पर्यटनबाट भएको आम्दानीभन्दा धेरै रकम विदेश पढ्न जानेले लगे
यो आर्थिक वर्षको पहिलो पाँच महीना (साउन-मंसीर) मा नेपालमा भ्रमण गर्न आउने विदेशीबाट २३ अर्ब ६३ करोड रुपैयाँ भित्रिएको छ।
पर्यटन गतिविधि बढेसँगै पर्यटकको आगमन बढेपछि गत वर्षको यही अवधिका तुलनामा यस्तो आय १३३ प्रतिशत बढेको हो। तर, नेपाल घुम्न आउने पर्यटकबाट भएको आम्दानीभन्दा धेरै रकम विदेश जाने नेपालीले लगिरहेको तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार, मंसीरसम्म विदेशमा घुम्न, पढ्न जाने नेपालीले ४२ अर्ब सात करोड रुपैयाँ देश बाहिर पु¥याएका छन्। यो गत वर्षको यही अवधिका तुलनामा ६४ प्रतिशत बढी हो।
विदेश गएका नेपालीले लगेको रकममध्ये दुई तिहाईभन्दा बढी विदेशमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीले लगेका छन्। केन्द्रीय ब्यांकका अनुसार, विदेशमा पढ्न जाने नेपालीले मंसीरसम्म २८ अर्ब ८० करोड रुपैयाँ विदेश लगेका छन्। यो गत वर्षको यही अवधिमा तुलनामा ११३ प्रतिशत धेरै हो। कोभिड-१९ महामारी मत्थर भएसँगै विदेशमा पढ्न जान सजिलो भएपछि हजारौं नेपाली विद्यार्थी वैदेशिक अध्ययनमा गइरहेका छन्।
नेपालबाट घुम्न, पारिवारिक भेटघाट, औषधोपचार तथा शिक्षाका लागि विदेश जानेको संख्या पछिल्ला वर्षमा तीव्र गतिमा बढिहरेको छ। यसले गर्दा देशको विदेशी मुद्राको सञ्चितीमा चाप परिरहेको देखिन्छ। विदेश जानेले हवाई यातायातमा पनि ३५ अर्ब ६२ करोड खर्च गरेको तथ्यांकले देखाएको छ।
यातायातको खर्च गत वर्षको तुलनामा १२.६ प्रतिशत घटेको छ। नेपालबाट हवाई उडान गर्ने अधिकांश वायुसेवा कम्पनी विदेशी रहेका कारण यात्रुले तिरेको रकम विदेशिन्छ।
राष्ट्र ब्यांकका अनुसार, देशले मंसीरसम्म विदेशमा वस्तु निर्यात गरेर ६७ अर्ब ३० अर्ब आम्दानी गरेको छ। कार्पेटदेखि जुटसम्म, अलैंचीदेखि पस्मिनासम्म भारत, चीन र सात समुद्र पारी पुर्याएर विदेशी मुद्रा आर्जन सम्भव भएको थियो।
निर्यात गरेर भएको आम्दानीभन्दा बढी रकम विदेश जाने नेपालीले खर्च गरिरहेको देखिन्छ। यातायातको खर्च, भ्रमण खर्च (अध्ययनसमेत) जोड्दा कुल निर्यात गरेर भएको आम्दानीभन्दा बढी खर्च भइरहेको छ।