सहमति नहुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
सभामुख चयनका विषयमा सहमति नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ।
शुक्रबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। आज सभामुखको निर्वाचन हुने तय गरिएको थियो।
प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी अर्को बैठक नबोलाएसम्म अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ। प्रदेश सभा सचिव देवबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, “सभाको तेस्रो बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराउँछौँ।”
यसअघि पुस २७ गते भएको निर्वाचनमा सभामुखका कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न सकेका थिए। त्यसपछि के गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।
सभामुखका लागि नेकपा (माओवादी केन्द्र) का भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ।