद्वान बी.एच. हज्सनको मुन्धुम सङ्कलन र अभिलेखीकरण एक कोशेढुङ्गा सावित छ। त्यसैगरी, इमानसिंह चेम्जोङले पनि सङ्कलन र अनुवाद गरी आधारस्तम्भ तयार गर्नुभएको छ। पछिल्लो चरणमा, बैरागी काइँलाले मुन्धुम सङ्कलन, अनुवाद र सम्पादन गर्नुभएको छ। यसका साथै अरू तुम्म्याहाङ तथा मुन्धुम अभ्यासकर्ताले पनि सङ्कलन, अनुवाद र सम्पादन गरेका छन्।
यद्यपि‚ फ़ेदाङ्मा, साम्बा, य़ेबा–य़ेमा र युमासाम् आदिबाटै मुन्धुमको सङ्कलन र लेखन भएको थिएन। त्यसमा पनि सबै पक्ष र विधाका अभ्यासकर्ताले सामूहिक रूपमा बहस छलफल गरेर गरिनु पर्दथ्यो। सोही बाँकी काम यस मुन्धुम ग्रन्थको सङ्कलन र लेखनबाट पूरा भएको छ। यस कामले ‘यस्ता मुन्धुमका अभ्यासकर्ताहरू एकापसमा मिल्दैनन्। ईर्ष्या गरी तन्त्रमन्त्र ज्ञानले भेद गर्ने र बान हानाहान गरेर अरूलाई सिध्याई आफू पनि सिद्धिन्छन्’ बुझाइलाई रूपान्तरण गरिदिएको छ। त्यस्तै‚ ‘मैले सङ्कलन गरी लेखेकै शतप्रतिशत सही हो’ दम्भलाई पनि तोडेको छ।
सरदर चार पुस्ता एकैसाथ बाँचिरहेको हुने रहेछ। यसमा अहिलेको दोस्रो वा तेस्रो पुस्ताले पुर्खाले हजारौं वर्षदेखि बचाउँदै आएका मुन्धुम, भाषा, संस्कार–संस्कृति र मूल्य–मान्यताहरू बचाएर अर्को पुस्तालाई हस्तान्तरण गर्न सकिरहेका छैनौं। अर्थात् अहिलेका नयाँ पुस्तामा यी कुराहरू पहिलेजस्तै सहज गरी हस्तान्तरण भइरहेका छैनन्। राज्यको एकात्मक–केन्द्रीकृत नीति, विश्वपुँजीवाद वा उदारवादी अर्थतन्त्र, उपनिवेशवाद, विश्वव्यापीकरण, बसाइँसराई र कथित आधुनिकताले यस्तो भइरहेको छ। यस्तो परिस्थितमा पहिचानजनित सम्पदाहरू जस्ताको तस्तै रहने अवस्था कम छ। त्यसैले मुन्धुमलाई लिखित रूपमा दस्ताबेजीकरण र आवश्यक परिमार्जन गरेर कामयावी रूपमा बचाउनु चुनौती रहेको छ।
हाम्रा अग्रजपुस्ताले यो परिस्थितिलाई मध्यनगर गरी मुन्धुम सङ्कलन, लेखन, अनुवाद र सम्पादन गरी प्रकाशन गर्न थाले। यसको अपूरो पक्षलाई पूरा गर्दै विशेषतः आफ्नो मूल थातथलो छाडेका फ़ेदाङ्मा, साम्बा, य़ेबा र युमासाम्हरूले पनि आफूले जानेका मुन्धुम र गरेका अभ्यासलाई दस्ताबेजीकरण गरिराख्नुपर्ने जरुरत देखे। यसैको परिणाम ‘याक्थुङ साम्जिक मुन्धुम’ प्रकाशन भएको हो।
पछिल्लो समय लिम्बुवानका धेरै ठाउँमा मौलिक र पूर्ण मुन्धुम अनुष्ठान गर्न सक्ने फ़ेदाङ्मा, साम्बा, य़ेबा-य़ेमाहरू छैनन्। आफ्नो ज्ञानशास्त्र कमजोर भएपछि अरूको ज्ञानशास्त्रले विस्थापित गर्ने वा ओगट्ने खतरा पनि त्यतिकै बढ्यो। यससँगै राष्ट्रकै एक पुरानो र रैथाने सम्पदा नासिने अवस्था बन्यो। यसबाट जतिसक्दो बच्ने र बचाउने उपाय गर्न पनि यो मुन्धुम ग्रन्थ आवश्यक भएको हो।
(आङ्बुङ याक्थुङ साम्जिक मुन्धुमका सम्पादक र अनुवादक हुन्।)