शीतलहरमा दाउरा वितरण गर्ने मधेश सरकारको निर्णय
मधेश प्रदेश सरकारको पहिलो बैठकले शीतलहरको समयमा दाउरा वितरण गर्ने निर्णय गरेको छ।
मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूको शपथपछि शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले शीतलहरबाट बच्न प्रत्येक स्थानीय तहलाई दाउरा वितरण गर्ने निर्णय गरेको हो। प्रदेशका १३६ वटै स्थानीय तहलाई दाउरा वितरण गरिने मन्त्री वसन्त कुश्वाहाले बताए। त्यसपछि स्थानीय तहले गाउँगाउमा दाउरा वितरण लगाइने भएको छ।
अहिले मधेश प्रदेशसँग तराईमा शीतलहर चलेको छ। बाक्लो हुस्सु र कुहिरो लाग्दा चिसो बढेको छ।
यससँगै मन्त्रिपरिषद् बैठकले गत पाँच वर्षमा प्रदेश सरकारले गरेका कामको मूल्यांकन तथा समीक्षा गर्ने निर्णय गरेको मन्त्री कुश्वाहाले जानकारी दिए। प्रदेश सरकारले गरेका कामको मूल्यांकन तथा समीक्षा सहितको रिपोर्ट तयार पार्नका लागि उच्चस्तरिय समिति समेत गठन गरिएको उनले जानकारी दिए। उनका अनुसार समितिलाई रिपोर्ट तयार पार्नका लागि १५ दिनको समय दिइएको छ।
त्यस्तै, मधेश सरकार मातहत रहेका प्रत्येक सरकारी कार्यालयमा गुनासो पेटिका राख्ने निर्णय पनि गरेको छ। गुनासो पेटिकामा संकलन भएका गुनासालाई प्रत्येक दिन मुख्यमन्त्री कार्यालयमा पु¥याइने व्यवस्था गरिनेछ।