घाइते कालो सालक उपचारपछि जंगलमा छोडियो
धनुषामा घाइते अवस्थामा भेटिएको सालकलाई उद्धार र उपाचारपछि प्राकृतिक वासस्थानमा छोडिएको छ।
टाउकोमा चोट लागेको सालकलाई तीन दिनको उपचार गरेपछि प्राकृत वासस्थानमा छोडिएको डिभिजन वन कार्यालय, धनुषाका अधिकृत बेचन चौधरीले बताए। “कमीला धमिरा मात्र खाने सालकलाई धरै दिन नियन्त्रणमा लिन नसकिने हँुँदा हिँडडुल गर्न थालेपछि चुरे क्षेत्रभित्रको सामुदायिक वनमा छोडिएको छ,” चौधरीले भने।
सालकलाई मिथिला नगरपालिका–४ मा पर्ने भाटेघारी सामुदायिक वनका पदाधिकारीको रोहवरमा वन क्षेत्रमा छोडिएको उनले बताए। सालकलाई कमला नदीसँगैको जनकनन्दनी गाउँपालिका–४ को खजुरी चनाहा गाउँबाट पुसको पहिला साता प्रहरी तथा संरक्षणकर्मीले उद्धार गरेका थिए।
गाउँका बालबालिकाले नदीसँगैको क्षेत्रमा देखेको सालकलाई घाइते बनाएको खबर आएपछि प्रहरीसँगै गएको संरक्षणकर्मीको टोलीले उद्धार गरेको थियो। यो चिनियाँ सालक भएको चौधरीले बताए।
कमिला र धमिरा खाने सालकले जमीनमा प्वाल बनाएर बस्छ। यस्तो क्रियाकलापले माटो उर्वर हुने भएकाले यसलाई कृषकको साथी भन्ने गरिन्छ। रातमा बढी सक्रिय हुने सालकले बर्सेनि विश्वभर झण्डै सात करोड कीरा–धमिरा खाने अनुमान छ।
नेपालमा 'इन्डियन प्यान्गोलिन' (कालो सालक) र 'चाइनिज प्यान्गोलिन' (तामे सालक) गरी दुई प्रजातिको सालक पाइछ। कालो सालक नेपालबाहेक चार देशमा र तामे सालक १० देशमा मात्र पाइन्छ। हालसम्म नेपालका ४३ जिल्लामा सालक पाइएको पुष्टि भएको छ।
खजुरी चनाहामा भेटिएको कालो सालकलाई मिथिला वाइल्डलाइफसँग आबद्ध भेटेरिनरी चिकित्सक पिङ्की मण्डल तथा नेपाल प्रकृति संरक्षण कोषका विकल्प कार्की र अमिर सडौलाले उपचार गरेका थिए। टाउकोमा चोट लागेको सालकले तीन दिनपछि मात्र हिँडडुल गर्न सकेको थियो।
सालक छोडिएको स्थान वरपर केही दुलो देखिएकालेसकुसल रहेको अनुमान सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले बताएका छन्। धुनषाको दक्षिणी भेगमा सालकको वासस्थान नभएको हुँदा कसैले चुरे क्षेत्रबाट अनधिकृत रुपमा चोरीपैठारीको लागि सालक ल्याएको हुनसक्ने मिथिला वाइल्ड लाइफका देवनारायण मण्डल बताउँछन्।
नेपालमा पहिलोपटक ३३ वर्षअघि जुद्धबहादुर गुरुङले नार्गाजुन वन क्षेत्रको सालकको अध्ययन गरेका थिए। सालकलाई ४९ वर्षअघि नै संरक्षणको सूचीमा राखिए संरक्षण हुन सकेको छैन।