सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश
बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।
उच्च अदालत, पाटनले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको सूचना अधिकारी दिनेश पौडेलले बताए। पौडेलले भने, “२० लाख धरौटीमा रिहा गर्न आदेश भएको छ।”
न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलाशले जिल्ला अदालतको आदेश उल्टाउँदै पुर्पक्षका लागि धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
लामिछानेले गत भदौ ५ गते राति नाबालिकालाई गौशालास्थित एक होटलमा पुर्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ। प्रहरीको अनुसन्धानपछि गत कात्तिक १४ गते १० देखि १२ वर्ष कैद सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग सहित उनी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
त्यसमाथि कात्तिक २८ गते सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो।
त्यसका विरुद्ध उनी गत कात्तिक २९ गते उच्च अदालत पुगेका थिए। उच्च अदालतले केही शर्त सहित उनलाई रिहा गर्न आदेश दिएको हो।
उच्च अदालतका सूचना अधिकारी पौडेलका अनुसार लामिछानेलाई देश छोड्न भने रोक लगाइएको छ। मुद्दाको टुंगो नलागेसम्म उनले विदेश जान पाउनेछैनन्।