बागमतीको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित
बागमती प्रदेश सभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भुवन पाठक निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा उनी ६२ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन्। उनी सत्तारुढ गठबन्धनको तर्फबाट सभामुखको उम्मेदवार बनेका थिए।
उनलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र हाम्रो नेपाली पार्टीले समर्थन गरेका थिए। प्रदेश सभामा बहुमतका लागि ५६ सांसद आवश्यक पर्छ।
त्यस्तै, सभामुखका उम्मेदवार नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ र नेपाल मजदूर किसान पार्टीकी सिर्जना सायजुले तीन मत प्राप्त गरिन।
११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादीका २१, राप्रपाका १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।